पोर्तुगल जानेहरुको कथा- कार्ड, काम र कमाई कहानीजस्तै।
जाडोको महिना घामको झुल्को सबेरै देखिन्छ। घरहरु,कोठाहरु अँध्यारा, चिसा र अव्यवस्थित छन्। एउटै कोठामा थुप्रैको दैनिकी चलेको छ। बरु पार्कमा बसेर गफ चुट्नु घाम ताप्नु पनि हो,दु:ख साट्नु पनि। राजनिती गर्नु र भाषण ठोक्नु पनि।
अब गर्मी लाग्दैछ अर्थात कामको सिजन लाग्छ। लिस्बोनबाहिर खेतीको काम छ। नेपाली एजेन्टहरुले कमिशनमा काम गर्न कम्पनी खोलेका छन्। मेसो पाएकाहरु सिधै स्थानीय कम्पनीमार्फत काममा जान्छन्। मेसो नपाउनेहरुलाई तिनै नेपालीहरुले काममा पुर्याउँछन् र कमिशनमा काम गराउँछन् आफ्नो कम्पनीबाट। नेपालीका यस्ता कमिशनवाला कम्पनीहरु थुप्रै छन्। ऐँसेलु पाक्छ, स्टेबरी पाक्छ र अरु थुप्रै अनि घण्टाको ३ युरो पाक्छ। टिप्नु, गोड्मेल गर्नु, प्याकिङ गर्नु करिब आधा वर्ष बढिको काम। राम्रो कम्पनीमा ओभरटाइम चल्छ, कमाई राम्रै हुन्छ। अब फुर्सदका सप्पै उतै हानिन्छन्। अनि लिस्बन सुनसान हुन्छ, पार्क, चोक र घरहरु पनि।
हजारौ युवाको दैनिकी र भविष्य यसरी चलेको छ। बिशेषत पोर्तुगलमा नेपालीहरु खेती र रेष्टुरेन्टको काम गर्छन्। पोर्तुगलको मुख्य आम्दानीको श्रोत यिनै हुन-पर्यटन र कृषि। आधुनिक र नगदे खेतीबाट यहाँको आयश्रोत बृद्धि हुँदै गएको छ। यहाँका होचा डाँडा र जंगलहरु स्याउ बगैंचामा परिणत हुँदै गएका छन्। सम्म परेका झाडीहरु फाँडेर अंगुर र ऐँसेलु फलाएको देखिन्छ।
पछिल्ला वर्ष पोर्तुगलमा नेपालीहरुको संख्या ह्वात्तै बढेको छ। ठ्याक्कै संख्या अनुमान गर्न सकिँदैन, लगभग २० हजार नेपालीहरु भएको अनुमान गर्छन् यहाँका समाजसेवी, एनआरएन र पुरानाहरु। यसपटक नेपालीहरुको संख्या गणना सुरूवात गरिएको छ।
स्टुडेन्ट भिषामा डेनमार्क, नर्वे,बेलायत आदि देशमा आएका विद्यार्थीहरु उताको पढाई हापेर पोर्तुगल आउँछन्।युरोपका अन्य देशमा बर्षौंसम्म बस्दा कार्ड नबनेपछिको विकल्प पोर्तुगल। इजरायललगायत तेस्रो मुलुकबाट भित्रिएकाहरु उत्तिकै। नेपालबाट सिधै खेतीमा काम गर्नका लागि विभिन्न म्यानपावरले चर्को मुल्य उठाएर पोर्तुगल ल्याई छाडिएकाहरु पनि उत्ति। पारिवारिक भिषामा आएकाहरु त्यस्तै।
सप्पैको कार्डसँग साटिएको समय र सपना। कोहि पासपोर्ट कुर्दै, कोहि कार्ड नविकरण कुर्दै, कोहि सेफ ईन्ट्री कुर्दै, कोहि कार्ड बन्ने दिन कुर्दै, कोहि कार्ड आउने दिन कुर्दै, कोहि कामको सिजन कुर्दै। आखिर सप्पैलाई भुलाईदिएको एउटै कागजको टुक्रो अनि त्यही टुक्रोले देखाइदिएको असहज वर्तमान र आशालाग्दो भविष्य।
किन पोर्तुगल?
कार्डको लागि युरोपमा सबैभन्दा सजिलो, छिटो र कम झन्झटिलो प्रक्रिया भएको देश । सुरुमा फाइनान्स भर्यो, यो सुरुवाती दर्ता प्रक्रिया हो। भिषा नहुनेहरुले वकिल वा एजेन्ट लगाएर फाइनान्स भर्नुपर्छ, केहि सय खर्च हुन्छ। फाइनान्स भरेपछि कामको प्रक्रिया थाल्न सकिन्छ। सजिलै काम भेटियो र कम्पनीले काम कन्ट्राक दियो भने सोहि कम्पनीले थप कागजहरु तयार पार्छ। सोसल सेकुरान्सा न. मार्फत हरेक महिना यहाँको सरकारलाई कर तिर्नुपर्छ। यहाँको बेसिक आम्दानी ५सय ३० युरो। कामदारले ११%र बाँकी कर कम्पनीले तिर्ने सर्त हुन्छ। हप्ताको ५ दिन र ४० घण्टाको काम। अब कागजको प्रक्रिया शुरू भयो । फाइनान्स भरेको ६ महिनापछि काम सहमति पत्रका आधारमा सेफ ईन्ट्री गरिन्छ र अझै चाँडै पनि। सेफ विदेशी नागरिकहरुलाई हेर्ने निकाय हो। सोहि निकायमा आफूलाई समावेश गराएपछि सेफले पेपर प्रक्रियाको लागी मिति दिन्छ। सोही मितिसम्म काम गरिराखेको र कागजपत्र मिलेको खण्डमा अस्थाई रेसिडेन्सी कार्ड बन्छ। कार्ड यत्ति नै महिनामा बन्छ भन्ने निश्चित हुँदैन। सेन्जिङ भिषामा आएकाहरुको एक वर्षमा लगभग कार्ड बन्ने गरेको देखिन्छ भने बिनाभिषा आउनेहरुको थप समय लाग्ने गर्दछ। तर सिधै नेपालबाट कृषि भिषामा आउनेहरुको कार्ड प्रक्रिया अझै सजिलो छ। यसरी अस्थाइ कार्ड बनेको ५ वर्षपछि यहाँको प्रकृया पुगेको खण्डमा पासपोर्ट लिन सकिन्छ।
त्यस्तै यहाँको सुरक्षा निती गज्जबको छ। चोकचोकमा प्रहरी देखिन्छन्। भिषा सकिए पनि खुल्लेआम हिड्डुल गर्न असहज छैन। प्रहरी चेकिङ गर्दैन। यदि गरिहाल्यो र भेट्यो भने पनि २० दिनभित्र पोर्तुगल छाड्नुपर्ने आदेशसहितको पेपर दिन्छ। वकिलले केहि युरोमा पेपर मिलाइदिन्छन्।
कामको सम्भावना
अब सिजन सुरु भयो। रेस्टुरेन्ट र खेती दुवैतिर। यतिबेला केहि सहज हुन्छ। नत्र काम पाउन मुस्किल छ। सुरुमा आउनेहरुलाई झनै गाह्रो। भाषा आउँदैन,काम आँउदैन। अझै भन्नुपर्दा यहाँका प्राय: कम्पनीहरुले नयाँ कामदार राख्दैनन्। उसो त राख्न नपाईने नियम छ। चाईनिज, ईन्डियन र नेपालीहरुका व्यवसाय थुप्रै छन्। प्राय नयाँ नेपालीहरु त्यही काम गर्छन्। उनीहरु सस्तो मूल्यमा काम गर्छन्। काम राम्रो गरेमात्रै कन्ट्राक्टमा राख्छन्। कसैकसैले सित्तैमा काम गरेका छन्। कोहि खान बस्न पाँउछन्। कतै पोर्तुगल बस्न, खान पुग्ने खर्च दिन्छन्, लगभग २सय युरो। कार्ड बनाउनका लागी गरिएको यो संघर्ष कम्ता चुनौतीपूर्ण छैन। कन्ट्राक्ट पेपरमा भन्दा बढी समय र मेहेनत काममा खर्चिन्छन् र कम पारिश्रमिक पाउँछन्। केही पुराना नेपालीका रेष्टुरेन्ट बाहेकका प्राय: नेपालीका व्यवसायसमेत यसरी नै धानिएका छन्।
आखिर यो आशैआशाको देश हो। यहाँ नेपालीहरु थुप्रै महिनासम्म बेरोजगार बसेका पनि भेटिन्छन्। कोही ६ महिना पछि काम पाइन्छ भन्दै बस्नेहरु भेटिन्छन्, कोही कार्ड बनेपछि काम पाइन्छ भन्नेहरु भेटिन्छन्। कार्ड भएकाहरु सुशी जानेपछी काम पाईन्छ भन्ने भेटिन्छन्। कोहि भाषा जानेपछि काम पाईन्छ भनेर पढ्ने भेटिन्छन्।
त्यसैगरी यहाँ पनि गज्जबको राजनिती भेटिन्छ। एमाले,काङ्ग्रेस र माओवादीका आ-आफ्ना मान्छे सोहि अनुसारका काम भेट्टाउँछन् अनि गज्जबकै जातियता चल्छ। जस्तै:बाहुनले काम गर्ने ठाउँमा बाहुनहरु भेटिन्छन, मगरले काम गर्ने स्थानीयका रेस्टुरेन्टमा मगरहरु भेटिन्छन्। जातिय र पार्टीगत संगठनहरुले बेलाबेलामा झैझगडाको वातावरण पनि सृजना गराइरहन्छ। उता खेतीमा काम छोटो चल्छ। थोरै संख्याले मात्र निरन्तर काम पाउँछन् तर धेरै कामदार फल पाकेपछि टिप्नलाई चाहिन्छ। यसरी छोटो समय काम गर्दा पेपर प्रकृयामा झन्झटिलो र ढिला हुन्छ। तर केहि चिनजानका नेपाली कम्पनीले कामदार आफैंले कर तिर्ने अनुरोधमा कार्ड बनाउनको लागि सहयोग स्वरुप काम सकिए पनि निरन्तर राखेको देखिन्छ।
व्यसायको सम्भावना
प्राय:युरोपका अन्य देशमा बस्दा केही पैसा कमाएर कार्ड नबनी पोर्तुगल आउन चाहनेको उद्देश्य व्यवसाय गर्ने देखिन्छ। त्यस्तै यहिँ भएकाहरुको उद्देश्य पनि आफ्नै व्यवसाय गर्ने देखिन्छ। स-साना किराना पसल, तरकारी पसल, क्याफे, रेस्टुरेन्ट लगायतका व्यवसायमा लिस्बोनका चोकचोकमा नेपालीले लगानी गरेका छन्। यसरी व्यवसाय सुरुवात गर्नेहरुको संख्या उल्लेख्य मात्रामा भेटिएको छ। त्यस्तै सामूहिक लगानीमा व्यवसाय गर्नेहरु थुप्रै छन्। केहि मात्रामा सफल देखिन्छन्। आफू-आफू मिलेर काम गर्छन्। नाफा बाँडेर लिन्छन्। कार्डका लागी नयाँ नेपालीले सस्तोमा काम गर्छ। उसो त पोर्तुगलमा नेपाली व्यवसायीहरु यहाँका उत्कृष्ट व्यवसायीको सूचीमा समेत आइसकेका छन्।
चुनौती र अप्ठ्यारा
जब आशा गर्ने ठाउँ भेटिन्छ तब सबै चुनौती र अप्ठ्याराहरु सहज लाग्छन्। मुख्य अप्ठ्यारो भनेको काम नपाउनु नै हो। सुरूवातमा भाषा,काम र सम्पर्क सहयोगको अभाव मुख्य समस्या हुन्। हावापानी नेपालसँग ठ्याक्कै मिल्छ। बरु बेलाबखत यहाँको नियममा फेरबदल आँउछ। यसपाली फाइनान्स भर्न र सोसल सेकुरान्सा निकाल्न असहज भइरहेको छ। सोसल नहुनेहरुले खेतीमा काम नपाइने भनिएको छ। कहिलेकाही टेबलैपिच्छे नियम बनाउँछन्। कतै रेस्टुरेन्टमा पनि चेकिङ आउनुपर्छ कतै पर्दैन। कतै खेतीमा पनि चेकिङ आउँछ कतै नआएरै पेपर बन्छ। कहिले वकिलले चाँडै कार्ड बन्ने मिती निकाल्दिन्छन्, कहिले सक्दैनन्। कहिले बनिसकेको कार्ड चाडै आँउछ कहि ढिला। आठ महिना अघि कार्ड बनेर कार्ड शुल्क बुझाएका कतिपय नेपालीहरुको अझै कार्ड आएको छैन। कतै स्वास्थ्य सेवा सजिलो र सस्तो छ कतै महँगो। त्यस्तै अन्य कागजी प्रक्रिया पनि कतै सहज छ कतै असहज।
नेपालीहरु यी र यस्तै समस्याहरु भोगिरहेछौं। सबै बाध्यताबीच नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको छ। नेपाली हकहितका लागि खोलिएका संघसस्थाहरु थुप्रै छन्। एनआरएन र अवैतनिक राजदुतावासको कार्यालयबाट नेपालीका कागजात लगायतका समस्याहरु समाधान गरिने गर्दछ। अरु जातिय, क्षेत्रीय, पार्टीगत संघसंस्थाले आफ्ना कार्यक्रमहरु गरेपनि खासै उल्लेख्य सहभागिता जुटाउन सकिरहेका छैनन्।
अत: पोर्तुगल आगमन र बसाई चुनौती अनि अबसरको समान भोगाइ हो। करिब १२ लाख देखी २० लाख नेपाली रुपैंया खर्च गरेर पोर्तुगल भित्रिने हरेक नेपालीको थाप्लोमा पोर्तुगल आगमनको ऋण बर्षौसम्म महंगो लागिरहनेछ।



