Featured,
News
»
झापामा भू माफिया सकृय
सरकारी जग्गा व्यक्तिको नाममा
झापामा भू माफिया सकृय
सरकारी जग्गा व्यक्तिको नाममा
झापा – सरकारी जग्गा व्यक्तिको नाममा भन्दा तपाइलाई पत्यार नलाग्न सक्छ । तर, भू माफियाहरुले झापाको एक सरकारी कार्यालयको ६ विगाह जग्गा व्यक्तिको नाममा पास गरेका छन् ।कनकाई सिंचाई डिभिजन, शिवसताक्षी –९ को नाममा भएको सार्वजनिक जग्गा भूमाफियाहरुले आफ्नो नाममा नामसारी गरी जग्गा धनीपूर्जा समेत प्राप्त गरेको रहस्य वाहिर आएको छ । करोडौं मूल्य पर्ने जग्गा भू माफियहरुले हत्याएपछि सरकारी स्वामित्वको जग्गा व्यक्ति नाप्न आएपछि आज यस्तो खुलासा पुर्बेली न्युजले प्रकाशित गरेको छ् ।
निर्वाध रुपमा कनकाई सिंचाई व्यवस्थापन डिभिजन कार्यालय गैंडेले प्रयोग गर्दै आएको सरकारी स्वामित्वमा रहेको १५ बिगाह ७ कठ्ठा डेढ धुर जग्गामध्येबाट ६ विगाहा २ कठ्ठा जग्गाको धनीपूर्जा लिई कम्पाउण्ड घेरिएकोले स्थानीय सरोकारवाला पक्षहरुले आक्रोश व्यक्त गरेका छन् । सरकारी स्वामित्वको जग्गामा भौतिक पक्की संरचना बन्नु, त्यस विषयमा सर्वसाधारणमा चासो बढिरहँदा उक्त जग्गा भू–माफियाको चलखेलमा रहेको मात्र होइन अदालतले किताब फैसला गरेको अवस्था देखिन्छ ।
कनकाई सिंचाई व्यवस्थापन डिभिजन कार्यालय गैंडेको स्वामित्वको भनिएको ५ बिगाह ५ कठ्ठा जग्गामा पञ्चायतकालमै भू–माफियाको हातमा परेको बुझिएको छ । सार्वजनिक भनिएको उक्त जग्गा मोरङ मधुमल्ला–५ बस्ने वेदकुमारी बस्नेत प्रतिवादी, ऐजन वडा नं. –१ बस्ने लोकमाया खतिवडा समेत भएको मुद्दा नं. १८.०६९.०१४०० को दर्ता फोड दर्ता कायम मुद्दामा झापा जिल्ला अदालतमा २०७२ भदौ ९ गते दरखास्त परी फैसला कार्यान्वयनको सिलसिलामा उल्लेखित फैसला बमोजिम छुट्याउन वादी तथा प्रतिवादी लोकमाया खतिवडालाई २०७२ चैत १५ गतेको तारिख तोकी डोर कर्मचारी पठाइएको र उक्त मितिमा तर्फ छुट्याउनु पर्ने सम्पत्ति रहेको स्थान जिल्ला झापा साविक शिवगञ्ज –७ को कित्ता नं. १८२ को ४ विगाह जग्गा रहेको पत्रमा उल्लेख छ ।
उक्त जग्गा साविक शिवगञ्ज –७ को (म) नक्सा कित्ता नं. १८२ बाट ४ बिगाह नरबहादुर मगरबाट कसेरीसिंह खड्का नागरिकता नं. ६३१३÷५२९८ झापा, त्यस्तै (म) नक्सा अन्तरगतकै १८३ को जग्गा लोकमाया खतिवडा वर्ष ४४, वेदकुमारी बस्नेत वर्ष ४८ बाट सरेर पृथ्वीबहादुर राई नागरिकता नं. १४५९÷७२० मोरङ्गको नाममा जग्गा धनीपूर्जा प्रमाणपत्र प्राप्त गरेको धनी पूर्जाको नक्कलबाट खुल्न आएको छ । यो कागजातले के बुझाउँछ भने यो जग्गा भू–माफियाहरु बीचमा पटक–पटक बिक्री वितरण समेत भएको छ ।
भू–माफियाहरुको चलखेल थाहा पाएपछि कनकाई सिंचाई योजना कार्यालयले २०५५ चैत २१ गते व्यक्तिको नाममा भएको जग्गा धनीपूर्जा प्रमाणपत्र वदर गर्न कारवाही चलाएपछि २०६२ कात्तिक १३ गते भूमि सुधार तथा व्यवस्था मन्त्री प्रभुनारायण चौधरीको कार्यालयबाट २०६३ को च.नं. ३६३, २०६२ मंसीर ४ गते रोक्का गर्ने परिपत्रको प्रमाणहरुबाट खुलेको छ । यसरी पटक–पटक भू–माफियाहरुको नाममा ५ बिगाह ५ कठ्ठा जग्गा झापा जिल्ला अदालत र पुनरावेदन अदालतबाट रोक्का भएपछि जग्गा धनीपूर्जा प्रमाणपत्र प्राप्त भएका व्यक्तिहरुले जग्गा फुकुवा गर्न अदालतमा मुद्दा हालेको बुझिन्छ ।
मिसिलमा वादीले दाबी गरेको शिवगञ्ज गाविस वडा नं. ७ (म) नक्साको कि नं. १८२ समेतको जग्गा बिक्री वितरण हुन नपाउने गरी रोक्का राखी मिसिल डायरीबाट लगत कट्टा गरी तामेलीमा पठाई रोक्का फाँटलाई जनाऊ दिने भनी २०५५ चैत २१ गतेमा मालपोत कार्यालय दमक झापाले निर्णय गरेको पाइएको छ । भू–माफियाहरुले उक्त सार्वजनिक जग्गा २०४५ सालमै व्यक्तिगत रुपमा जग्गा धनी प्रमाणपुर्जा लिने कारवाही चलाएपछि नेपाल सरकार अन्तरगत पर्ने कनकाई सिंचाई योजनालाई अवरोध खडा भएको बुझिन्छ ।
शिवसताक्षीकै सार्वजनिक सम्पत्ति तथा माईधारको एकमात्र सार्वजनिक जग्गामाथि कसैले गिद्धे नजर नलगाउन र यदि अटेर गरे परिणाम नराम्रो हुने स्थानीयले चेतावनी दिएका छन् । यस विषयमा सर्वदलीय समितिका अध्यक्ष कर्णबहादुर थापा भन्छन् – ‘भू–माफियाहरुको चलखेलले जोसुकैको नाममा धनीपुर्जा उठोस् त्यसको कुनै अर्थ रहँदैन ।
शदिऔंदेखि सरकारी स्वामित्वमा रहेको जग्गामाथि कसैले राल चुहाउँछ भने सिंगो नगर तथा वडाबासीको चासोको विषय हुन्छ । हामी सम्झाउँछौं, सम्झाउँदा नभएमा अरु कुरा सोच्न बाध्य हुनुपर्छ– थापा भन्छन् । यस विषयमा स्थानीय संघसंस्था राजनीतिक दल, नागरिक समाजसँग सहकार्य भइरहेको थापा बताउँछन् ।
त्यस्तै सार्वजनिक जग्गा संरक्षण समितिका अध्यक्ष भवानीविक्रम सेलिङ भन्छन्– ‘यो नाजायज प्रक्रिया हो, अदालतले रोक्का गरेको जग्गा कनकाई सिंचाई व्यवस्थापनलाई समेत जानकारी नदिई गरिएको यो काम रहस्यमय छ, यो सफल हुन सक्दैन ।’कनकाई सिंचाई व्यवस्थापन डिभिजन गंैडेको जग्गामा भू–माफियाहरुको चलखेल बढिरहेको प्रति स्थानीयवासीले चासो देखाएका छन् । यसैबेला जग्गा नाप्न कै लागि जिल्ला अदालत झापाले शिवसताक्षी नगरपालिकाको रोहवरमा कर्मचारीहरु स्थलगतरुपमा पठाएको तर स्थानीयहरुले उनीहरुलाई त्यहाँबाट फिर्ता पठाएको बताइएको छ ।
शिवसताक्षी नगरपालिकालाई जिल्ला अदालत झापाको २०७२ चैत ९ गते चलानी ८८÷०४ का अनुसार जग्गा नाप्दा रोहबरमा बस्न पत्राचार गरेको थियो । उक्त जग्गा कनकाई सिंचाई कार्यालयले २०२९ सालबाट निर्वाध भोगचलन गरेको अफिस, घर, क्वाटर समेत निर्माण गरी चलन गरिरहेकोमा विभिन्न व्यक्तिहरुले अतिक्रमण गरेको भन्ने आधारमा विपक्षी मालपोत कार्यालयमा जग्गा पास रोक्का गर्न उक्त कार्यालयले पत्राचार गरेको र पुनरावेदकले सुकुम्बासी समस्या समाधान आयोगले निर्णय अनुसार प्राप्त गरेको भन्ने विवादित अवस्थामा भएको जग्गा रोक्का गरेको देखिन्छ ।
कन्काई सिंचाई व्यवस्थापन डिभिजन गैंडे कार्यालय झापाका प्रमुख डीई वीरेन्द्रकुमार यादवका अनुसार कनकाई सिंचाई जग्गामा के.एन.के. स्पोर्टिङ क्लवले प्रयोग गरेको फुटबल ग्राउन भौतिक संरचना, २०६४ सालमा कनकाई नदीको बाढीले घरबार विहीन बनाएका ३० घर–परिवार र चार घर–परिवार, गंैडे बाढी–पीडित साथै बाल शिशु स्याहार लगायतले भोगचलन गर्दै आएका छन् ।
कार्यालयसँग जम्मा १५ बिगाहा ७ कठ्ठा डेढ धुर जग्गा रहेको कनकाई सिंचाई योजना गैंडे झापाको दर्ता सम्बन्धी हालसम्म भएको पहल तथा कारावहीको बुँदागत विवरणबाट देखिएको छ । सो जग्गासहित कनकाई सिंचाई कार्यालयको पश्चिम दक्षिणमा रहेको कोरिया क्याम्पको जग्गा समेत हो । उक्त जग्गामा रहेको भौतिक संरचनामा हालसम्म कनकाई सिंचाई कै कर्मचारीहरु बस्दै आएका छन् ।