गौरादह पर्यटकीय नगरी बन्दैछ



डण्डिराज घिमिरे | झापाको कान्छो नगरपालिका गौरादहको नामाकरणको पहिचान बोकेका ऐतिहासिक दह तथा पोखरीको विकास र प्रवद्र्धन गरी गौरादहलाई पर्यटकीय नगरी बनाइने भएको छ ।

सरकारको वातावरण मैत्री स्थानीय शास प्रवद्र्धन (इएफएलजी) कार्यक्रम अन्तर्गत उद्यान निर्माण, पोखरी सरसफाई र सौन्दर्यकरणको बहुवर्षीय योजनामा झापा जिल्लाको नवघोषित गौरादह नगरपालिकाका बजार क्षेत्रका पोखरीहरु परेका छन् । यस कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको लागि पच्चिस लाख बजेट स्वीकृत भइसकेको नगरपालिकाका कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार पोखरी क्षेत्रमा उद्यान निर्माण, सरसफाइ र सौन्दर्यकरण सम्बन्धी कामाका लागि गृहकार्य सुरु भएको छ ।

गौरादह नगरपालिका वार्ड नंं २ मा नगरपालिकाको स्वामित्वमा १२ विघा १० कठ्ठा क्षेत्रफलमा फैलिएका सानाठूला ६ वटा पोखरी छन् । यी पोखरी व्यवस्थापन तथा पर्यटकीय क्षेत्र निर्माण गर्न गत वर्ष हेमन्त कार्की अध्यक्ष रहेको पोखरी व्यवस्थापन समिति गठन भएको छ । समितिले एक वर्ष अघि नै गुरु योजना सहित करिब ३ करोड रुपैयाँ लागतको परियोजना निर्माणको प्रस्ताव राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालयमा पेश गरेको समितिका अध्यक्ष कार्कीले बताए । ढिलै भए पनि योजनामा पच्चीस लाख प्रारम्भिक बजेट स्वीकृत भएकोमा उनले खुशी व्यक्त गरे ।

परियोजना अन्तर्गत यस क्षेत्रमा पानीको स्थायी श्रोत व्यवस्थापन, पार्क निर्माण, पोखरी ठूला बनाउने र स्वीमिङ्ग पुल निर्माण, इलेक्ट्रोनिक तथा काठका डुंगा संचालन गरेर पर्यटक आकर्षित गर्ने योजना बनाइएको छ । जलेश्वर शिवालय मन्दिर निर्माण गरी झापाका सबै जातजातिको पहिचान झल्किने साँस्कृतिक भेषभुषासहितको संग्राहलय निर्माण गर्ने गुरु योजना तयार भएको छ । पोखरी आसपासमा क्षेत्रमा ११ वटा हरित कटेज र १५ वटा आरामदायी फलैचा निर्माणको प्रस्ताव गरिएको छ । यसैगरी पोखरी क्षेत्रको संरक्षणका लागि वाल लगाउने लगाएतको कार्यक्रम समितिले पेश गरेको प्रस्तावमा छ ।

गौरादह पोखरी व्यवस्थापन र पर्यटकीय क्षेत्र निर्माण गर्ने भनिए पनि पोखरी चौतर्फी अतिक्रमणमा परेको स्थानीय रमेश दंगालले बताए । पोखरीका डिलमा सुकुम्बासी बस्ती बसेको छ । चारैतिरबाट पोखरीलाई फोहोर मैला फाल्ने डम्पिङ्ग साइड र सार्वजनिक शौचालयको रुपमा पोखरी प्रयोग भएका छन् । राँगा, भैसी, खसी, कुखुरा काट्ने गोत्सखानाको रुपमा पोखरीको डिल प्रयोग हुँदा पोखरी फोहोरको डंगुरले पुरिने क्रम बढेको छ ।

पोखरीलाई पर्यटकीय रुपमा विकास गर्न सक्दा गौरादह नगरपालिकाले वार्षिक थप ४० लाखसम्म आम्दानी गर्न सक्ने संभावना रहेको समितिका सचिव खेमराज तिम्सिनाले बताए । अहिले माछा पालनको मात्रै कार्यक्रम रहेकोले साविक गौरादह गाविसले न्यून रकममा ठेक्का दिँदा क्षेत्रफल अनुसारको आयश्रोत हुन सकेको छैन । बहुउद्देश्यीय यो परियोजना सम्पन्न भए आयश्रोतको ठूलो स्थायी श्रोत गौरादह नगरपालिकामा थप हुने स्थानीय राजनीतिकर्मी पूर्णबहादुर कार्कीले बताए । झापाको पश्चिम–दक्षिणमा अवस्थित यो नगरपालिकाले पर्यटकीय गन्तब्यको प्रशस्त सम्भावना बोकेर विकासको पर्खाइमा आफुलाई उभ्याइरहेको छ ।रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |