किरात समुदायको महान पर्व उधाैली साकेला आज देखी सुरु
गौरीगन्ज । किरात राईहरुको महान पर्व उधौली साकेला सुरु भएको छ । किरात राईहरुको बाहुल्य रहेको जिल्ला भोजपुर, धनकुटा, खोटाङ्ग, उदयपुर, इलाम, पाँचथर लगायत काठमाडौ उपत्यका र प्रमुख शहरहरु तथा राईहरुको बसोबास रहेको विदेशमा समेत उधौली सुरु भएको हो ।
उनीहरुले ढोल ,झ्याम्टाको तालमा गीत गाउँदै, किराती जिवनशैलीलाई शिलीमार्फत प्रस्तुत गर्दै,नाच्दै तथा एकअर्कामा शुभकामना आदानप्रदान गर्दै धुमधामका साथ साकेला मनाइरहेका छन् । उनीहरुले अन्नबाली लगाउने र भित्राउने बेला गरी बर्षमा उभौली र उधौली गरी दुई पटक साकेला मनाउने गर्दै आएका छन् ।
उधौली साकेलालाई अन्नबाली भित्राएको अवसर पारेर मनाईरहेका किरातीहरुले आफ्ना पित्रीको सम्झनामा घरको चुल्हो र अन्नभकारीमा कुखुरा काटेर बली समेत दिने गर्दछन् ।
त्यसैगरी गर्मी समय सुरु भएपछि गर्मी छल्न लेक चढ्ने र जाडो समय सुरुभएसंगै सित छल्न बेसी झर्ने आफ्ना पीत्रीहरुको सम्झनामा साकेला मनाउने गर्दछन् । बेसीवाट लेक चढ्ने तथा लेक बाट बेसी झर्दा आफ्ना पित्रीहरु नाच्दै,उफ्रदै चढ्ने र झर्ने विश्वासमा साकेलामा सिली नाच्ने गर्दछन् ।
प्रकृती पुजक मानिने किरातहरुले पित्रीहरुलाई पुज्ने गर्दछन् । समाजमा सुव्यफाव्यको कामना गर्दछन् । प्राकृतिक विपत्ति आइनपरोस् ,चौपाया दौपायामा दुःख विराम नलागोस , वालीनाली सप्रियोस् भनी साकेला मनाउने तथा पित्रीसंग बल माग्ने गर्दछन् ।
साँस्कृतिक हिसावले बैशाखको पुर्णिमादेखी १५ दिनसम्म उभौली र मंसिरको पुर्णिमापछि १५ दिनसम्म उधौली साकेला पर्व मनाउनुपर्दछ । तर समुदायले आफ्नो अनुलतालाई हेरेर महिनाभरी तथा उधौली पर्व बडादशैपछिको पुर्णिमा र उभौली पर्व चैतेदसैपछिको पुर्णिमापछि पनि मनाउने परम्परा रहेको छ ।



