सरकारी कार्यालयका कागजात र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ
सरकारी कार्यालयका कागजात तथा दस्तखत किर्ते गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३५ पेप्सीकोला बस्ने झापा दमक नगरपालिका–१५ घर भएका २६ बर्षीय सन्दिप दाहाल र सिनामंगल बस्ने झापा जुरोपानी–५ घर भएका ४३ बर्षीय ईश्वर भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यकामा विभिन्न व्यक्तिहरूले दुवईमा सेक्युरिटी गार्डमा रोजगारी गर्न जानको लागि रकम दिई विभिन्न सरकारी कार्यालयहरूको कागजात तथा पदाधिकारीहरुको दस्तखत समेत किर्ते गरी नक्कली सरकारी कागजातहरू तयार गर्न लगाई विदेश जाने गरेको भन्ने सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले जेठ ७ गते काठमाडौँ महानगरपालिका–१२ टेकुबाट सन्दिप दाहाललाई पक्राउ गरेको थियो ।
पक्राउ परेका दाहाललाई तलासी लिँदा झोलाबाट नेपाली सेनाको सिपाहीमा भर्ति भई काम गरेको भन्ने व्यहोराको सन्दिप दाहालको फोटो टाँसेको १ थान नक्कली प्रमाणपत्र बरामद भएको थियो । उक्त नक्कली प्रमाणपत्र बनाउन ईश्वर भट्टराई समेतको संलग्नता रहेकोले भट्टराईलाई समेत प्रहरीले सोही दिन सिनामंगलबाट पक्राउ गरेको थियो ।
उनीहरु दुवै जनालाई सरकारी छाप तथा दस्तखत किर्ते मुद्धामा थप अनुसन्धान तथा कारवाहीको लागि आइतबार महानगरीय प्रहरी परीसर काठमाडौमा पठाइएको छ । रासस



