खोला उत्खननमा रोक लगाइएको भएपनि खुलेआम उत्खनन

दमक | ईलाम चुलाचुली ८ बुकुवा र आसपास राष्ट्रपती चुरे तराई संरक्षित क्षेत्रमा खोला उत्खननमा रोक लगाइएको भएपनि खुलेआम उत्खनन गर्ने कार्य रोकिएको छैन।

रतुवा खोला किनार क्षेत्रमा खोलाको निकासी कर ठेक्का लिएका ठेकेदार, स्थानीय प्रहरी प्रशासन र त्यस किसिमको धन्दामा संलग्नहरुको समुहको मिलेमतोमा प्रतिबन्धित क्षेत्रमा गिटी बालुवा उत्खनन भइरहेको हो ।

दमक तथा लखनपुरको उत्तर क्षेत्रमा पर्ने सो क्षेत्रको उत्तर तर्फको भुभागमा करीब डेढ किलोमिटर दुरीमा ,१२ फिट गहिरो, र २ सय फिट चौडा भुभाग नियमविपरीत उत्खनन भएपनि सम्बन्धित निकायले त्यसलाई रोक्ने तर्फ चासो नदेखाएको बताइएको छ ।

दिनदहाडै टिफरमा गिट्टी वालुवा र सयौ टेक्टरमा ढुंगा झापा तर्फ अबैध रुपमा निकासी भइरहेको छ । दिनदहाडै यस किसिमले प्रतिबन्धीत धन्दा चलिरहेपनि सबै निकाय मौन रहनु रहस्यमयी भएको समाचार स्रोतको भनाई छ ।

इलाम तर्फको ढुंगा, गिट्टी निकासी गरेर झापा तर्फ ल्याएवापत जिविस झापाले ठेकेदार मार्फत राजश्व असुल्ने गरेको छ । तर इलामको सो क्षेत्र उत्खननका कारण दिनप्रतिलिन बाढी, भुक्षय जस्ता प्रकोपको जोखिममा छ ।

क्षति हुन्छ इलाममा राजश्व असुल गर्छ झापाले यो भन्दा विडम्बनापूर्ण अरु के हुन सक्छ ? समाचार स्रोतले भन्यो । सो खोला चालु आर्थिक बर्षका लागि १ करोड ३५ लाख रुपैयाँमा ठेक्का लागेको हो । अबैध रूपमा खनिएको ईलाम भुभाग यत्तिकै छोडिदिदाँ त्यस क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम बढेको छ ।

सो क्षेत्रमा तोकिएको दायरा भन्दा बाहिर उत्खनन भएको झापाका स्थानीय विकास अधिकारी खेममणी ओझाले स्वीकार गरे । उनले आफैं सो स्थानमा पुगेर त्यहाँको यथार्थ जानकारी लिइएको बताउँदै भने – रतुवाको उत्तर भागमा तोकिएको क्षेत्र भन्दा माथि खनेको पायौं हामीले दायरा नाघेर नखन्नु भनेका छौं ।

शायद अहिले त्यो क्रम रोकिएको होला । उनले त्यहाँ जेसीविको प्रयोग गरेर उत्खनन गर्न अनुमती दिएको भएपनि त्यसका लागि क्षेत्र तोेकिएका कारण तोकिएको क्षेत्र भन्दा दायाँबायाँ उत्खनन गर्ने अधिकार कसैलाई नभएको बताए । प्राविधिक र इलाका प्रहरी कार्यालय दमकका प्रमुखसहित आफूले त्यहाँ सम्बन्धित ठाउँमा पुगेर सचेत गराइएको ओझाले बताए । उनका अनुसार अवस्था परिस्थिती हेरेर बेला बेला खोलामा गिटी बालुवा उत्खनन गर्ने अनुमती दिने गरिएको छ । रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |