मधेस पहाड प्रेमसम्बन्ध



गौरीगन्ज | झापाको गौरीगन्जका अजय दास विराटनगरस्थित मोरङ क्याम्पसबाट स्नातक उत्तीर्ण गरेर स्नातकोत्तर अध्ययनका निम्ति काठमाडौं आएका थिए । काठमाडौं प्रवेशपछि उनले केही समय विद्यालयमा अध्यापकको भूमिका निर्वाह गरे । त्यसपश्चात् उनी मिडियाकर्ममा सक्रिय रहे । कान्तिपुर एफएम हुँदै कान्तिपुर टेलिभिजनमा समाचारवाचकको भूमिकामा काम गरेका अजय हाल एक अन्तर्राष्ट्रिय नियोगमा कार्यरत छन् । कान्तिपुर एफएममा काम गर्ने क्रममै एक दिन एउटा सोसल ग्यादरिङमा उनले सुन्दर युवती दीक्षा ढकाललाई देखे । दीक्षा कुनै समय अजयले अध्यापन गराउने विद्यालयकी विद्यार्थी थिइन् । अजय र दीक्षाबीच सामीप्यताको भावना विकास गराउन ०५७ सालको उक्त ग्यादरिङ सफल भयो ।

उनीहरूबीच पुन:परिचय भयो । त्यसपछि उनीहरूको भेट बाक्लिँदै गयो । यही क्रममा एक दिन अजयले आफ्नो मनको कुरा दीक्षासँग ‘सेयर’ गरे । ‘हामीबीच प्रेमको भावना विकास भैसकेको थियो, तर हाम्रो समाजमा युवतीले प्रस्ताव राख्ने कुरा व्यवहारिक नहुने भएकाले मैले नै प्रस्ताव राखे,’ अजयले भने– ‘उनले मेरो प्रस्तावमा स्वीकृति त दिइन् तर आफ्नो परिवारले यो सम्बन्धलाई सहजै नस्वीकार्ने बताइन् ।’ काठमाडौंको ‘कोर’ ब्राह्मण परिवारकी युवती र झापामा बस्दै आएको सुर्जापुरी बंगाली मूलको परिवारबीचको सम्बन्ध कसरी कायम होला भन्ने कुरा उनीहरूको चिन्ताको विषय बन्यो ।

अजयले आफ्नो प्रेमसम्बन्धका बारेमा परिवारलाई जानकारी गराए । स्नातकोत्तर उत्तीर्ण उनका पिता फराकिलो सोचका भएकाले उक्त प्रेमलाई स्वभाविक रूपमा लिए । अब पालो थियो, दीक्षाको परिवारलाई जानकारी गराउने । दीक्षाले ६० सालमा अजयसँग प्रेमसम्बन्धमा रहेको कुरा घरमा खुलासा गर्दा सबै अचम्मित भए । ‘मलाई सम्झाउने प्रयास गरियो, अजयभन्दा धेरै राम्रो युवकसँग तिम्रो विवाह गराउँछौं, उसलाई छोड भनियो,’ दीक्षाले भनिन्– ‘किन यस्तो गछ्र्यौ, परिवारको खुसीका निम्ति पनि अर्को उत्कृष्ट युवकसँग विवाह गराउँला भन्नुभयो तर म आफूले रोजेको मान्छे सही छ भन्नेमा विश्वस्त भएकाले ती कुरामा सहमत हुन सकिन् ।’ छोरीको इच्छाविपरीत जान नसकिने भएपछि दीक्षाको परिवारले अजयको पारिवारिक पृष्ठभूमिको जानकारी लिन थाल्यो । झापाको घरसम्मै पुगेर सबै जानकारी लिइयो ।

काठमाडौंका ब्राह्मण काठमाडौंबाहिरका ब्राह्मणसँग समेत विवाह गर्न नमान्ने अवस्थामा छोरीको खुसीका लागि नै परिवार मधेसी समुदायका अजयसँग विवाह गरिदिन बाध्य भयो ।

दीक्षाका अनुसार उनको मनमा एउटै कुरा मात्र आइरहन्थ्यो— आफूले रोजेको युवकसँग वैवाहिक सम्बन्ध गाँसिसकेको अवस्थामा केही समस्या आयो भने त्यसको जिम्मेवार आफू नै हुनुपर्छ । बंगाल र विहारमा वैवाहिक सम्बन्ध गाँस्दै आएको अजयको परिवार पनि काठमाडौंको ब्राह्मण परिवारसँगको सम्बन्धका कसरी अघि बढ्ला भन्ने कुरामा चिन्तित थियो ।

अजयसँग दीक्षाको परिवारले प्रारम्भिक कुराकानी गरेपछि अजयका मातापितासँग एरेन्ज म्यारिजका विषयमा छलफल गरेको थियो । अजय भन्छन्– दुवै परिवारका अभिभावकबाट आशीर्वाद लिँदै एरेन्ज म्यारिज गर्ने हाम्रो सपना पूरा भयो, विवाहको निधो गर्न मेरा मित्र तक्षक रायमाझी र बुबा धर्मनारायणदासले महत्वपूर्ण भूमिका खेल्नुभयो ।’ हाम्रो विवाहको कार्ड देखेर धेरै जना छक्क परेका थिए, अजयले थपे । - साप्ताहिकबाट

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |