काठमाडौं | दोलखा घर भएकी शान्ति (नाम परिवर्तन)लाई दोलखाकै एक जना युवकले सामाजिक सञ्जाल फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाए ।
फेसबुकको काम नै साथी बन्ने बनाउने हो भन्ने सोचेर उनले केही नसोची तत्काले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिन् ।दोलखाका ती युवकसँग उनी साथी मात्र बनिन्, उनको घनिष्टता अझै बढ्यो र अन्ततः त्यो सम्बन्ध प्रेममै परिणत भयो ।काठमाडौंको एक कलेजमा १२ मा पढ्दै गरेकी १९ वर्षीय युवतीलाई कुनै कुराको चिन्ता थिएन । तर, फेसबुकमा जोडिएको सम्बन्धकै कारण उनले झन्डै आत्महत्या गर्नु परेन ।करिव चार महिनासम्म उनीहरूको राम्रो सम्बन्ध कायम भयो । त्यो अवधीमा घुमफिरदेखि एक आपसमा सुख दुःख साटासाट समेत भयो ।
ती युवा थिए, राहुल श्रेष्ठ । उनी काठमाडौंको पुरानो बानेश्वरस्थित एक नाम चलेका कलेजमा अध्यनरत छन् ।फेसबुकमा राम्रा केटी खोज्ने र प्रेमको नाटक गर्दै युवतीलाई फसाउने उनको पेसा नै रहेछ ।
महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डीएसपी बिनोद रेग्मीले भने, “श्रेष्ठले नपत्याउने गरी युवतीलाई मायाजालमा पार्दा रहेछन् । उनले ती युवतीलाई पनि राम्रैसँग प्रयोग गरेको पाइयो ।” डीएसपी रेग्मीकाअनुसार श्रेष्ठ र ती युवतीबीचको चार महिनाको फेसबुक नाताले उग्ररूप लिन लागेको थियो ।
श्रेष्ठले शान्तिको सुन्दरतालाई देखेर साथी बनेका रहेछन् । उनकाअनुसार श्रेष्ठले ती युवतीलाई आफू बस्ने कोठामा बोलाउँदा रहेछन् । “कोठामा बोलाउने र भित्तामा मोवाइलको क्यामेरा फिट गर्ने गरेका रहेछन्,” डीएसपी रेग्मीले भने, “युवतीलाई कोठामा बोलाएर सेक्सको भिडीयो नै बनाउन श्रेष्ठले विभिन्न जुक्ती लगाउँदा रहेछन् ।”
रेग्मीकाअनुसार श्रेष्ठ यो हर्कत देखेर युवती पनि दिक्क हुन थालिन् र उनले श्रेष्ठसँग बिगतमा खिचिएका तस्वीरहरु हटाउन एक दिन कोठामा गइन र श्रेष्ठलाई बाहिर खाने कुरा किन्न पठाइन, उनले श्रेष्ठको ल्याप्टप हेरिन् । तर, केही देखिनन् । श्रेष्ठ चतुर थिए, उनीसँग बनाएको भिडीयो पेनड्राईभा राखि सकेका थिए ।
त्यसपछि ती युवती श्रेष्ठसँग टाढिन खोजिन र एक महिना जति बोलिनन् पनि ।आफूलाई वेवास्ता गरेको भन्दै श्रेष्ठले उनिसँगको भिडियो इस्टग्राममा पोष्ट गरिदिए । जसका कारण ती युवतीलाई तनाव मात्र भएन र सोही कारणले उनले आत्महत्याको प्रयास सम्म गरिन् ।
साथीको सल्लाहले उनले प्रहरीमा गएर उजुरी हालिन र प्रहरीले श्रेष्ठलाई पक्राउ गर्यो ।तर, युवकले ती युवतीलाई मात्रै होइन अरु युवतीलाई पनि त्यसैगरी फसाएका रहेछन् ।
प्रहरीका अनुसार श्रेष्ठले काठमाडौंमै नर्सिङ पढ्ने एक जना युवतीलाई त्यसैगरी प्रताडित तुल्याएका पाइयो । पक्राउ परेका श्रेष्ठलाई प्रहरीले साइबर क्राइमअन्तर्गत मुद्दा चलाएको छ । अहिले सामाजिक सञ्जालबाट हुने यस्ता क्रृयाकलाप रोगथाम गर्न प्रहरीलाई टाउको दुखाइको विषय बनेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी बिक्रमसिङ थापा भन्छन्, “सामाजिक सञ्जालबाट पीडित बन्नेहरुको सङख्या दिनानुदिन बढ्दो छ ।” उनी भन्छन्, “सामाजीक सञ्जालले समाजमा धेरै नकारात्मक रुप लिन थालेको छ, यसका प्रयोग कर्ताले ध्यान दिन जरुरी छ ।
मिलुन्जेल राम्रो हुने । सम्बन्ध बिग्रने बित्तिकै रिसीवी पोख्ने माध्यमका रुपमा पनि सामाजिक सञ्जाललाई प्रयोग गरिने प्रचलन ह्वात्तै बढेको छ । उनी अगाडि भन्छन्, “सामाजिक सञ्जाल प्रयोग कर्ताले आफैं सचेत हुनु पर्छ । अर्काको चरित्र हत्या गर्नु पनि ठूलो अपराध हो । कसैले पनि इच्छा बेगर सामाजिक सञ्जालमा कसैको चरित्र हत्या गरेको उजुरी परेमा प्रहरीले गम्भीरताका साथ हेर्ने गर्छ ।”



