धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ युरोपमा पानीपुरी र चटपट बेच्दै
नेपाली जनप्रगतिशील मञ्च स्पेनले धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ, एयिकासँग सहकार्य गर्दै “फेस्था मायोर डेल बार्रियोमा” स्टल राखेको हो। स्टलमा, पानीपुरी र चटपट बिशेष आकर्षण बनेका थिए। चटपट बेच्दै आयोजकलाई छटपट चल्यो कारण स्टलमा राखिएका सबै परिकारहरु रित्तिए। नेपाली झन्डाहरुले सजिएको स्टलमा नेपाली मात्र पुगेनन् केहिँ बिदेशीहरुले पनि रमाउँदै पानीपुरी,चटपट र समोसा खाए।
नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष गंगा प्रसाद भुसालले स्पेनबासी नेपाली समुदायको सहभागिताले आँफूहरु निकै उत्साहित भएको बताए। उनले भने,” पानीपुरी,चटपट,समोसा,मम बेचेर धेरै रकम संकलन गर्ने लक्ष्य भन्दा पनि गिरान्चौर एकीकृत बस्ति निर्माणको लागि स्पेनबासी नेपालीहरुको ठुलो साथ भन्ने सन्देश मिलेको छ।” प्रबासमा गरिने यस्ता कार्यक्रमले नेपालको पर्यटन तथा पर्यावरण विकासमा टेवा मिल्ने बिश्वास अध्यक्ष भुसालले ब्यक्त गरे।
मञ्चले यस अघि नै २ हजार ५ सय ४० युरो (करिब ३ लाख रुपैयाँ) संकलन गरिसकेको छ। खाना बेचेर बचत भएको रकमसँगै अब एकमुष्ट जम्मा गरी केहिँ दिन भित्रमा नै फाउन्डेसनलाई हस्तान्तरण गर्ने मञ्चले जनाएको छ। कार्यक्रममा स्पेन स्थित नेपाली संघसंस्था लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो। प्रचार प्रसारका लागि टेवा पुग्ने गरि कार्यक्रमको तयारी चलिरहेको मञ्चले जनाएको छ।



