झापामा सञ्चालित अधिकांश मेनपावर अवैधानिक

झापा । झापामा सञ्चालित अधिकांश मेनपावर अवैधानिक रहेको पाइएको छ । श्रम तथा रोजगार मन्त्रालयले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । मन्त्रालयका शाखा अधिकृत मोतिराम भूषलको नेतृत्वमा आएको टोलीले झापामा सञ्चालित ६ वटा मेनपार कम्पनीको आइतवार अनुगमन गरेको थियो । टोलीले अञ्जलि , पाथीभरा, शिवाकोटी, जुपिटर, मिमोसा, अल अस्मासको अनुगमन गरेको थियो । सो क्रममा शिवाकोटी वाहेक अरु मेनपावर कम्पनी प्रक्रियागत रुपमा सञ्चालनमा नरहेको पाइयो अनुगमन टोलीमा रहेका जिल्ला प्रशासन कार्यालय झापाका तेजेन्द्र न्यौपानेले भन्नुभयो । उहाँले झापामा १२ वटा मेनपावर कम्पनीका मात्रै शाखा कार्यालय विधानत सञ्चालनका लागि अनुमति पाएको र उनीहरुले पनि आर्थिक कारोवार गर्न नपाउने प्रावधान रहेको बताउनुभयो ।

झापामा शाखा सञ्चालनको अनुमति पाएका मेनपावर कम्पनीहरुमा सुनकोशी पृथ्वीनगर –४ श्रीजंगा, जानकी ओभरसिज, अनारमनी–३, जुपिटर ओभरसिज अनारमनी झापा, प्रुडेन्सीयल ओभरसिज, पुकार इन्टरनेशनल, मिमोसा ओभरसिज,लायन्स इन्टरनेशनल, सान इन्टरनेशनल, न्यू ग्लोवल मेनपावर रहेको बताइएको छ । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयका न्यौपाने सहित मन्त्रालयका नायव शुव्वाद्वाय खड्गवहादुर केशी र तारानाथ निरौला, श्रम कार्यालय झापाका दयानन्द नेपालको सहभागीता रहेको थियो ।

यसैवीच मन्त्रालय सहितको टोलीले बिर्तामोडमा रहेका मेनपावर कम्पनीमा अनुगमन शुरु गरे लगत्तै मेनपावरका सञ्चालकहरुको भागारेभाग भएको थियो । मेनपावर कम्पनीले अनुगमन आएको थाहापाएपछि कार्यालय बन्द गरेर भागेका थिए । बिर्तामोडमा मात्रै दर्जनै म्यानपावरले विभिन्न सञ्चार माध्ययममा विज्ञापन गर्दै विदेश जाने मानिस सङ्कलन गर्ने गरेका छन् । उनीहरुले यहीबाट आर्थिक कारोवार पनि गर्ने गरेका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |