सहमतिका आधारमा ७ दिनभित्र प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिबाट आह्वान
काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठन गर्न संसदमा रहेका राजनीतिक दलहरुलाई आहृवान गर्नु भएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र सहमतीय सरकार गठनको आहृवान गर्नु भएको हो ।
सरकार गठनको आव्हान गर्नुअघि राष्ट्रपति भण्डारीले संबैधानिक जटिलता हटाउन बाधा अड्काउ फुकाउ आदेश जारी गर्नु भएको थियो । सविधानको धारा २९८ अनुसार गठन भएको प्रधानमन्त्रीले राजीनामा दिएको तर, अर्को प्रधानमन्त्री निर्वाचित हुने प्रष्ट व्यवस्था नरहेका भन्दै मन्त्रिपरिषद्ले बाधा अड्का आदेश जारी गर्न आइतवार नै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
सहमतीय सरकार गठनका लागि आव्हान गर्नुअघि राष्ट्रपति भण्डारीले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षरुसँग सामुहिक भेट गरी छलफल गर्नु भएको थियो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेट्न अपरान्ह शीतल निवास पुग्नु भएको थियो ।
राष्ट्रपतिले डेढ वर्षभित्र स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन गरी संविधान कार्यान्वयन गर्ने कुरा सजिलो नरहेको भन्दै सहमतिका साथ अगाडि बढ्न आग्रह गर्नु भएको थियो । उहाँले दलहरुबीचको तिक्तता मेटाएर संविधान कार्यान्वयनमा लाग्न शीर्ष नेताहरुलाई सुझाव दिनु भएको थियो । दुई घण्टा लामो सामूहिक भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रमुख दलहरुबीचको सम्बन्ध सहज हुँदा मात्र राष्ट्रिय मुद्दा सम्बोधन गर्न सकिने धारणा राख्नु भएको थियो ।



