फ्री भिसा फ्री टिकट, भन्दै पैसा असुल्दै मेनपावर
एक राष्ट्रिय पत्रिकामा साउन २८ गतेको विज्ञापनमा उनको आँखा पर्यो । वैदेशिक रोजगारीबाट फर्केर अहिले घरमै बसिरहेका रोशनलाई त्यो विज्ञापनले गाउँबाट सहर तान्यो। उनी पृथ्वीचोकस्थित शिखर मेनपावरमा आए। बेरोजगार रोशनको चाहना लाखौं बेरोजगार युवाको जस्तै साझा थियो, ‘विदेश जाऊँ, त्यो पनि थोरै लगानीमा धेरै कमाउने देश।’ पत्रिकामा उल्लेख गरिएको विज्ञापनमा त झन् ‘फ्री भिसा फ्री टिकटसहित युएईमा रोजगारीको अवसर’ उल्लेख गरिएको थियो । त्यही देखेर त उनी केही नसोची डकुमेन्ट बोकेर पोखरा पसे।
एक सय जना ट्याक्सी चालक चाहिएको रहेछ। आवश्यकता अनुसार लाइट ड्राभिङ लाइसेन्स भएका र एसएलसी पास, अंग्रेजी भाषामा लेख्न र बोल्न सक्ने व्यक्ति छनोट हुने भए। उच्च शिक्षा पास गरेका रोशनलाई मेनपावरले राखेको सर्तमध्ये कुनै पनि कुराले नरोक्ने भएकाले होला उनी गाउँबाट पूर्ण विश्वासका साथ सहर पसेका।
एक रात पोखरा आफन्तकोमा बसेर उनी साउन ३० गते अन्तर्वार्ताका लागि मेनपावर पुगे। उनीजस्तै त्यहाँ १८ युवा पुगेका थिए। अन्तर्वार्ता दिन रोशनको पालो आयो। पहिलो अन्तर्वार्ता भयो। उनी पास पनि भए । त्यो नतिजाले आशाको दियोमा तेल थप्ने काम गर्यो । रोशन खुसी भए । त्यही क्षणमा दुधे बालककी आमा उनकी श्रीमती सम्झे। ‘पहिलो अन्तर्वार्ता त हो नि भोलि के हुने हो?’ भन्दै उनले घर फोन गरेनन्। भोलिपल्ट अर्थात ३१ गते फाइनल अन्तर्वार्ता भयो। जसरी पहिलो अन्तर्वार्ता कटाएका थिए रोशनले त्यसरी नै सरल रुपमा दोस्रो अन्तर्वार्ता पनि पार गरे। मेनपावरका मान्छेले फेरि कुरा गर्न क्याबिनमा बोलाए। विदेश जान छनोट भएका रोशन क्याबिनको ढोकाबाट निक्लँदा निन्याउरो देखिए।
फाइनल अन्तर्वार्ता पास हुँदाको खुसी तत्कालै खोसिएजस्तो भयो। उनलाई दुःखी बनाउने कारण थियो मेनपावरले साढे २ लाख लाग्छ भन्नु।
‘फ्रि भिसा फ्रि टिकट’ भनेर गएका रोशन अब साढे २ लाख कताबाट खोज्ने भन्ने रन्कोमा डुबे। घरमा फोन हानेर श्रीमतीसँग कुरा गर्दा मासिक तलब ४० हजार भए तिरिहालिन्छ भनेर जवाफ आएपछि ऋण लिएरै भए पनि जाने निधो गरे। लगानी बढी भयो भनेपछि मेनपावरले ५० हजार कम गरिदियो। रोशन जस्तै धेरैले २ लाख रुपैयाँ शिखर मेन पावरमा बुझाइसकेका रहेछन्। बुझाएको कुनै पनि भौचर छैन, मौखिक विश्वासमा मात्र सीमित छ।
बाध्यताले च्यापेपछि विश्वास नै ठूलो आधार मानेर रकम बुझाएको बताउँछन् रोशन। अन्तर्वार्तामा छनोट भएपछि आशा लागेर रकम दिएको उनले बताए। ‘फ्री भिसा फ्री टिकट देखाउनका लागि मात्र रहेछ,’ उनले भने, ‘योग्य भएर मात्र हुँदो रहेनछ, बाध्य परेपछि रकम बुझाएँ तर कुनै रसिद दिएका छैनन्।’
मेनपावरका सञ्चालक फिरोज खानले काठमाडौंबाटै रकम लिने भनेपछि आफूले रकम लिएको बताए । ‘विज्ञापनमा फ्री भिसा फ्री टिकट भने पनि काठमाडौं कार्यालयबाट रकम लिन भनेका हुन्,’ उनले भने, ‘केका लागि लिएको भन्ने हामीलाई थाहा भएन।’ वैदेशिक रोजगार विभागले युएईमा जाँदा सेवा सुविधा वापत धेरैमा १२ हजारसम्म मात्र रकम बुझाउने भनेर तोकेको छ। त्यो पनि भिसा प्राप्त भई जाने बेलामा बुझाइ भौचर लिनु भनेको छ।
सामान्यतया युएई जाँदा अभिमुखीकरण शुल्क ७ सय, कल्याणकारी कोष शुल्क १ हजार र सेवा शुल्क १० हजार गरी ११ हजार ७ सय कामदारले बुझाउनुपर्ने हो। तर, रोशनले जस्तै शिखर मेनपावरबाट जाने सबैले २ लाख बुझाए, त्यो पनि बिनाभौचर बुझाएको खुलासा भएको छ।
रोशन र शिखर मेनपावर एउटा उदाहरण मात्र हो। यसरी नै वैदेशिक रोजगारका लागि जान चाहने कैयौं मानिसलाई अनावश्यक रकम लिने गरेको गुनासो सुनिन्छ।
-सेतोपाटी डट कम



