साउदी अरबबाट नेपाल फर्कन चाहनेलाई निःशुल्क ‘एक्जिट भिसा’
काठमाडौं, २५ साउन । साउदी अरबस्थित विभिन्न कम्पनीमा काम गरिरहेका, तर लामो समयदेखि तलब नपाई समस्यामा रहेका नेपालीलाई नेपाल फर्कन चाहेमा निःशुल्क भिसाको व्यवस्था मिलाइएको छ ।
साउदीस्थित नेपाली महावाणिज्य दूतावासले विज्ञप्ति जारी गरी साउदी अरबको ठूलो निर्माण कम्पनी ‘साउदी अजर’ आर्थिक कारण बन्द भएकाले सो कम्पनी र अन्य कम्पनीमा कार्यरत नेपाली नागरिकलाई नेपाल फर्कन चाहे निःशुल्क ‘एक्जिट भिसा’ को व्यवस्था गर्न त्यहाँको श्रम मन्त्रालय सहमत भइसकेको जनाएको छ ।
साथै, महावाणिज्य दूतावासको सहयोगमा ‘साउदी अजर’ मा कार्यरत ४१ मध्ये ६ जना नेपाली नागरिक नेपाल फर्किसकेको विज्ञप्तिमा उल्लेख छ । दूतावासले ‘साउदी अजर’ कम्पनीबाट अन्य कम्पनीमा ट्रान्सफर हुन चाहनेहरूका लागि समेत समन्वय भइरहेको बताएको छ ।
साउदी अरबमा तलब तथा खान नपाई फसेकालाई तत्काल उद्धार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार परराष्ट्र र श्रम मन्त्रालयलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार काम भइरहेको महावाणिज्य दूतावासले जनाएको छ ।
महावाणिज्य दूतावासले साउदी अरबका कम्पनीहरूमा रोजगारीमा रहेका नेपाली नागरिकहरूले कुनै समस्या परी अप्ठेरो अवस्था भोग्नुपरेको भए नेपाली दूतावास रियादका कार्यबाहक राजदूत आनन्प्रसाद शर्मा र काउन्सलर अम्किाप्रसाद अधिकारी र महावाणिज्य दूतावासका कार्यबाहक महावाणिज्यदूत रेवतीरमण पौडेल र श्रम सहचारी भोजराज घिमिरेलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ । -मिडिया एनपी



