गौरीगञ्ज र खजुरगाछी गाविसलाई गौरादहमा गाभ्ने प्रस्तावप्रति कांग्रेस आन्दोलित
गौरीगञ्ज | झापाको गौरीगञ्ज र खजुरगाछी गाविसलाई गौरादह तथा कोरोबारी गाविसलाई कमल नगरपालिकामा गाभ्ने प्रस्तावप्रति नेपाली कांग्रेसले विरोध जनाउँदै आन्दोलित बनेको छ ।
कांग्रेस गौरीगञ्ज, खजुरगाछी र कोरोबारी गाउँ समितिले शनिबार संयुक्त रुपमा खजुरगाछी गाविसमा छलफल कार्यक्रमको आयोजना गरी उक्त प्रस्तावको विरोध गर्दै संघर्ष समिति गठन गरेका हुन् ।
३ वटै गाउँ समितिले खजुरगाछी र गौरीगञ्जलाई गौरादह नगरपालिकामा तथा कोरोबारी गाविसलाई कमल नगरपालिकामा गाभ्ने प्रस्ताव अव्यवहारिक भएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु समेत तय गरेका छन् ।
भेलाले कांग्रेस महासमिति सदस्यहरु घनश्याम रिजाल र फुलवती राजवंशी, महाधिवेसन प्रतिनिधिहरु पुष्पहरि बराईली र उदयलाल यादव, खजुरगाछी गाउ“ सभापति बद्रीनारायण यादव, गौरीगञ्ज सभापति राजेन्द्र कार्की र कोरोबारी सभापति अग्नु राजवंशीसहित ७ सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ ।
भेलाले कांग्रेस क्षेत्रीय समिति, जिल्ला समिति, केन्द्रीय समितिलाई जानकारी गराउने, जिल्ला विकास समितिमा ज्ञापनपत्र बुझाउने र अन्य राजनीतिक दलहरुसंग समेत सहकार्य गरी बृहत २५ सदस्यीय मोर्चा बनाई आन्दोलन गर्ने निर्णय गरेको छ ।
उनीहरुले गौरीगंज झापाकै पुरानो बजार एवं ऐतिहासिक ठाउ“ भएकोले सो गाविस लगायत खजुरगाछी, कोरोबारी र महाभारा गाविसलाई मिलाएर गौरीगंज गाउ“पालिका बनाउनु पर्ने माग समेत गरेका छन् । -हिमालीपोष्टबाट



