भूकम्पपीडितलाई आएन दसै
भक्तपुर । भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारेकी छिन् ।
गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आएकी पोखाले साँघुरो छाप्रो मै जमरा उमारेकी हुन् ।
सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि दसैं मनाउने योजना भने नभएको उनी बताउँछिन् । पोखा भन्छिन्, ‘दसैं आएपनि कुनै तयारी छैन, यो छाप्रोभित्र कसरी मनाउनु दसैं, पाहुना बोलाउनु पर्छ, ठाउँ छैन, पैसा छैन, दसैं आएजस्तै छैन ।’
यही शिविरको पालमा बस्दै आएका कमल विनायकका राजु सुवालको पनि उस्तै छ समस्या । तीनजना परिवार रहेको उनले भने भत्किएको घरको छिँडीमा जमरा उमारे पनि दसैंको तयारी भने नगरेको बताउँछन् । उनी भन्छन्, ‘शिविरको दसैँ के रमाइलो हुनु, विगतको जस्तो दसैं हुँदैन यसपालि, दसैंको लागि कुनै सामान किनेको छैन, टीका जमरा लगाउनेबाहेक अरु केही हुँदैन यस वर्ष ।’
सरकारले घोषणा गरेको रकम दिए छाप्रो हालेर अरुको जग्गा भाडामा लिएरै भए पनि तरकारी खेती गरेर बाँच्न सकिने बताउने उनीहरु सरकारको आशै आशामा डेढ वर्ष बितेको बताउँछन् ।
शिविरमा बस्दै आएकी क्वाठडौंकी चन्द्रलक्ष्मी मानन्धरको समस्या पनि उस्तै नै छ । एउटा पालभित्र सातजनाको परिवार बस्दै आएका मानन्धर परिवारले पनि दसैंको कुनै जोहो गरेका छैनन् । दुईजना देवरानी जेठानीले टोपी, मोजा, पन्जा बुनेर आम्दानी गरेको दिनको १०० ले परिवार धान्नै मुस्किल छ ।
मानन्धर भन्छिन, ‘कमाइ छैन, बुनाइको पैसाले सातजनाको परिवार पाल्न पुग्दैन, ऋण गरेर टार्दै आएका छौं, दसैंको कुनै तयारी छैन, दसैंमा पाहुना बोलाएर भोज खुवाउनु पर्छ, यस वर्ष त पाहुना पनि नबोलाउने भएका छौँ ।’
शिविर छाडेर भत्किएकै घरको छिँडीमा गएर बसेकी क्वाठडौंकी रेनुका सुवालको पीडा पनि कम छैन । शिविरमा बस्दै आएकी उनले दसैं आएपछि जमरा राख्नकै लागि एकसाता अघि भत्किएको घरको छिँडीमा गएर बसेको उनी बताउँछिन् ।
उनी भन्छन्, ‘भूकम्पले भत्काएको घरमा गएर बसेका छौं, दसैंको कुनै तयारी छैन, घरमा गएदेखि घर भत्किन्छ कि भन्ने डरले कोही पनि निदाउन सक्दैनौँ, जिन्दगी साह्रै कठिन भयो ।’
नेपालीको महान् चाडको रुपमा मनाइने दसैं नजिकिँदै गरेपनि गत वर्ष वैशाख १२ गतेको भूकम्पका कारण घर भत्किएर शिविरको बास भएका भूकम्पपीडितलाई दसैंको रौनकले छोएकै छैन ।
भक्तपुरको व्यासीस्थित शिविरमा बस्दै आउनुभएकी ७४ वर्षकी कृष्णकुमारी सुवाललाई पालभित्र चिसो आउन थाले पछि बिरामी परेको बताउँछिन् । उनी भन्छिन्, ‘भुइँमा पानी आउँछ, माथिबाट बिहानी पख पालबाट शीत चुहिन्छ, शिविरमा बाँच्नै गाह्रो भो, जाने ठाउँ छैन, यस्तो बेलामा के मनाउनु दसैं ।’
यही शिविरमा बस्दै आउनुभएका रामकृष्ण र रमिता सुवाल दम्पतीको समस्या पनि उस्तै नै छ । शिविरमा बसेदेखि नै मानसिक तनाबका कारण विरामी परेको रमिता बताउँछिन् ।
दसैँको कुनै तयारी नभएको बताउँदै सुवाल दम्पतीले ग्यास नहुँदा कहाँ पकाएर खाने भन्ने चिन्ता भएको बेलामा यो साँघुरो पालभित्र पाहुना बोलाएर दसैं मनाउन सक्ने अवस्था नभएको बताउँछिन् ।
भक्तपुरका अधिकांश शिविरका भूकम्पपीडित बस्दै आएका शिविरमा यस वर्ष दसैंको कुनै रौनक छैन भने यस वर्षको दसैं निकै खल्लो हुने शिविरका बासिन्दा बताउँछन् । रासस



