भाइबरले सुरु गर्यो फ्रि भाइबर क्षेत्र
काठमाडौ | अग्रणी सन्देश प्रदायक एप्स भाइबरले काठमाडौं उपत्यका भित्र फ्रि भाइबर क्षेत्र आरम्भ गरेको छ । नेपाली भाइबर प्रयोगकर्तालाई दृष्टिगत गर्दै भाइबरले थप उत्कृष्ट सेवा र सुविधा उपलब्ध गराउन यो योजना अघि सारेको जनाएएको छ ।
भाइबरले संघ संस्था, ब्राण्ड र चर्चित हस्तीलाई उनीहरुका फ्यान र फलोअरसँग पब्लिक च्याट मार्फत् सम्पर्क बनाइ राख्ने सेवा उपलब्ध गराएको जनाएको छ । यसका साथै भाइबरले नेपाली प्रयोगकर्तालाई उनीहरुकै नेपाली भाषामा आफ्नो मनोभाव साटासाट गर्न भाइबरको स्टिकर बजारमा नेपाली स्टिकर समेत उपलब्ध गराएको छ । हालैमात्र भाइबरले नेपालका भाइबर प्रयोगकर्तामाझ विश्वका ५२ राष्ट्रहरुमा भाइबर आउट मार्फत् फ्रि कल गर्ने सुविधा प्रदान गरेर नेपाली प्रयोगकर्तालाई थप सेवा उपलब्ध गराएको हो ।
असोज २२ गतेदेखि आरम्भ भएकोे फ्रि भाइबर क्षेत्रको नयाँ सेवा ५ वटा प्रख्यात स्थानहरु ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट (शान्तिनगर, नयाँ बानेश्वर), निमन्त्रणा रेष्टुरेन्ट (काठमाडौं मल) र डिजी टेक काठमाडौं (पाको न्यूरोड– ताम्राकार हाउसको अगाडी) मा उपलब्ध हुने जनाइएको छ । सुबिसु केबल नेटद्वारा उपलब्ध यी फ्रि भाइबर क्षेत्रहरुमा प्रयोगकर्ताले असिमित निःशुल्क इन्टरनेट सर्भिस प्राप्त गर्ने कम्पनीले जनाएको छ । भाइबरको प्रयोग सित्तैंमा गरेर कल गर्न, सन्देश पठाउन र भिडियो कल गर्न सक्ने जनाइएको छ । यी स्थानहरुमा प्रयोगकर्ताले फ्रि भाइबर जोनमा लग अन गरेर चाहे जति इन्टरनेटको सुविधा उपभोग गर्न सक्नेछन् । -रासस



