मंसिरदेखि देशभरी ‘स्मार्ट लाइसेन्स’
काठमाडौं । यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभरी ‘स्मार्ट लाइसेन्स प्रणाली’ लागू गर्ने भएको छ ।
गत मङ्सिरदेखि परीक्षणका रुपमा बागमती अञ्चलमा मात्र सुरु भएको सो प्रणाली एक वर्षभित्र सबै अञ्चलमा विस्तार गर्न लागिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए ।
एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सुरु भएको सो प्रणालीलाई एक वर्षभित्र सबै अञ्चल कार्यालयमा विस्तार गर्ने समझदारी भएकाले गृहकार्य भइरहेको र सवारीचालक अनुमति पत्रलाई व्यवस्थित बनाउन उक्त प्रणाली प्रयोग गर्नका लागि एडिबीले करिब २३ करोड रूपैयाँ सहयोग उपलब्ध गराएको छ ।
अहिलेसम्म करिब एकलाख सेवाग्राहीले बागमती अञ्चल कार्यालयबाट चालक अनुमतिपत्र स्मार्ट कार्ड प्रणालीमार्फत वितरण गरिएको छ ।



