ईटहरी उमनपा मा पस्यो अख्तियार : ​बल्ब खरीद विषयमा मेयरले भने, ‘अधिकृतले थाहै नदिइ पैसा दिएछन्’

सुनसरी | इटहरी उपमहानगरपालिकामा बल्ब खरीदमा भएको अनियमितताको छानविन गर्न उपमहानगरपालिकाले सात सदस्यीय समिति बनाएको छ । अख्तियारसमेतले छानविन थालेपछि उपमहानगरपालिकाको कार्यपालिकाको शुक्रबार बसेको आकस्मिक बैठकले समिति बनाएको हो । समितिले दुई साताभित्र छानविन गरी प्रतिवेदन सार्वजनिक गर्ने मेयर द्वारिकलाल चौधरीले जानकारी दिएका छन् । उपमहानगरपालिकाको लेखा समितिका संयोजक दीपक गौतमको संयोजकत्वमा सात सदस्यीय समिति बनाएको हो । समितिले दुई साताभित्र प्रतिवेदन सार्वजनिक गर्नेछ । दुई सातापछि नै कार्यपालिकाको अर्को बैठक बस्नेछ । ‘अख्तियारको छानविन लम्बियो भने पनि हामीले दुई साताभित्रै नगरवासीलाई जवाफ दिनको लागि समिति बनाएका हौं,’ उपमेयर लक्ष्मी गौतमले भनिन् ।

यस्तै उपमहानगरपालिकाको आन्तरिक छानविन नसकिउन्जेललाई सम्पूर्ण खरीद प्रक्रिया रोकेको समेत उनले जानकारी दिए । सप्रमाण सञ्चारमाध्यममा आएको एक सातापछि अख्तियारमा उजुरी परेपछि मात्र अख्तियारले छानविन अघि बढाएको थियो । अख्तियारले खरीद प्रक्रियाका कागजातको प्रतिलिपी लगेपछि मात्र उपमहानगरपालिकाले यो विषयमा आधिकारीक धारणा सार्वजनिक गरेको हो ।

मेयरको यस्तो प्रष्टिकरण

उपमहानगरपालिकाका मेयर चौधरीले कर्मचारी र केही व्यापारीले मिलेर अनियमितता गरेको आशंका भएको बताए । उनले अघिल्ला कार्यकारी अधिकृत सागर मिश्रले सरुवा भएर जाँदै गर्दा ७० लाख बढी निकासा दिएको बताए । ‘जाने बेलामा वहाँले नियोजित उद्धेश्य राखेर रकम निकासा गर्नुभएछ,’ मेयर चौधरीले भने, ‘बजेटसमेत पारित नभएको बेलामा हामीले बल्बका लागि दुई लाख रुपैया मात्र छुट्याएका थियौं ।’ उनले आफूहरुलाई कर्मचारीसमेत थाहै नदिइ जिन्सीले सामान ल्याएको र लेखाले भुक्तानी दिएको बताए । चौधरीले उद्योग वाणिज्य संघले उपलब्ध गराएको कोटेसनअनुसार खरीद भएकोले बजार रेटभन्दा बढीमा खरीद भए उद्योग वाणिज्य संघ पनि जिम्मेवार रहने बताए । उनले नगरवासीको माग अत्याधिक रहँदा बल्ब खरीद गरेको बताउँदै व्यापारीसँग साँठगाँठ गरेर भुक्तानी गर्ने जोकोहीलाई कारवाही गर्न सहयोग गर्ने बताए । उनले वटा फर्मबाट आएका ३६ कोटेसनमा बजारमूल्यभन्दा बढी रकम उल्लेख गरिएको जानकारी दिए । उपमहानगरपालिकाले बल्बलगायतका जिन्सी खरीद गर्दा टेण्डर आह्वान नगरी खर्च गरेको र भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले सो विषयमा छानविन सुरु गरिसकेको छ ।

उद्योग वाणिज्य संघको आरोप बिक्रेतामाथि

बल्ब अनियमिततामा आफ्नो संथागत सहभागिता नरहेको उद्योग वाणिज्य संघ इटहरीले जनाएको छ । बल्बको खरीद मूल्य उद्योग वाणिज्य संघले नै सिफारिस गरेअनुसार रहेको उपमहानगरपालिकाले बताएपछि संघले विषयगत समितिको दोष देखाएको छ । उपमहानगरपालिकाले कोटेसन मागेपछि अघिल्लै वर्ष विद्युतीय व्यवशायी संघलाई कोटेसन पठाइदिन भनेको र संघले पठाएको कोटेसनलाई जस्ताको तस्तै उपमहानगरपालिकामा पठाएको संघका अध्यक्ष लिलम बस्नेतले बताएका छन् । संघको अध्यक्षमा विष्णुप्रसाद शर्मा छन् । अध्यक्ष बस्नेतले भने, ‘हामीले आफै मूल्य लेखेर दिएका होइनौं, संघका अध्यक्ष विष्णुप्रसाद शर्माले मूल्य बढाएर पठाएछन् ।’ बजार मूल्यभन्दा बढीको कोटेसन पठाउने व्यवशायीहरुलाई समेत कारवाहीको लागि सहयोग गर्ने बस्नेतले बताए ।

कार्यकारी मिश्रले दिए बयान

यता कार्यकारी अधिकृत सागर मिश्रले शुक्रबार इटहरीस्थिन अख्तियारको कार्यालयमा उपस्थित भएर बयान दिएका छन् । उनी बल्बको रकम भूक्तानीको समयमा इटहरी उपमहानगरपालिकामा कार्यरत् थिए । मिश्र दुई महिना मात्र यहाँ कार्यरत् रहेका थिए । श्रोत: अनलाईनबाट

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |