कम वा बढि निद्रा, मृत्युको कारण बन्नसक्छ

मानिसमा अनियमित अथवा अपर्याप्त निद्राका कारण विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुने तथ्य नौलो होइन । खासगरी कम निद्रा स्वास्थ्यको लागि बढि हानिकारक हुने विश्वास गरिन्छ र बढि निद्रा वा सुताइलाई उतिसारो ध्यान दिइँदैन ।
तर हालै गरिएको एक अध्ययनले भने आठ घण्टाभन्दा बढि र चार घण्टाभन्दा कम निद्रा दुबै नै स्वास्थ्यको लागि खतरनाक हुनसक्ने तथ्य बाहिर ल्याएको छ ।
आवश्यकता भन्दा बढि वा कम निद्राले खासगरी मुटुसम्बन्धी विभिन्न खाले समस्याको खतरा बढाउने शोधकर्ताहरुको ठम्याई रहेको छ ।
दिनमा ४ घण्टाभन्दा कम समयसम्म सुत्ने मानिसहरुमा मुटुसम्बन्धी विभिन्न समस्याहरुको खतरा ३६ प्रतिशतले बढ्दछ । त्यस्तै ८ घण्टाभन्दा बढि समयसम्म सुत्ने मानिसहमा मुटुरोगको खता २८ प्रतिशतले बढ्ने अध्ययनले देखाएको छ । अझ पुरुषहरुको तुलनामा महिलामा यो खतरा बढि हने अध्ययनको निष्कर्ष रहेको छ ।
इन्टरनेसनल जर्नल अफ कार्डियोलोजीमा प्रकाशित शोध अनुसार पुरुषहरुको तुलनामा महिलाहरुको निद्रा बढि अनियमित हुन्छ । जसका कारण महिलामा यो खतरा बढि हुन्छ । शोधकर्ताहरुका अनुसार दिनमा ४ देखि ८ घण्टासम्मको निद्रा स्वास्थ्यका लागि सबैभन्दा उत्तम हुन्छ ।
निद्राको अनियमितताले केवल मुटु सम्बन्धी समस्यामात्र नभै मोटोपनाको जोखिम पनि बढाउँछ । निद्राको कमी वा बढी निद्राका कारण उत्पन्न हुने स्वास्थ्य समस्याले मानिसमा अकाल मृत्युको मुखमा पूराउने सम्भावना बढि हुने शोधकर्ताहरु बताउँछन् ।
स्रोत: रासस



