हराएको १२ लाख फिर्ता पाउँदा...

धरान- कोसी राजमार्गअन्तर्गत धरान इटहरी सडक खण्डमा बिहीबार राती दुर्घटना हुँदा धरान १७ का ओमबहादुर गेलालको मृत्यु भयो। आइएमई र जग्गा व्यापारमा संलग्न गेलालको साथमा १२ लाख रुपैयाँ थियो। घटनापछि पैसासहित गेलालको झोला हराएको थियो।

गेलालको मृत्युले परिवारजन शोकमा थिए। साथमा रहेको नगद र कागजात नभेटिँदा पीडा झनै थपिएको थियो। परिवारजनले हराएको पैसा भेटिने आशा करिब करिब मारिसकेका थिए। तर, शुक्रबार चतरामा दाहसंस्कर गरेर फर्कंदा गेलाल परिवारलाई चकित तुल्याउने खबर आयो। धरान १५ की ज्योति राई र मोरङ उर्लाबारी–८ की सुनिता राईले पैसासहितको झोला भेटेका रहेछन्। उनीहरू ब्यागका धनी वा तिनका परिवारको खोजीमा रहेछन्। यो खबरले दुःखको सागरमा डुबेको गेलाल परिवारलाई केही भए पनि राहत मिल्यो।

शनिबार तिनै ज्योति र सुनिताले मृतक गेलालका बुबा दलबहादुरलाई १२ लाख रुपैयाँसहितको ब्याग फिर्ता गरिदिए। धरान १० स्थित सैनिक भवनमा १२ लाख हातमा लिँदै गर्दा दलबहादुर भावुक बने। छोराको वियोगमा शोकमा डुबेका उनी माया मारिसकेको पैसा पाउँदा बोल्नै सकेनन्। पैसा फिर्ता दिने ज्योति र सुनितालाई उनले मायाको चिनो प्रदान गरे। दलबहादुर कान्छा छोरा रामको साथमा थिए। 'यो समयमा पनि निःस्वार्थी मान्छे भेटिँदा रहेछन्, हामीले त पैसा भेटिने आशा मारिसकेका थियौं,' रामले भने, 'पैसाभन्दा महŒवपूर्ण त दाइ नै हुनुहुन्थ्यो। तर पनि पैसा फिर्ता पाउँदा बुबा केही बोल्नै सक्नुभएन।'

बिहीबार साँझ करिब ७ बजेतिर विश्वकर्मा मन्दिरमुनिको जंगल क्षेत्रमा गेलाल चढेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको टेम्पो ठक्कर खाँदा दुर्घटना भएको थियो। इटहरीबाट स्कुटीमा धरान फर्किरहेका सुनिता र ज्योतिले पैसासहितको कालो ब्याग भेटाएका थिए। उनीहरूले धरान १५ का बाँझगरा वन समूहका पूर्वअध्यक्ष टिका पाखि्रनलाई पैसाबारे सुनाए। पाखि्रनले धरान १७ स्थित उदय वन समूहका अध्यक्ष मिन सुनुवारलाई सम्पर्क गरी गेलाल परिवारलाई पैसा फिर्ता गराउने चाँजोपाँजो मिलाइदिए।

'पैसा भएको ब्याग भेटेपछि डर लागिरहेको थियो, त्यत्रो पैसा देखेका पनि थिएनौं। त्यसैले कति छ भनेर चेक पनि गरेनौं। हामीलाई ब्यागभित्र पैसा छ भन्ने मात्रै थाह थियो,' सुनिताले भनिन्, 'हकवालालाई जिम्मा दिन पायांै, मन हल्का भएको छ।' उनीहरूले एक करोड ३२ लाख रुपैया उल्लेख भएको पासबुकसमेत बुझाएका छन्। पैसा र ब्याग भेटेपछि उनीहरूले प्रहरीमा बुझाउन खोजेका थिए। तर, आफन्तले सिधै परिवारलाई भेटेर नै बुझाउन सल्लाह दिएको सुनिताले बताइन्। सुनिताका अनुसार पैसा भेटेको राती उनीहरू डरले सुत्न पनि सकेनन्। -रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |