अञ्जु सुनुवारका भाइ विजय सुनुवारले आफ्नी दिदी साइप्रसमा रोजगारीका लागि नगएको दाबी गरेका छन् । विजयले बिहीबार टेलिफोनमा कुरा गर्दै भने, ‘मेरो दिदी अञ्जु सुनुवार साइप्रसमा रोजगारीका लागि जानु भएको छैन । उहाँ त दुबईमा बिगत दुई वर्षदेखि रोजगारीमा हुनुहुन्छ । उहाँले आत्महत्या गरेको कुरा सबै झुठो हो ।’
दिदी अञ्जुले आत्महत्या गरेको भनेर कसले समाचार दियो होला भनेर अचम्म मान्दै भ्रमक समाचार लेख्नेविरुद्ध उजुरी दिने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘मेरो जिउँदो दिदीलाई आत्महत्या गरेको भनेर समाचार दिनेहरूविरुद्ध उजुरी दिन्छु । कानुनी उपचार खोज्छु ।’
बाबु कृष्णबहादुर सुनुवार र आमा मैया सुनुवारकी छोरी अञ्जुले साइप्रसमा अघिल्ले शनिबार आत्महत्या गरेको समाचार आएको थियो । तर, सो समाचार गलत रहेको विजय सुनुवारले बताए । ‘मेरो दिदी दुबइमा जीवित हुनुहुन्छ’, विजयले भने , ‘विश्वास लाग्दैन भने फोनमा कुरा गराउन सक्छु ।’
झापाको निशान राई भन्नेसँग आफ्नी दिदीको कुनै सम्बन्ध नरहेको विजयले दाबी गरे । उनले भने ‘निशान राईलाई हामीले चिन्दैनौँ । को हो त्यो हामीलाई थाहा छैन ।’
साइप्रसमा अञ्जु सुनुवारले निशान राईसँगको फेसबुकपछिको मायापिरतीका कारण साइप्रसमा आत्महत्या गरेको समाचार गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साइप्रसका अध्यक्ष सुवास मल्ल र राजमाया सुनुवारले दिएको दैनिक नेपालले जनाएको छ ।



