प्रधानमन्त्रीले जहाज ल्याउँछु भन्दा किन जिब्रो थुत्ने ?

•बिनु पोखरेल
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक कार्यक्रममा नेपालले आफ्नो झण्डाबाहाक पानीजहाज प्रशान्त र हिन्द महासागरमा चलाउने र आफ्नै पानीजहाजले रेलसम्म सामान ओसारेर नेपालको अर्थतन्त्र बलियो बनाउने आफ्नो परिकल्पना सुनाए । काम र योजनाप्रति अक्सर प्रतिक्रिया मात्रै जनाउने र विगत लामो समयसम्म केही प्रगति हाशील नगरेका हामी भूतगामी नेपालीको चिन्तन परम्परासँग प्रधानमन्त्री ओलीका परिकल्पना मेल खाँदैनन् । यति सामान्य परिकल्पनामा पनि त्यसैले सामाजिक सञ्जालहरुमा उडन्ते सपनाका रुपमा उडाउने काम भइरहेको छ । सपनाका लागि बाक्लो निन्द्रामै सुत्नु पर्ने र विपनामा गोरुगाढा चढेका हामीलाई परिकल्पनाको जागृति अपत्यारिलो लाग्नु स्वभाविक हो ।

अहिले मात्र हैन हिजै देखि ओलीले बोल्ने हरेक कुरामा सामाजिक सञ्जालमा खिल्ली उडाउनेहरुको पंक्ति थियो । खिल्ली उडाउनु बाहेक उसको केही रचनात्मक सुझाव थियो त ? भनेर हेर्दा केही भेटिंदैन । बरु त्यही पंक्ति नेपालका विकास योजनाहरु विदेशीको स्वार्थ अनुरुप बनाउने कुराको वकालत गर्छ । संसारमा कुनै पनि देश वा क्षेत्र यस्ता छैनन् जसले नयाँ सपनाविना कुनै परिकल्पना साकार बनाएका होउन् ।

प्रधानमन्त्री ओलीले रेल ल्याउने योजना सुनाए, गाडी राम्ररी चलेका छैनन् रेलको कुरा गर्छ भन्ने कर्टुन बने, समाचार बने, स्टाटस त कति हो कति लेखिए । तर, त्यसका लागि केही पूर्वाधारहरु बनेका छन् र प्रतिपक्षीय राजनीतिको अवरोध यो भन्दा ठूलो हुन सकेन भने केही समयभित्र नेपालमा आन्तरिक र बाह्य रेल सञ्जाल जोडिने लक्षणहरु देखिएका छन् । सयौं वर्ष यस्तै भूतगामी गफाडी संस्कृतिले जकडिएको समाजले घोषणा गरेकै भोलिपल्ट नतिजा माग्छ भने त्यो सम्भव त छैन ।

फेरि कुनै पनि विषयलाई अतिरञ्जनामा आफू अनुकुल ब्याख्या गर्ने अपरिपक्व सञ्चार जगत हाम्रैमा छ । जसले ‘कुर्ता धोती लगाएकालाई’ संविधानले बिभेद गरेको झूठो समाचार लेख्छन् र संविधानले के भनेको छ भन्ने खोज्ने लेठो पनि गर्दैनन् । त्यही सञ्चारजगत हिन्द र प्रशान्त महासागरमा नेपाली झण्डाबाहक पानीजहाज चल्छन् भन्ने प्रधानमन्त्रीको भनाईलाई ‘नेपालमा पानीजहाज ल्याइदिन्छु’ भन्यो भनेर उद्धृत गर्छन् । हाम्रा मिडिया आफ्ना पूर्वाग्रहको रक्षाका लागि कति उडन्ते र हावा कुरा लेख्छन् र प्रधानमन्त्रीले घोषणा गरेको भोलिपल्ट खोई नतिजा भनेर प्रश्न सोध्छन् ।

नकारात्मकताका लागि हामी यति सिर्जनशील छौं, हाम्रा समाचारका हेडलाइन र कार्टुनहरुले एक एक बकिरहेका छन् । अनि सकारात्मक नतिजामा हामी उति नै उदासीन छौं । जव नेपाल लक्षित चीनियाँ रेल लान्झाउबाट सिगात्सेतिर लाग्यो, हामीले त्यो खबवर भोलिपल्ट मात्रै थाहा पायौं । यी दुई उदाहरणले हाम्रो नकारात्मकतिरको आकर्षणलाई जनाउँछ । कि हामी अझै राजनीतिक झगडा र बेमेलका समाचार लेखेर अरु केही शताब्दी विताउन चाहन्छौं ? किनभने हामी जुनसुकै कामको पनि नकारात्मकता कोट्याएर छताछुल्ल पार्ने र सकारात्मकतालाई अलपत्र पारिदिने खवरसंस्कृतिको अभ्यास गरिरहेका छौं । नत्र नेपालकेन्द्रित रेल लान्झाउबाट छुटेको समाचार पिपुल्स डेलीले छापेको भोलिपल्ट सारेर नेपालका सञ्चारमाध्यम ट्वाँ पर्ने थिएनन् ।

वस्तुपरक र तथ्यपरकतालाई हामीले आत्मसात गरेका छैनौं । कुनै पनि विषयवस्तुमाथिको प्रतिक्रिया तथ्यको जगमा नभएर कसले गरेको राम्रो कामको विरोध गर्ने र कसले गरेको नराम्रो कामको पनि समर्थन गर्ने भन्ने टुंगो लगाउँछौं । लाभजति भारतलाई र जोखीमीजति नेपाललाई हुनेगरी ठेक्का दिइएको द्रूतमार्ग नेपालले आफ्नै लगानीमा बनाउने निर्णयको विक्षमा आएका तर्कहरुको बाढी र रेल तथा पानीजहाजको सपनालाई उडाउने कामले यही वताइरहेको छ । नेपाल बदल्ने हो भने पहिले हामीले सोच्ने यस्तो तरिका बदल्नु पर्दैन ?

अव फर्काैं प्रधानमन्त्री ओलीले पानीजहाज किन्ने भनी गरेको परिकल्पनाको प्रसंगमा । यो गर्नै नहुने काम हो कि, गर्नै नसकिने काम हो कि ? नेपाललाई नोक्सान हुने काम हो कि ? कुन तर्कले यसलाई उडाउन मिल्छ ? फेरि यो कुरा त्यति नौलो पनि होइन । राजा महेन्द्रको पालामा नै नेपाली झण्डाबाहाक पानी जहाज नेपालले किनेको थियो । जुन सामान ओसारपसार गर्न प्रयोग गरिन्थ्यो । यसलाई अघि बढ्न नदिने नियतले जहाजको दोस्रो किस्ता तिर्न नसकेपछि पानीजहाज चलाउने नेपालको सपना त्यसबेला मरेको थियो ।

नेपाल हिजो पनि भुपरिबेष्ठित राष्ट्र नै थियो । २०२५ सालमा पानीजहाज मार्फत आफ्ना सामान ओसार्ने सोच अगाडि आएको थियो । कन्तिपुर प्रकाशनको नेपाल साप्ताहिकमा पत्रकार ईश्वरी ज्ञवालीले लिएको वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको त्यसबेलाको अनुभुतीले पनि यो तथ्य बाहिर आएको छ । त्यो बेला नेपालको बाटो हुँदै चीनियाँ सामान भारत गइरहेको तर भारतीय सामान चीन, पाकिस्तानसम्म पुर्याउन कठिनाई भैरहेको अबस्थामा यसो गर्दा भारतीय ब्यापार फस्टाउने देखि नेपाली झण्डा र लोगो भएको पानी जहाज चलाउने बनाइएको थियो । त्यसबापत नेपालले पनि केही आर्थिक सहयोग गर्नु पर्ने उसको प्रताव थियो ।

०२७ साल चैतमा नेपालले पानीजहाज प्रमाणपत्र र रोजनामचा ऐन २०२७ पारित गरी कानुनी रुपमा पानी जहाज किन्ने मार्ग तयार गरिएको थियो । त्यसपछि पहिलो किस्ता बुझाउने बितिक्कै नेपाली झण्डा फर्पmराउदै कोलकाता बन्दरगाहमा जहाज आइपुग्यो । यसको प्रमुख लगानीकर्ता रबि शमशेर राणा थिए । तर बाँकी रकम तिर्न नेपालको अर्थ मन्त्रालयले जवानी बस्न नमानेपछि भण्डै २२ दिन त्यही बन्दरगाहमा बसेर पानीजहाज त्यहीँबाट फिर्ता भएको कुरा त्यो विवरणमा उल्लेख छ ।

पृथ्बीनारायण शाहकी पत्नी नरेन्द्रलक्ष्मीको नामबाट नामाकरण गरिएको पानीजहाज चलाउने सौभाग्य गुमाएको नेपालमा आज प्रधानमन्त्री ओलीले पानीजहाजको योजना अघि सार्दा यत्ति उडाउनुको उद्धेश्य सकारात्मक पक्कै छैन । यसको परिकल्पनाकार ओलीलाई एउटा राजनीतिक इन्जिनियर मानेर सिंगो नेपाली संयन्त्र सिकर्मी र डकर्मीको रुपमा तयार रहनु पो यतिबेला आवश्यक थियो । स्पष्ट छ– कर्तब्यच्यूत र अधिकारको मात्रै रट लगाइरहने हामी समृद्धिको बाटोमा यहीं चुकेका छौं ।

समुद्री तटबाट एक हजार माइल टाढा रहेको भूपरिवेष्ठित देश मंगोलियाका २६० पानीजहाज समुद्रमा तैरिन्छन् । के हाम्रो देशका प्रधानमन्त्रीलाई नेपाली झण्डाबाहक पानीजहाज चलाउँछु भन्दा जिब्राे; थुतौंला झैं गर्नु पर्छ ?

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |