सामुदायिक भवन निर्माणामा स्थानीय
झापा | झापाको लखनपुर ४ र ५ मा रहेको गेउरीयामा सामुदायिक भवन निर्माणार्थ स्थानीयवासीहरु जुरमुराएका छन् ।
प्रारम्भिक चरणमा करिब ९० लाख रुपैयाँको लागतमा भवन निर्माणको काम भइरहेको छ । स्थानीयले भजन किर्तन गरेर र पुराण लगाएर जोह गरेको रकमबाट काम शुरु गरिएको हो । रकम पर्याप्त नभएका कारण धेरै जनशक्ति लाग्ने काममा निशुल्क जन श्रमदान गरिँदै आएको सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जीबन सापकोटाले बताए ।
१ सय ५० जनाभन्दा बढिले एकसाथ जनश्रमदान गरिहेका छन् । उनिहरुले निर्माणाधिन भवनको माटो सम्याउने, ढुङ्गा र बालुवा बोक्नेलगायतका कामहरु आफै गरेका हुन् ।
किर्तन मण्डलिले शुरु गरेको अभियान, स्थानीय भुवनेश्वरी मन्दिर हँुदै उपभोक्ता समिति निर्माणसम्म आइपुग्दा करिब १७ लाख रुपैयाँ खर्च भइसकेको र अब रकमको अभाव भएको सापकोटाले जनाए ।
निर्माण उपाभोक्ता समितिका कोषाध्यक्ष पुशुपतिराज भण्डारीका अनुसार ३ कठ्ठा जमिनमा फैलिएको सामुदायिक भवन निर्माणका लागि स्थानीयले देखाएको जागरुपतालाई मूर्त रुप दिनका लागि आफूहरुले गोजिको रकम खर्च गरेर भएपनि धमाधम रुपमा काम अघि बढाइएको हो ।
बिभिन्न निकायहरुमा बजेट माग गरिएपनि अहिलेसम्म दुई लाख रुपैयाँ जिविस मार्फत आउने भएको र बाँकी सबै रकम उपभोक्ताबाट नै संकलन गरिएको भण्डारीको भनाई छ ।
यहाँ अधिकांश विपन्न समुदायका किसान भएकाले ठूलो आम्दानीको श्रोत स्थानीय उपभोक्तासँग नहुँदा जनश्रमदान जुटाएर काम गरिँदै आएको छ । एक वर्षभित्रमा हल निर्माण गरिसक्ने उद्देश्य अनुरुप काम भइरहेको निर्माण उपभोक्ता समितिका सचिव युवराज अधिकारीले जनाए ।



