केचना टु माउन्ट एभरेस्ट

नेपालको होचो ठाउँ झापाको केचना समुद्री सतहबाट ७० मिटर उचाइमा रहेको छ । त्यही होचो ठाउँ आसपासका तन्नेरी २४ वर्षीय अनिश लुइँटेलले भर्खरै विश्वकै सर्वोच्च शिखर माउन्ट एभरेस्टमा पाइला राखे । समुद्री सतहदेखि ७० मिटरमा रहेको केचनादेखि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथामा पाइला राखे । होचो ठाउँको माटो सर्वोच्च शिखरमा पोखे । बेस क्याम्पबाट हिँडेको करिब महिना दिनपछि अर्थात् गएको जेठ ८ गते बिहान ५ बजेर २७ मिनेटमा अनिशले माउन्ट एभरेस्ट समिट गरे । अघिल्लो रात ८ बजे उनको टोली समिटका लागि निस्केको थियो ।

१८ जनाको टोलीमा उनी एक्ला नेपाली थिए । अरू सबै विदेशी । ‘रातभरि हिँडेर बिहानै चुचुरोमा पुगियो,’ अनिशले अनुभव साटे । समिटपछि धित मरुन्जेल हाँस्ने उनको इच्छा थियो । तर, हाँस्न सकेनन् । बरु मज्जाले रोए । ‘ज्यादै भावुक बनेछु त्यति बेला,’ अनिशले सुनाए, ‘सायद खुसीको आँसु थियो त्यो ।’ सगरमाथाको चुचुरोमा उनले करिब ३५ मिनेट बिताए । पहिला राष्ट्रिय झन्डा फरफराए । त्यसपछि नेपालको संविधान सार्वजनिक गरे । अनि स्काउट र जेसिसका झन्डाहरू हल्लाए । चुचुरोबाट जमिनतिर नियाले । साना साना थुम्का र बाक्लो बादलबाहेक केही देखेनन् । ‘जमिनका घरहरू देखिन्छ होला भन्ने सोचेको थिएँ,’ उनले भने, ‘तर, केही देखिँदो रहेनछ ।’ स्कुले जीवनकालदेखि नै अनिशलाई सगरमाथा चढ्ने हुटहुटी भयो । सगरमाथा चढ्छुभन्दा धेरैले पत्याएनन् ।

घरमा पनि पत्याउने कुरै थिएन । स्कुले हुँदा स्काउटका अभियन्ता थिए । एडभेन्चरप्रति अनिशको असाध्यै धेरै रुचि थियो । ‘अरूले गर्नै नसक्ने काम गर्न मन लाग्थ्यो,’ अनिशले आफ्नो स्वभाव सुनाए, ‘स्कुलमै हँुदा सगरमाथा चढ्न मन लागेको थियो ।’ सानैदेखिको इच्छा बल्ल पूरा गरे अनिशले । केही समयअघि सामान्य तन्नेरी उनी अहिले रातारात चर्चित बने । बधाईको ओइरो छ । हालै प्रधानमन्त्री केपी ओलीले उनलाई निवासमा बोलाएर बधाई दिए । कानुनमन्त्री अग्नि खरेलले अनिशको स्वागतमा कार्यक्रमै आयोजना गरे । धेरै युवा रोजगारीका लागि विदेश भासिरहेका छन् । उनलाई विदेशप्रति मोह छैन । बरु, स्वदेशमै केही गरांै भन्ने छ । विदेशिएका र कुलतमा फसेका युवामा सकारात्मक सोच अभिवृद्धि गर्ने अभियानका साथ उनी सगरमाथामा चढेका हुन् । ‘म सम्पूर्ण नवयुवाको प्रतिनिधित्व गर्दै सगरमाथा चढेको हँु,’ उनी भन्छन् । दुई वर्षअघि अनिशले ६ हजार १ सय ६० मिटर अग्लो ‘आइल्यान्ड पिक’ को समेत सफल आरोहण गरेका थिए ।

‘आइल्यान्ड पिक चढिसकेपछि सगरमाथा चढ्ने प्रेरणा मिल्यो,’ उनले भने । आइल्यान्ड पिक चढेपछि उनलाई लागेछ, अब सगरमाथा पनि चढ्छु । जसरी भए पनि सगरमाथामा पाइला टेकेरै छाड्ने औडाहा भयो उनलाई । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैं उनलाई सगरमाथा चढाउने अभियानमा सिंगो झापा एकढिक्का भएर उभियो । उद्योगी व्यवसायी, संघ संस्था, सञ्चारमाध्यमले आर्थिक सहयोग गरे । त्यसैले आज अनिशले नेपालकै होचो केचनाको नाम विश्वकै अग्लो सगरमाथामा पुर्‍याउन सके । -कान्तिपुर

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |