युएईमा, झापाली र स्याङ्जालीको भिडन्त

युएई । तीज आउन तीन महिनाअघि नै युएईमा तीजको तयारी तीव्र भएको छ । रोजगारीका सिलसिलामा युएई आएका नेपाली चेलिबेटीहरु रातो साडी, चोलो तथा छड्के तिलहरीको जोहो गर्न थालेका छन् । विभिन्न सामाजिक संस्थाहरु दर खुवाउनका लागि होटल तथा क्याटरिङको व्यवस्था गर्न थालिसकेका छन् ।

गीत संगीत त तीजकोे मुख्य आकर्षण नै हो । विभिन्न सामाजिक संस्थाहरु तीजकै अवसर पारेर नेपालबाटै चर्चित कलाकार ल्याएर तीजलाई भव्यताका साथ मनाउन कम्मर कसेर लागेका छन् । दुबई तथा अबुधाबीका नेपालीहरुले सांगीतिक कार्यक्रम आयोजना गर्ने होटलका हलहरु बुक भइसकेका छन् ।

तीजको अवसर पारेर नेपालबाटै कलाकार ल्याएर धमाका गर्नेहरुमा स्याङ्जा सेवा समाज र झापाली समाज युएई चर्चामा छन् । स्याङ्जा सेवा समाजले आगामी सेप्टेबर २ शुक्रबार तीज मेला कार्यक्रमको आयोजना गरेको छ भने झापाली समाजले पनि सोही दिन भव्य सांस्कृतिक कार्यक्रम गर्न लागेको छ ।

स्याङ्जाले चर्चित लोकदोहोरी गायक पशुपति शर्मा अनि गायिका दुर्गा गुरुङलाई युएईको मञ्चमा उतार्दै छ भने झापाले रेखा थापा फिल्म्सको ब्यानरबाट नेपाली संगीतमा चर्चाको शिखर चढ्दै गरेका गायक तथा संगीतकार टंक बुढाथोकी र पपगायक तारावीर पाण्डेलाई बोलाउने भएको छ । झापाले अर्का एक कलाकार पनि थप गर्ने बताएको छ ।

स्याङ्जाले युएईमा रहेेका चर्चित कलाकारहरु गोपीकृष्ण पंगेनी, हरि डुम्रे, छविकिरण भट्टराई, दिपक गुरुङ लगायत अन्य कलाकारहरुको प्रस्तुति रहने बताएको छ । झापाले पनि आफ्नो समाजका लोकप्रिय कलाकारहरु पारस लामा, उर्मिला बस्नेत, मुना बुढाथोकी, निलाम्बर भट्राई, गोप्स खतिवडा, संजोक लामा, धर्मराज शिवाकोटीको प्रस्तुति रहने बताएको छ ।

स्याङ्जाले बरदुबइस्थित होटेल हवार्ड जोनसनमा कार्यक्रमको आयोजना गरेको छ भने झापाले बरदुबई पारि आब्रा किनारैमा रहेको होटल काल्टनमा कार्यक्रम गर्न लागेको बताएको छ ।

स्याङ्जा सेवा समाजले उक्त कार्यक्रममा नेपाली बाद्यबादनको साथमा प्रत्यक्ष तीज गित, तीज विशेष गीति नाटक साथै नेपाली पञ्चेबाजा सहित पृथक किसिमको प्रस्तुति हुने दाबी गरेको छ । झापाले लोक दोहोरी, नृत्य तथा हाँस्यव्यंग्यको त्रिवेणी हुने बताएको छ ।

२०११ मा स्थापित स्याङ्जा सेवा समाजले विगतमा पनि विभिन्न कार्यक्रमहरु गरी राहत संकलन गर्दै दुःखी, गरिब, रोगी तथा विपत्तिमा परेकाहरुलाई सहयोगका साथै पछिल्लो समयमा आधुनिक शिक्षाका लागि कम्प्युटर अभियान अन्तर्गत जिल्लाका विभिन्न सरकारी स्कुलमा कम्प्युटर वितरण गरेको छ । गत तिहारको भाइटीकाका दिन स्थापित झापाली समाज सामाजिक कार्यमा सक्रिय हुँदै, खेलकुद तथा जनचेतनामुलक कार्यमा अग्रपंक्तिमा दरिदै आएको छ ।

स्याङ्जा सेवा समाजले संकलित रकम विपन्न वर्ग तथा स्वास्थ्य, शिक्षा क्षेत्रमा सहयोग गर्ने र आकस्मिक राहत कोषको पनि स्थापना गर्ने समाजका केन्द्रय सदस्य ओमकार पोख्रेलले बताएका छन् ।

झापाली समाजले बेसहारा बालबालिकाका लागि स्थापना गर्न लागिएको १० लाखको अक्षयकोषको सहयोगार्थ यो कार्यक्रम गर्न लागेको आयोजक समितिका संयोजक रोहित भण्डारीले बताएका छन् ।

झट्ट सुन्दा झापाली र स्याङ्जालीबीच प्रतिस्पर्धा हुने देखिए पनि दुबै कार्यक्रम सौहाद्र वातावरणमा हुने र दुबै समाजले एकले अर्कालाई सहयोग तथा सहकार्य गर्दै जाने सहमति भएको बताइएको छ । -रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |