नेपालमा जुरासिक पार्कको झल्को दिने फनपार्क

काठमाडौं । चोभारमा बुधबारदेखि हुप्पील्याण्ड एम्युज्मेन्ट पार्क सञ्चालनमा आएको छ । अल्टिच्यूट इनोभेशन प्रालिले २५ करोड रुपैयाँको लगानीमा निर्माण गरेको वाटरपार्क बुधबारदेखि संचालनमा ल्याएको हो ।

रिङरोडबाट साढे तीन किलोमिटर टाढाको दुरीमा सुरु भएको ‘हुपील्याण्ड एम्युजमेन्ट एण्ड वाटर पार्क’ मा स्विमिङ पुल, पानीका फोहोरादेखि मनोरञ्जनका लागि विभिन्न साधन राखिएका छन् ।

पार्कमा नेपालमै पहिलो पटक रेन्जर स्वीङ र डाइनोसर पार्क सञ्चालनमा ल्याइएको हो । रेन्जर र डाइनोसर पार्क नै पार्कको मुख्य आकर्षणको विन्दु हुने कम्पनीले जनाएको छ । डाइनोसर पार्कमा सानो नदी छ । त्यसमा रहेको डुंगामा ४ जना अटाउँछन् ।

डुंगा पानीमा आफैँ बग्दै गुफा र जंगल बीचबाट अघि बढ्छ । मान्छे नजिकै पुगेपछि डाइनासरले आवाज निकँलछ । ५ वटा डाइनोसर कटेपछि वनमान्छे देखिन्छ । डाइनोसरको पालोपछि मानव जातिसम्मको विकासक्रमबारे यसले जानकारी दिने कोसिस गर्ने कम्पनीले जानकारी दिएको छ । योसिहत वाटरपार्कमा एम्युजमेन्ट राइडका विभिन्न १७ किसिमका सुविधाहरु पनि छन् ।

मनसुन अफरमा अहिले वयस्कका लागि ४९५ र बालबालिकाका लागि २९५ रुपैयाँ तोकिएको छ । प्रवेश शुल्क तिरेपछि अरु कुनै पनि शुल्क लाग्दैन ।

लगानीकर्ताले जुरासिक पार्कको झल्को दिने गरी पार्क तयार भएको जानकारी दिए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |