आमा टाउको मात्रै देखाएर रोइराख्नु भाथ्यो
प्युठान | राति एक्कासि घरभित्र पहिरो आएको थाहा पाएपछि ११ वर्षीया सरस्वती मल्ल हत्तपत्त उठिन्। उनी उठ्दा भुइँमा सुतेका बाबु, आमा र बहिनीहरू आधा डुबिसकेका थिए। सरस्वतीले खाटमा सँगै सुतेका भाइलाई पहिले झ्यालबाट बाहिर निकालिन्। अनि आधा शरीर डुबिसकेका बाबुलाई तान्न खोजिन्। केही जोर चलेन।
फेरि टाउको मात्रै देखिएकी आमालाई अँध्यारोमा छामछुम गर्दै निकाल्न खोजिन्, तैपनि जोर चलेन। बहिनीहरूलाई त उनले बिहान मात्रै पुरिएको देखिन्। अन्नपूर्ण पोस्टमा गजेन्द्र बोहराले समाचार लेखेका छन्।
‘बालाई तानें, निकाल्नै सकिनँ', मंगलबार दिउँसो लहरै सुताइएका आमा, बाबु र बहिनीहरूको शव हेर्दै भक्कानिइरहेकी सरस्वतीले भनिन्, ‘बहिनीहरू सप्पै पुरिइसकेका रैछन्, बिहानमात्रै देखिए।' करिब २ बजेतिर उनी चिच्याउँदै बाहिर निस्केपछि गाउँले जम्मा भएका थिए।
साँझ उनीहरू घरभित्र भुइँमा लहरै सुतेका थिए। सोमबार दिउँसैदेखि घनघोर पानी परिरहेको थियो। प्युठानको रजवारा-३ की सरस्वती र उनका ९ वर्षीय भाइ खाटमा सुतेका थिए। बुबा, आमा र तीन बहिनी लहरै भुइँमा सुतेका थिए। दुई दाजु भने आफन्तका घरमा गएका थिए।
आफन्तका घरमा सुत्न गएका उनका जेठा दाजु १४ वर्षीय वसन्त मल्लले पनि बिहान मात्रै यो सबै थाहा पाए। साँझ सँगै सुतेका तीन बहिनी र बाबुआमा बिहान आउँदा शव बनिसकेका थिए। उनैले बाबु, आमा र बहिनीहरूको किरिया गर्ने भएका छन्। ‘दाइहरू अन्त सुत्न गएका थिए। म र भाइ खाटमा सुत्यौं। आमाहरू तल भुइँमा सुत्नुभयो', सरस्वतीले भनिन् ‘राति केके भयो, केही थाहा पाइनँ। बहिनीहरू रोएको मात्रै सुनें। आमा पनि टाउको मात्रै देखाएर रोइराख्नु भाथ्यो।'
सरस्वतीको परिवारमा ९ जना थिए। चार दिदीबहिनी, तीन दाजुभाइ, बुबा र आमा। बुबाआमा र तीनजना बहिनीलाई पहिरोले पुरेपछि अब यी नाबालक मात्रै छन्। गाउँले र आफन्तले उनीहरूलाई आ श्रय दिइरहेका छन्। उनीहरू सबै एकदुई वर्षको अन्तरमा जन्मिएका हुन्। ‘खै, कतिबेला आमाहरूलाई पुरिसकेको रैछ, मैले पनि केही चाल पाइनँ। भाइ रुन थालेपछि बल्ल उठें, सरस्वतीले भनिन्,‘गाउँमा चिच्चाउँदै दौडें अनि बल्ल मान्छे आए।'
सोमबार राति खसेको पहिरोमा परी उनका बाबु ४१ वर्षीय दुर्गा मल्ल, आमा सीता मल्ल, बहिनीहरू १० वर्षीया सुशीला मल्ल, ४ वर्षीया लेखा मल्ल र ४ वर्षीया सिर्जना मल्लको ज्यान गएको छ। प्युठान सदरमुकामबाट रजवारासम्म पुग्नका लागि यातायातको समेत पहुँच छैन।



