विदेशमा बसेर सेल्फी फोटो खिच्दै कति झुक्याउने ?

प्रिय साथी,

सोसल मिडियामा तिम्रो सेल्फीमा जोड़तोड़का साथ लाइक र कमेन्ट आइरहेको देखेँ । विशेषगरि नेपालमा भएका पहिलोपुस्ताका नानी बाबुहरुको मोह भंग गर्ने गरी तिमीले भड्किलो सेल्फी खिचेर सामाजिक मिडियामा अपलोड गर्दा त्यसले कस्तो तरंग पैदा गर्छ भन्ने कुराको कत्ति पनि अड्कल गरेनौ है ?

हो साथी ! तिम्रो व्यक्तिगत जीवनप्रति मलाई कुनै डाह छैन र हुने पनि छैन, किनकी म पनि अरुकै मुलुकमा छु, मैले पनि धेरैथोरै जिम्मेवारी लिन्छु तर विदेशमा बसेको भन्दैमा बिलासी फोटो पोष्ट गरेर हामीले आफैले आफैलाई सुख सम्राट घोषणा गरेपनि त्यो तिम्रो हाम्रो झूठको पुलिन्दाबाहेक केही होइन भन्ने मेरो ठहर हो ।

के तिमीले कहिल्यै सोचेका छौ– तिमीले दिनरात गधाले जस्तै काममा जोतिएर अर्को दिन छुट्टीको दिनमा फूलै फूलको बगैचामा खिचेको सेल्फीमा ओकलेको कृत्रिम हाँसोले नेपालमा तिम्रा–हाम्रा छोराछोरीलाई अनि भाइ–भतिजलाई कस्तो असर पुग्छ भनेर ? आज हाम्रै बनावटी हाँसो देखेर दुई( चार कक्षामा पढ्ने कोमल नानी बाबुहरु पनि अमेरिका–युरोपकै सपना देख्छन् । ठूलो भएपछि बाबा र अंकल जस्तै युरोप र अमेरिका जाने हो भन्छन् ।

हो, तिमी हामीले होटलमा भाँडा माझेको फोटो पोष्ट गर्दैनौँ, ग्यास स्टेशनमा पम्प पुछ्दै गरेको, बढारेको फोटो पोष्ट गर्दैनौँ, ट्याक्सी ड्राईभर भएर गोरे–काले ग्राहकले गरेको भोमिट सोहोर्दै गरेको फोटो पोष्ट गर्दैनौँ ,केयर गिभर भएर बुढाबुढीको आची पुछेको फोटो पनि पोष्ट गर्दैनौँ, कामले लखतरान भएर आउँदा खाना पकाउन नसकेर भोकै सुतेको स्टाटस पनि हाल्दैनौँ । बरु म्याकडोनाल्डको कफी बोकेको, बर्गर खाँदै गरेको, पार्क घुमेको र सुरापान गरेको तस्बीर मात्र पोष्ट गर्छौँ अनि भन् नेपालमा बसेका कोमल नानी बाबुहरुले बिदेशको सपना किन देख्दैनन् ?

किन तिमी हामी काम नपाएर पुल मुनी सुतेको, कलेज फी तिर्न नसकेर घरमा बा–आमालाई ऋण काढेर पैसा पठाउन लगाएको स्टाटस पनि अपडेट गर्दैनौँ ? तिमी धेरै युवाहरु दुर्ब्यसनमा लागेर बिग्रेको स्टाटस पनि पोष्ट गर्दैनौ । किनकी यो सब गर्न तिमीलाई लाज लाग्छ, हैन र ?

हो महोदय ! देशमा भरिपूर्ण हुने हो भने कसैलाई विदेश धाउनैपर्ने थिएन, तिम्रो हाम्रो यो बाध्यता हो, तर भोलि देशका कर्णधार हाम्रा कलिला सन्तानलाई पनि बनावटी भड्किलो जीवनशैली देखाएर बिदेशकै भूत चढाउनु हाम्रो अपराध हो कि होइन ? तिमी हामीले नजानेरै ठूलो अपराध गरेका छौँ, हामी विदेश भाँसियौँ, ठीक छ तर अचेल गाउँमा हाम्रै भड्किलो सेल्फीको कारणले मलामी पाइन छाड्यो, खेतबारी बाँझो भइसके । हामीले पठाएकै रेमिट्यान्सले हाम्रा श्रीमती अल्छी भैसके, छोराछोरी शौखिन र दुर्ब्यसनी भइसके । देश पनि परनिर्भर भइसक्यो, यो कुरा कहिल्यै सोचेका छौ ? छैनौँ भने आजैदेखि सोच्न शुरु गरौँ न है !

ठीक छ, हामी दशै तिहारमा एक्लै रोएको फोटो अपलोड गर्न सक्दैनौँ, बैंकको किस्ता कति बाँकी छ भन्ने स्टाटस पनि लेख्न सक्दैनौँ, हामी दश बर्ष बिदेश बस्दा हाम्रो पारिवारिक सम्बन्धमा भुइँचालो गएको कुराको कथा पनि लेख्न सक्दैनौँ, बिरामी बाबा आमालाई एक गिलास तातोपानी तताएर दिन नसकेको पीडा पनि लेख्न सक्दैनौँ, त्यसैले बिन्ती छ ती नेपालका आफन्त, साथीभाइ र कोमल केटाकेटीको मन भड्काउने सेल्फी मात्रै अपलोड नगरौँ, त्यो बनावटी हाँसो फ्याँकेर झूठको पूलिन्दा नबनाऊँ न है !

हामीलाई अफगानिस्तानमा आत्मघाती हमलामा निर्दोष दाजुभाइ मरेको कुराले पिरोल्न छाडेको दिनदिनै काठको बाकसमा कैद भएर आएका मर्मस्पर्शी दृष्यहरु नजरअन्दाज गर्ने बानी परेको छ, अझै पनि मलेशियामा नेपाली श्रमिकहरुको लाजमर्दो अवस्थाका बारे हामी किन लेख्दैनौँ ? अनि किन मृत्युपथबाट अमेरिका युरोप छिर्नेहरुले दुखको कथा लेख्दैनौँ ? अनि हाम्रो फिस्स हाँसेको सेल्फीलाई झूठको पुलिन्दा नमानेर के मानौ महोदय !

हो, विदेशमा सबैले दुख पक्कै पाउँदैनन् तर एकपटक सोँचौँ यो तिम्रो हाम्रो छालाको रंगले कुनै गोरे कालेहरुले हामी यही जन्मेको भनेपनि पत्याउँदैनन् ,तिम्रो हाम्रो जिभ्रोले उनीहरुले जस्तै फड्कारेर अंग्रेज़ी बोल्न पनि सक्दैन, त्यसैले हामीले जति सुनौला सेल्फी पोष्ट गरेपनि सपना यहाँको देख्दैनौँ , सपनामा हामीले आफ्नै देश देख्छौँ, डाँडाकाँडा र अँध्यारो देख्छौँ, हामी यहाँको बर्गर पिजा होइन, सपनामा त आफ्नी आमाले पकाएको पानी रोटी देख्छौँ महोदय ! बरु बिदेशमा भएर स्वदेशमा के प्रविधि लैजान सकिन्छ, त्यस्तो कुराको खोजी गरौँ, हामीले पठाएको रेमिट्यान्सलाई कसरी उत्पादनशील काममा लगाउन सकिन्छ, त्यसबारे सोँचौँ, बिन्ती छ ।

विदेशीले गरेका प्रगति र उन्नतिका कुरा लेखौँ, बिदेशमा गरिने मेहनत र पसिनाका कुरा लेखौँ, जसले गर्दा छोरा छोरीहरुलाई स्वदेशमै केहि गर्ने प्रेरणा बनोस । राजनीतिलाई राम्रो बनाउन हाम्रा छोरा छोरीलाई पनि परोपकार र समाजसेवा गर्न प्रेरित गरौँ, जो जसरी आए पनि विदेशमा तिमी हामी सबै शरणार्थी नै हो, स्वदेशमा भरिपूर्ण भएर कोही पनि विदेश आएको हुँदैन, तिमी हामीलाई रातो कार्पेट बिछ्याएर बाराक ओबामाले ज्वाँई या बुहारी भित्र्याएसरी भित्र्याएका होइनन् । महोदय, त्यसैले किन झूठको पुलिन्दा बनाइराख्नु र ?

थाहा छ महोदय, अचेल छरछिमेकमा विदेश भएकालाई छोरा वा छोरी दिने चलन ह्वात्तै बढेको छ, के काम गर्छ, कसरी बस्छ, त्यसको कसैलाई मतलब छैन, यसले गर्दा भोलि स्वदेशमा भएकाहरुले त बिहे गर्नै मुश्किल पर्ने छ, बरु यताको इन्टक्सिकेटेड जीवनशैली, अस्थिर पारिवारिक सम्बन्ध, समलिंगी सम्बन्ध र एकलकाटे परिबेशलाई पनि स्टाटसमा हाल्ने गरौँ, यताका कुमारी आमा, अल्लारे केटाकेटी र बुढेसकालको केयर होमको मुढो जस्तो जिन्दगीको बारेमा पनि केहि लेख्ने गरौँ, भोलि सन्तानहरु सचेत हुन सक्छन् । कति खिस्स हाँसेर रक्सीको गिलास चियर्स गरेको फोटो मात्र अपलोड गरेर झूठको पुलिन्दा बनाइरहने ?

गत सालको कुरा सम्झेँ, विदेशमा मरिहत्ते गरेर काम गरि स्वदेश फर्क्यौ, साथीभाइ जम्मा गर्यौ, जाँड पार्टी चलायौ, गाउँमा बचे खुचेका दुई चार जना साथीहरुलाई विदेश जाने काउकुती लगायौँ, तर त्यही बेला कुनै अनाथाश्रम जान सोचेनौँ, कुनै बृद्दाश्रम गएर एक छाक खाना खुवाउने चेष्टा गरेनौँ, भुइँचालोले देश भत्किएर खण्डहर भएको बेला तिमीले नागरिकले गर्ने एउटा पनि दायित्व पूरा गरेनौँ, जतिबेला आफ्नो कलकलाउँदो जोवन अनाथ लागि सुम्पनेहरु तिम्रो बाटो हेरिरहेका थिए, अनि भन् तिम्रा हाम्रा भड्किला सेल्फीको म कसरी बयान गरुँ महोदय ?

जति लेखे पनि कुराहरु उनै हुन् , झट्ट सुन्दा तिमीलाई खरो लाग्ला तर समय आएपछि यहि मेरो चिठ्ठी पटकपटक पढ्नेछौ, त्यो पश्चातापको आगोमा जल्नुभन्दा पहिले आफूलाई परिमार्जित गरौँ, सन्तानहरुको सुनौलो भोलि बनाउनका लागि हामीले जान अन्जानमा गरेका गल्तीहरुलाई बेलैमा सच्याऊँ है !

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |