सप्तरीमा भारतले बनाएको बाँध नेपालीले भत्काए पछि तनाव

राजविराज । सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको बाँध नेपालीहरुले भत्काइदिएका छन् ।

भारतीय पक्षले नेपाली पक्षसँग समन्वय नै नगरी खाडो नदीमा बाँध बनाउन थालेपछि स्थानीय विरोधमा उत्रिँदा बिहीबार दिनभर तनाव सिर्जना भएको छ ।

दुबै पक्ष बाँसको भाटा बोकेर नदी क्षेत्रमा पुगे । नेपाली पक्षले नदी थुन्न बोराहरु राखेर बनाएको बाँध भत्काउँदा सीमापारी कुनौलीका वासिन्दा जाइलाग्न आएका थिए ।

त्यसक्रममा सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गर्दै झडप भएको छ । झडपमा तीन नेपाली घाइते भएका छन् । झडपमा तिलाठी निवासी पूर्व जिविस सदस्य देवनारायण यादव र रोशनकुमार झालाई टाउकोमा चोट लागेको छ । सीमा क्षेत्रका वासिन्दाबीच ढुंगा हानाहान भएको छ ।

नेपालीहरुले बिहानैदेखि बाँध भत्काउन गए पनि भारतीय पक्षका बासिन्दा धेरैभएपछि त्यत्तिकै फर्केका थिए । दिउँसो नेपाली पक्षको संख्या धेरैभएपछि बाँधमा राखिएको बाँस, बालुवाको बोरा झिकेर फालिदएका छन् ।

स्थानीयका अनुसार गत शनिबारदेखि भारतीय पक्षले एकतर्फी बाँध निर्माण गरेको थियो । भारतले नेपाल-भारत सीमा स्तम्भलाई आˆनो भूमिभित्र पारेर बाँस तथा बोरामा भरिएका गिट्टी प्रयोग गरी बाँध बाँधेको छ ।

यो बाँध निर्माण भए नेपालतर्फ खाँडो खोला र वर्षाको पानीको निकास थुनिनेछ र तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी, बरसाइन, हनुमाननगर लगायतका गाविस डुबानमा पर्ने भएपछि स्थानीय आक्रोशित छन् । अनलाईनबाट

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |