दमक नगरपालिका थप अनुदान पाउनबाट बञ्चित

झापा | झापाको दमक नगरपालिका न्युनतम शर्त कार्यसम्पादन तथा मुल्याङकनमा कमजोर भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको मापनमा आर्थिक बर्ष २०७१/०७२ को न्युनतम कार्यसम्पादन तथा मुल्याङकनमा कमजोर देखिएको हो ।

यससंगै दमक नगरपालिकाले पाउने १० प्रतिशत अनुदानबाट समेत नगरपालिका बञ्चित भएको छ । त्यस किसिमको मुल्याङकनमा बुट्बल प्रथम, धनकुटा नगरपालिका दोस्रो र हैटौंडा उपमहानगरपालिका तेस्रो भएका छन् ।

सरकारले स्थानीय निकायलाई तोकेको न्युनतम अनुदानका अतिरिक्त त्यहाँको जनसंख्या, विकासको स्तर, राजश्व परिचालन गर्न सक्ने क्षमता, आय व्ययको नियमित अभिलेख कार्य, लेखापरिक्षणको स्थिती, आर्थिक अनुशासन जस्ता आधारमा थप अनुदान उपलब्ध गराउने व्यवस्था छ ।

स्थानीय निकाय वित्तीय आयोग समेतको सिफारिस समेत लिई न्युनतम शर्त र कार्य सम्पादन सुचकका समेत आधारमा मुल्याङकन गरि अनुदानमा घटबड हुने गर्दछ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणमा जनाइए अनुसार दमक नगरपालिकाले पुरा गर्नुपर्ने न्युनतम शर्त तथा कार्यसम्पादन मुल्याङकन कमजोर देखिएको छ । दमक नगरपालिका केही बर्ष अघि देशकै उत्कृष्ट कार्य सम्पादन गर्ने नगरपालिकाका रुपमा दर्ज भएको थियो । त्यसयता लगातार दमकको साख गिर्दो अवस्थामा छ । यसैगरी जिविस तर्फ झापा जिल्लाले समेत त्यस किसिमको मुल्याङकनमा कमजोर नतिजा निकालेको छ । यसले जिविस झापाले समेत सरकारबाट पाउने थप अनुदानबाट बञ्चित हुनुपरेको छ । गत वर्षको भन्दा केही सुधार गरेको स्थानीय विकास अधिकारी खेमराज ओझाले जिकिर गरे ।

उनले भने– एमसीपीएम उर्तीण गरेको छ तर डिस्टिक्सन ल्याउन सकेन् । हाम्रो बजेटको २० प्रतिशत सम्म कटौती हुन सक्छ । यसैबीच धनकुटा जिल्ला देशभरकै उत्कृष्ट हुदाँ पाँचथरले तेस्रो स्थान ल्याउन सफल भएको छ । जिल्ला विकास समितितर्फ ८७ अंक प्राप्त गरेर धनकुटा जिविस सर्वाेत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय निकाय ठहरिएको स्थानीय विकास मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिए । देशभरमा १८ सय २२ गाविसले न्युनतम् सूचक पूरा गरेका छन् भने परिणाम अनुसार ६८ वटा जिविस, ४८ वटा नगरपालिका पनि एमसीपीएमको नतिजामा उत्तीर्ण भएका छन् । स्रोत : कोशी खबर

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |