ए साँच्चै सरकार ! शहीद को हो : झण्डा जोगाउने कि झन्डा जलाउने ?
- सरगम भट्टराई | सानो छँदा शहीदका बारेमा पाठ्यपुस्तकमा पढ्दा आँशु भरिएर आउथ्यो मेरो । जनताको निम्ति लड्दै गर्दा निर्दयी शासकहरुले त्यति बेला ती योद्दाहरुलाई गोली हानेर वा झुन्ड्याएर मारेको घटना पढेँ भने म अझै पनि भाव बिह्वल हुन्छु । म पनि देशको लागि मर्न पाए हुन्थ्यो भनेर मनमनै प्रतिज्ञा गर्छु, त्यसैले परदेश भएपनि पलपल देश दुखेको देखेपछि लेखेको लेख्यै गर्छु ।
पन्चायती ब्यवस्था फ्याक्ने बेला अर्थ नै नबुझी कालो झण्डा रुख रुखमा बाँधियो । जनआन्दोलन-२ मा लोकतन्त्रका लागि रगत नै नबगाएपनि पसिना राम्रै बगाईयो। तत्कालीन शाही राजाको पुत्ला बनाएर जलाईयो, कबिता र लेखमा दमदार बिरोध जनाईयो तर देशको सान, स्वाभिमान र चिनारी राष्ट्रिय झण्डा जलाईएन ।
गणतन्त्र आयो, के के न होला भनेको जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन त भएन तर पक्कै हुन्छ, संक्रमणकालमा यस्तै हो भनेर जनताले सहिरहेकै छन । सरकार फेरबदल, भिआईपी उत्पादन, भनसुन, भ्रष्टाचार र असमान संधि सम्झौताले बिकासका सूचक अघि नबढेपनि जनताले धैर्य गर्नुलाई शासकहरुले कमजोरी ठानेका छन भने त्यो तीनीहरुको ठूलो भूल हो र हुनेछ ।
प्रसंग शहीदकै कोट्याउन चाहन्छु, मैले सानो छँदा पढेको बुझेको शहीद र अचेलका दिनैपिच्छेका शहीद बिचको अन्तर नबुझेर म धेरै पटक गुगल गर्छु, तर मैले पढेको शहीदको पुरानो अर्थ नदेखेर म अवाक्क हुन्छु । शहीदका लिस्टमा राष्ट्रिय झण्डा जलाउने देखि आत्महत्या गर्ने सम्मका मान्छेहरु र सुरक्षाकर्मीलाई जिउँदै जलाउन खोज्दा मुठभेड़मा मारिएकाहरु पनि अटाएको देखेँ । अझ हेर्दै जाँदा सिमापारीबाट सुरक्षाकर्मीलाई ढुंगा हान्दै गर्दा मारिएका आयातित खेतालाहरु पनि शहीदको लिष्टमा हुनुपर्छ भन्नेहरु देख्दा त उदेक लागेर आयो ।
म पूरै भौतिकवादी होईन, आध्यात्मिकतामा बिश्वास गर्छु, कसैलाई अन्जानमा केहि भन्दा नराम्रो भनेकै रहेछु भने मैले भगवानसँग माफ़ी माग्नुपर्छ र माँग्छु: आन्दोलनमा मर्नेलाई पचास लाख दिन्छु भनेर होमिएका बाहेक राज्यले जालसाज़ी र बिभेद गरेर मारेको रहेछ भने तिनीहरुको श्राप मलाई नलागोस नत्र भने संबिधान शंसोधनको दस्तावेज़ हुँदा हुँदै, धेरै कुराहरु समेटिएको हुँदा हुँदै पनि परिवर्तनको नाममा आतंक मच्चाउनेहरुलाई शहीद मान्न म र म जस्तै धेरै मान्छेहरु तयार छैनन । यो कुरा हिजो जनयुद्दको नाममा धनयुद्द चलाउँदा मरे मारेकाहरुमा पनि लागु हुन्छ । आफ्नै दाजुभाइको शिर छेदन गर्नेलाई शहीद हैन भाइमारा भन्छु म, तीनै भाइमारालाई सरकारले भटाभट शहीद घोषणा गर्दै दश दश लाख बाँड्दै जाने हो भने दशरथ चन्द र गंगालालले श्राप दिनेछन, लखन थापा र उमेश थापाको आत्मा भड्किने छ । देशको लागि लड्ने देवनारायणहरु जस्ता जिउँदा शहीदको अपमान गर्ने गरी राज्य बिखण्डनको उन्माद बोकेर सुरक्षाकर्मीलाई जिउदै जलाउने, एम्बुलेन्सबाट घाईते थुतेर मार्नेहरुलाई साथ दिनेहरुलाई शहीद मान्दै जाने हो भने शहीदको जस्तो पबित्र शब्दको अपमान हुन्छ भन्ने मेरो ठहर हो ।
म बिभेदी होईन, मधेसमा धेरै दाजुभाइ दोश्रो दर्ज़ाको जीवन बिताईरहेका छन, काठमांडुमा तिनीहरुलाई हेपिन्छ, तिनीहरुको लागि राज्य हदै सम्म लचिलो हुनुपर्छ, त्यस्तै पहाडमा कर्णाली रोएको रोयै छ, कर्णालीको आँशु राज्यले पुछिदिनुपर्छ । तर म दृढ छु कहिँ कसैका प्रायोजित माग पुरा गर्न भटाभट लुटेरा र हुल्लडहरुलाई शहीद घोषणा गर्ने हो भने शुक्रराज र धर्मभक्तहरुलाई शहीदको लिष्टबाट हटाए पनि हुन्छ ।
मधेस आन्दोलनमा मर्नेलाई पचास लाख दिन्छौँ भनेर जनतालाई फकाउने, धम्क्याउने केहि मधेसी नेताहरु आफैले मान्दैनौ भनेको संबिधान अन्तर्गत सरकार बनाउने र गिराउने खेलमा सहभागी हुने अनि सत्तारोहण गरी वास्तविक शहीदको अपमान गरेको तितो सत्य लुकाएर लुकिन्न अब । यद्यपी निस्वार्थ राष्ट्रिय राजनीतिक आन्दोलनमा मारिएका सबै योद्दाहरु शहीद हुन्, उनका परिवारको राज्यले चासो राख्नुपर्छ ।
शहीद यस्तो पवित्र शब्द हो, जसको नाम मात्र उच्चारण गर्दा यो छाती गर्वले फूल्छ, शिर श्रद्दाले निहुरिन्छ र तिनका रगतले लेखेको ईतिहाँस पढ्दा देशको लागि केहि गरेर मरौँ मरौँ हुन्छ । साम्प्रदायिकता र बिभाजनको बखेड़ा बोकेर, आफ्नै दाजुभाइ मार्ने भाइमाराहरुलाई यसै गरी शहीद घोषणा गर्ने हो भने ती महान शहीदहरुको अपमान हुनेछ । त्यसैले नेपाली स्वाभिमानी मनहरु एउटा प्रश्न सोधिरहेका छन : ए साँच्चै सरकार शहीद को हो ? झण्डा जोगाउने कि झण्डा जलाउने ? मेरो पनि यहि सोधाई छ।



