काठमाडौँ दुबई सिधा उडान सुरु
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको काठमाडौँ–दुबई सीधा उडान सुरु भएको छ ।
विमान अभावका कारण बन्द भएको झन्डै चार वर्षपछि निगमले पुनः बिहीबारदेखि नियमित उडान सुरु गरेको हो ।
बिहीबार राति ११ः२० बजे १५८ यात्रु लिएर दुबई उडेको निगमको एयरबस आज बिहान १०ः२५ बजे काठमाडौँ फिर्ता भएको निगमका कर्पोरेट निर्देशक एवम् प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार निगमको १५८ सिट क्षमताको ए– ३२० एयरबस काठमाडौँबाट क्याप्टेन रवीन्द्रपुरुष ढकालको नेतृत्वको चालक दलले उडान गरेको थियो भने दुबईबाट फर्कंदा क्याप्टेन विजय लामा नेतृत्वको आठ सदस्यीय टोलीले उडाएको थियो ।
प्रवक्ता शर्माले निगमप्रति सम्बन्धित क्षेत्रले पु¥याएको सहयोग र यात्रुको विश्वासले उत्साहित बनाएको भन्दै यसमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले निगमको नियमित तालिकाअनुसार उडान हुने र आइतबारका लागि पनि १५८ सिट बुकिङ भएको बताउनुभयो ।
निगमको कार्यतालिकाअनुसार निगमले सातामा तीनवटा उडान गर्नेछ । काठमाडाँैबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।
काठमाडौँबाट दुबई उडान अवधि चार घन्टा ४० मिनेट र दुबईबाट काठमाडौँं आउन चार घन्टा १५ मिनेट समय लाग्ने बताइएको छ ।
काठमाडौँ–दुबई उडानको सुरुको प्रवद्र्धनात्मक भाडा दर दुईतर्फी रु ३२ हजार तोकेको निगमले जनाएको छ ।
निगमले अहिले दुई एयरबस र एउटा बोइङ जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । हाल निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैङ्लोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, कतारको दोहा र हङ्कङमा उडान भर्दै आएको छ । दुबई उडान सुरु गरेपछि निगमको आठवटा उडान गन्तव्य पुग्नेछ ।



