कतार सरकारले अवैधानिक कामदारहरुलाई 'आममाफी' दिने
कतार | कतार सरकारले विदेशी कामदारका लागि १२ वर्षपछि नयाँ नीति 'आममाफी' ल्याएको छ । जस अन्तर्गत अब कतारमा लुकेर बसेका कामदारहरुलाई स्वदेश फिर्ती सहज भएको छ । अवैधानिक रुपमा बसेका विदेशी कामदार अब बिना सजाय आफ्नो देश जान पाउनेछन् ।
सेप्टेम्बर १ तारिखदेखि डिसेम्बर १ सम्म अर्थात ३ महिनाका लागि कतार सरकारले आममाफीको नीति ल्याएको हो ।
कतार सरकारको यो निर्णयसँगै लुकेर बसेका नेपाली कामदार खुसी भएका छन् । कतारमा ४ लाखको हाहारीमा नेपाली कामदार भएपनि बढीमा २० हजारसम्म अवैधानिक रुपमा बसेको हुन सक्ने अनुमान श्रम मन्त्रालयले गरेको छ । अवैधानिक रुपमा बसेका कामदार स्वदेश फर्किएको २ वर्षपछि फेरि कतार जान सक्ने नयाँ प्रावधान छ ।
घर फिर्न चाहनेलाई कतारको सल्वारोडस्थित खोज तथा अनुगमन बिभाग सर्च एण्ड फलोअप डिर्पाटमेन्ट,मा सम्पर्क गर्न कतार सरकारले आग्रह गरेको छ । कतार सरकारले यसअघि सन् २००४ मा मार्च २१ देखि जुन २० सम्मको लागि आममाफी दिएको थियो ।
कतार सरकारको यो निर्णयसँगै त्यहाँ रहेका नेपालीहरु खुसी भएका छन् । कतारमा ४ वर्षदेखि रहेका नेपाली कामदार दीपक थपलियाले धेरै नेपाली साथीहरु अवैधानिक रुपमा बसेका र उनीहरुले राहत भएको बताए। रोजगारदाता कम्पनीले भनेको काम नदिएपछि कतिपय नेपाली कामदार भागेर अर्के कम्पनीमा काम गर्दै आएका छन् भने कतिपय भिसा नाघेर पनि कतारमा लुकेर काम गर्दै आएका छन् ।



