बिहीबार राति काठमाडौँमा निस्किएको जुलुस

बिहीबार राति काठमाडौँमा गजबको जुलुस निस्कियो। अघिअघि यो सेतो मुकुन्डो लगाएको मान्छे थियो, जसका दुवै हात अरुले नै पक्रेका थिए। पछिपछि थिए बर्खी बारेकाहरु, अर्थात् सेतो पहिरन लगाएकाहरु। काठमाडौँको मुख्यमुख्य भाग परिक्रमा गर्‍यो यो जुलुसले।

यिनी हुन् दागीँ। डंकिनीको अपभ्रंश रुप मानिन्छ दागीँलाई। यिनी वास्तवमा देवराज इन्द्रकी आमा हुन् रे दागीँको भेषमा काठमाडौँ आएका।

काठमाडौँमा पारिजातको फूल चोर्न आएका इन्द्रलाई यहाँका बासिन्दाले पक्रेर थुनेर राखेपछि उनकी आमा बसुन्धरा आफ्ना छोराको खोजी गर्दै काठमाडौँ आएका रहेछन्। यहाँको दरबारमा इन्द्रलाई चोर झैँ हात बाँधेर राखेको देखेपछि उनले काठमाडौँमा शीत ल्याइदिने वाचा गरेर उनलाई छुटाएछन्। काठमाडौँका बासिन्दालाई मृत आफन्तलाई भेट्न स्वर्ग लैजाने वाचा पनि गरेछन्।

इन्द्रलाई लिएर बसुन्धरा स्वर्ग जान लाग्दा मृत परिवारका आफन्तजनहरु उनीसँगै पछि लागेर गएछन्। अब परेन फसाद ! कहाँ जिउँदो मान्छेलाई स्वर्ग लैजान मिल्नु। स्वर्ग जानका लागि एउटा डाँडाको टुप्पोमा पुगेपछि उनले चलाखी गरिछिन्। नुहाएर पवित्र नभैकन स्वर्ग पस्न मिल्दैन। त्यसैले यकिँ दह अर्थात् इन्द्रदहमा नुहाएर आऊ। थानकोटमा पर्छ यो दह अहिले।

उनीहरु नुहाउँदै गर्दा बाक्लो कुहिरो लाग्छ। त्यही मौकामा इन्द्र र उनकी आमा भाग्छन्।

श्रुतिकथा यही हो। मिति थाहा नभएको बेलादेखि (लिच्छवी कालदेखि पनि भनिन्छ) चलेको यो परम्परा अहिलेसम्म पनि कायमै छ।

त्यंगःका एक ज्यापुले सेतो मुकुन्डो लगाउँछन्। काष्ठमण्डपपछाडिको भुति सतःबाट आँखा छोपेर उसलाई ल्याइन्छ। उसको हात दुई जना सहयोगीले समाएका हुन्छन्। एक जना तुलाधरको घरमा यो मुकुण्डो राखिएको हुन्छ।

सबैभन्दा अगाडि मरु टोलका ज्यापुहरुको एउटा समूह हुन्छ। याकको रौँ लामो बाँसमा राखेर बनाइएको घुन्याँ घुमाउँदै धिमे भुस्या बजाउँदै अगाडि उनीहरु हिँडेका हुन्छन्। दागीँको पछाडि भने त्यो वर्ष ज्यान गुमाएका मानिसका आफन्तजन हुन्छन्। सबै सेतो पहिरनमा।

बाजाको तालमा यिनीहरु छिटोछिटो हिँड्छन्। हिँड्दा उनीहरुले मृतकको नाममा नौ थरी गेडागुडी बाटोमा छर्दै हिँड्छन्। दागीँको पछि पछि स्वर्गमा गएर घर फर्कने बाटो नबिर्सोस् भन्नलाई यसरी छर्कने चलन चलेको कथन छ।

मरु गणेशस्थानबाट प्याफल हुँदै नरदेवी, असन, इन्द्रचोक, बसन्तपुर, चिकंमुगल, लगन, जैसिदेवल, ह्युमत, भीमसेनस्थान हुँदै काष्ठमण्डप गएर टुंगिन्छ यो यात्रा। यो यात्राको रुटले एउटा खड्गको रुप लिन्छ भनिन्छ। राजा गुणकामदेवले कालीको खड्ग कै आकारमा काठमाडौँ सहरको निर्माण गरेका थिए भनिन्छ।

यात्रा सकिएपछि भुति सतःमा बाँकी सामान फाल्छन्। मरुहिटीमा मुख धोएर उनीहरु घर फर्कन्छन्। कोही भने राति नै १२ किलोमिटर टाढा थानकोटमा रहेको इन्द्रदहमा नुहाउन भनेर पुग्छन्। साभार: पहिलो पोष्टबाट

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |