शिक्षा दिवसकै दिन कलेज संयोजकले मरणासन्न हुने गरि कुटे विद्यार्थी
झापा | झापाको दमकस्थित मानसरोवर इन्ष्टिच्यूट साइन्स एण्ड टेक्नोलोजिका (मिस्ट) कलेज संयोजकले एक विद्यार्थीलाई मरणासन्न हुने गरि कुटेका छन्।
झापाको धुलाबारी घर भई दमक-१५ मा रहेको उक्त क्याम्पसमा डिप्लोमा इन फार्मेसी पढ्ने १९ वर्षीय अजित गौतमलाई बिहीबार शिक्षा दिवसको दिनमा कलेज संयोजक प्रणव भण्डारीले मरणासन्न हुने गरि कुटेका हुन्। शिक्षा नियमावलीमा हिंसारहित शिक्षालाई जोड दिइएपनि कलेज गएको १५ दिन बित्न नपाउँदै गौतम मरणासन्न हुनेगरी कुटिएका छन्।
कक्षा सञ्चालन भइरहेको अवस्थामा आफू बिरामी भएका कारण डेक्समा सुतेको र शिक्षकले कलेज संयोजकलाई उजुरी गरेपछि उनलाई संयोजकको कार्यकक्षमा लगेर पाईपले मरणासन्न हुने गरी कुटिएको पीडित अजितले बताए। आफू बिरामी भएको बताउँदा पनि भण्डारीले आफूलाई लागुऔषध प्रयोग गर्छस् भन्दै कुटेको अजितको भनाई छ। ‘सरले मलाई तँ यो कलेजको नियममा बस्न सक्दैनस्, गाँजा खाएर कलेज आउछस्, तलाई भन्दै कुट्नुभयो।, उनले भने।
भण्डारीको कुटाईबाट अजितको दुवै खुट्टामा गम्भिर चोट लागेको छ। अजितका बुबा लाल बहादुरले आफ्नो छोराको गल्ति भएको भएपनि अभिभावक बोलाएर जानकारी दिएको भए आफूहरुले केही गर्ने बताए। ‘हामीले छोरालाई पढ्न पढाएका हौँ, कुटाई खान होइन।, उनले भकानिदैँ भने।
अजितका परिवारले संयोजक भण्डारीविरूद्व उजुरी दिएपछि भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। अजितको अहिले निम्स नेसनल हस्पिटल दमकमा उपचार भइरहेको छ।
अस्पतालमा भेटिएका एकजना उक्त कलेजमा सामान्य चिकित्सा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले थाहाखबरसँग नाम नखोल्ने सर्तमा क्याम्पसमा भण्डारीले प्राय सबै विद्यार्थीलाई दुर्व्यवहार गर्ने गरेको बताए। आफ्नो नाम खोलेमा कलेजले रेस्टिकेट गर्ने भन्दै उनले भने, ‘बिरामी भएर घर जाने भन्दा पनि सरले रेस्टिकेटको धम्कि दिनु हुन्छ।’ कलेजका संयोजक भण्डारीले आफ्नो शिक्षकसँगको सामान्य विवादमा हात छोडेको स्वीकारे। भण्डारीले सामान्य कारवाहीको रुपमा कुटेको भन्दै चोट नलागेको दावी समेत गरे। -थाहा खबरबाट



