झापामा प्रहरीकै मिलेमत्तोमा तस्करी
झापा | झापामा प्रहरीकै मिलेमत्तोमा तस्करी हुने गरेको रहस्य खुलेको छ । भारतको दिघलवैंक नाका हुँदै नेपाल भित्र्याइएको ठूलो परिमाणको फरेनगुड्का सामान मध्य दक्षिणी झापाको कुमरखोदबाट मंगलवार पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।
इलाका प्रहरी कार्यालय कुमरखोदका सई मोहन भुजेल र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाघनडुब्बाका इन्सपेक्टर केदारजंग थापाको सेटिङमा तस्करी हुने गरेको पाइएको हो ।
कुमरखोद २ स्थित नेपाल भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले १४ पोकामा रहेको १० लाख ३४ हजार ५ सय रुपैया मूल्य बराबरको सामान सहित तस्करीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएसँगै प्रहरी इन्चार्जको मिलोमतो हुने गरेको पुष्टि भएको प्रहरी स्रोतले बताएको छ ।
झापा बजार छेउको सेतुमारी गाउँमा रहेको हरि लिम्बूको घरमा राखेर भारतको डिगलबैक तर्फ लैजान तयारी गरिरहेको अवस्थामा गएराती परेको अबिरल बर्षाका कारण सामान केहीबेर रोकिएको जानकारी पाएसँगै तत्काल जिल्लाबाट गएको टोलीले सामान सहित मानिस नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले सामान सहित तस्करी गरेको आरोपमा झापा भद्रपुर १४ का ३६ वर्षीय मदन सुब्बा, कुमरखोद १ का ३३ वर्षीय हरि न्यौपाने र शरणामति ४ का २६ वर्षीय महेश कार्कीलाई नियन्त्रणमा लिएकोे प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले बताए । तस्करीमा प्रयोग हुने दुई ओटा साइकल पनि घटना स्थलबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
सामान सहित तस्करमा संलग्न तीन जनालाई प्रहरी कार्यालय झापाले मंगलबार दिउँसो पत्रकार सम्मलेन गर्दै सार्वजनिक गरेको हो । उनीहरुले प्रहरीलाई रकम दिने भन्दै असुल्ने काम समेत गर्दै आइरहेकाले तीनै जना कारोबारी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बरामद गरिएको सामानमा चाइनिज कपडा ओभेरा ज्याकेट २७९ थान, जिङपिनफुसि कोट ६८ थान, मिङसछुन लङ कोट ८०, कालो छालाको जस्तो देखिने ज्याकेट १६० थान लगायतको बहुमुल्य सामान बरामद गरिएको डिएसपी शर्माले बताए । सामान सहित नियन्त्रणमा लिएका तीनैलाई भन्सार नियम अनुसार आवश्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।
स्थानीय स्रोतका अनुसार पछिल्लो समयमा सो नाकामा स्थानीय प्रहरी इञ्चार्जको मिलोमतोमा तस्करी हुने गरेको गुनासो बढेसँगै प्रहरीले गरेको अनुसन्धानमा सामान फेला परेपछि तत्काल कुमरखोदका सई मोहन भुजेललाई जिल्ला प्रहरी कार्यालय झापाले फिर्ता बोलाएको बुझिएको छ ।
यो भन्दा अघिपनी सो क्षेत्रमा जिल्लाबाट गएको टोलीले पटक पटक सामान बरामद गरेको थियो । उनको सट्टामा जिल्लावाट निरज कार्कीलाई खटाइएको छ । भुजेलले लाइन मिलाएबापत करिब ३५ हजार रकम लिने गरेको पाइएको छ ।
अर्को तर्फ सशस्त्र प्रहरी टागनडुब्बाका इन्सपेक्टर केदारजंग थापाले समेत तस्करबाट मासिक ६० हजार भन्दा बढी रकम लिएर लाइन दिएको स्थानीय स्रोतले जनाएको छ । यस विषयमा सशस्त्र प्रहरी कार्यालय झापाका एसपी आनन्द गुरुङ्ले भने, ‘पत्रकारले खाली यस्ता कुरा मात्र थाहा पाउने काम हुन्छ । हाम्रो युनिटले सामान रोकिरहेको छ ।’ उनले भने, ‘यसमा सशस्त्रको कुनै संलग्नता छैन । नेपाल प्रहरी र हामीले थाहापाएसम्म सामान बरामद गर्दै आइरहेका छौँ ।’ थापाको सरुवा भइसकेकाले ऊ चाँडै यो क्षेत्रबाट जाने गुरुङले बताए । -रासस



