राहदानी छुटेपछि सुडानले फर्कायो २३२ शान्ति सैनिक
काठमाडौं | दक्षिण सुडान सरकारले राहदानी नबोकी खार्तुन विमानस्थल पुगेका २ सय ३२ नेपाली शान्ति सैनिकलाई काठमाडौं फिर्ता गरेको, आजको कारोबार दैनिकमा समाचार छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुडानको राजधानी खार्तुन पुगेका नेपाली शान्ति सैनिकहरूलाई राहदानी नभएपछि त्यहाँको अध्यागमन विभागले विमानस्थलबाटै नेपाल फर्काएको हो ।
“राहदानी बिना प्रवेश सम्भव छैन,” दक्षिण सुडान अध्यागमनका अधिकारीको भनाइ उदृत गर्दै सैनिक उच्च स्रोतले भन्यो, “त्यसपछि काठमाडौं फिर्ता हुनुको विकल्प थिएन ।” फिर्ता हुनुअघि सुडानस्थित मिसन हेडक्वार्टरसँग समेत समन्वय भएको थियो ।
तर, अध्यागमनका अधिकारीले बिना राहदानी कसैलाई पनि प्रवेश दिन नसकिनेमा अडिग भएको स्रोतले स्पष्ट पा¥यो ।
शान्ति मिसनका लागि उडेको जहाज सम्बन्धित मुलुकको अध्यागमनले फिर्ता गरेको यो पहिलो घटना हो । मंगलबार राति १ः४० बजे त्रिभुवन विमानस्थल अवतरण गरेको जहाज २ः५० मा पुनः दक्षिण सुडान प्रस्थान गरेको थियो ।
शान्ति मिसनमा जाँदा फौजहरूको राहदानी व्यवस्थापन गर्न शान्तिसेना निर्देशनालयले विशेष व्यक्ति तोकेको हुन्छ । तर, जिम्मेवारी पाएका अधिकारीको गम्भीर लापरवाहीका कारण मिसनस्थल पुगे पनि फिर्ता हुनुले नकारात्मक सन्देश गएको एक सैनिक अधिकारीले टिप्पणी गरे ।
नेपाली सेनाका सहप्रवक्ता रामनाथ ढुंगानाले खार्तुनका लागि नेपाली शान्ति सैनिकसहित उडेको इथियोपियन जहाज काठमाडौं फिर्ता भएको स्वीकारे ।
“जहाजमा सवार सबै शान्ति सैनिकको राहदानी छुटेपछि दक्षिण सुडानको अध्यागमन विभागले प्रवेश दिएन,” ढुंगानाले भने, “नेपाल फिर्ता भएको जहाज राहदानीसहित पुनः गन्तव्यमा पुगिसकेको छ ।”
सह–प्रवक्ता ढुंगानाले जहाज फिर्ता प्रकरणमा छानबिन समिति गठन हुने बताए । उनले भने, “कमजोरी भएकै छ, कसकसको गल्ती भन्नेबारे सत्यतथ्य पत्ता लगाउन छानबिन गर्न समिति गठन आदेश भइसकेको छ ।”




