साउदीमा सम्झौताअनुसारको तलव सुविधा नपाएको गुनासो

साउदी अरबमा रहेका नेपाली कामदारहरुले म्यानपावर कम्पनीहरुसँग भएको सम्झौताअनुसार तलव सुविधा नपाएइको गुनासो गरेका छन्।

साउदी पुगेका पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको कुराकानीका क्रममा उनीहरुले आफ्नो गुनासो सुनाएका हुन् । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ नेपाली जनप्रगतिशील मंच साउदी अरबको चौथो एकताको महाधिवेशनको निम्तोमा साउदी अरब आएका थिए ।

महिनौंदेखि तलब नपाएका कारण खान बस्नमा समेत समस्या भएको, सम्झौता अवधि पुगिसक्दा पनि घर फर्कन नपाएको, मालिक र प्रहरीको मिलोमतोमा दुःख दिएको र लेबरकोर्टको फैसला ढिलाई हुँदा खाली हात नेपाल फर्कन बाध्य बनाइएको पिडा उनीहरुले सुनाए।

नेपाली राजदूतावासले आफूहरुको समस्यामा वेवास्ता गरेको कामदारहरुको गुनासो छ। श्रेष्ठले प्रवासी पीडितको समस्याका सम्बन्धमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रम तथा रोजगार मन्त्री र सचिव समक्ष गम्भिरतापूर्वक छलफल गर्ने प्रतिबद्धता जनाए । श्रेष्ठले साउदी बसाईको क्रममा प्रवासी पीडित नेपाली कामदारहरुसँग छुट्टा छुट्टै भेटघाट गर्नुका साथै विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया समेत गरे।

श्रेष्ठले रियादस्थित दुतावासको सेल्टरमा रहेका पीडित महिलाहरुसँग पनि भेटघाट गरे। घरेलु र कम्पनीका कामदारका रुपमा आएका ती महिलाहरुले आफूहरुको उद्धार गरेर यथाशिघ्र नेपाल पठाउने व्यवस्था गरिदिन अनुरोध गरे । सेल्टरमा कुवेतबाट बेचिएर साउदी ल्याइएका, साउदी मै ल्याईएर दुःख पाएका र कम्पनीको काम भनेर अन्यत्र लगाइएका १६ जना महिलाहरु छन्।

उनीहरु सबै साँघुरो कोठामा बस्दै आएका छन्। सेल्टरमा रहेका कतिपय महिलाहरु बिरामी र बच्चा सहितका छन्। साउदी सरकारले एक्जिट भिसा लगाउनका लागि कानुनी प्रक्रियामा ढिलाई गर्नु र नेपाल सरकारको बेवास्ताका कारण उनीहरुको उद्दार हुन सकेको छैन । साउदी बसाईमा श्रेष्ठले वैदेशिक रोजगारका क्रममा साउदी अरबमा रहेका प्रवासी नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा दुतावासमा आयोजित अन्तरक्रिया कार्यक्रममा महिलाहरुलाई घरेलु कामदारका रुपमा पठाउन उपयुक्त नलागेको धारणा राखे।

ठूला ठूला पर्खालभित्र बन्द गरेर राखिएका महिलाहरुको पीडा र अपमान असह्य भएको अनुभव सुनाए। श्रेष्ठले नेपालमा पुगेर यथाशिघ्र साउदी अरबमा रहेका नेपालीहरुको समस्या र पीडाका सम्बन्धमा गम्भिरतापूर्वक प्रधानमन्त्री समक्ष कुरा राख्ने आश्वासन दिए । उनले समस्याको निकासका सम्बन्धमा परराष्ट्र मन्त्रालयकामन्त्री र सचिव त्यसैगरी श्रम तथा रोजगार मन्त्रालयकामन्त्री र सचिवसँग समेत छलफल गर्ने प्रतिबद्धता गरे । परराष्ट्रमन्त्री श्रेष्ठ बुधबार नेपाल फर्किएका छन् । - सेतोपाटी

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |