राजमार्गमा आमाले चार महिने शिशु बजारे पछि

दमक | झापाको दमक बसपार्क नजिकै पूर्वपश्चीम राजमार्गमा बुधबार साँझ एउटा नाबालक शिशुलाई एउटी महिलाले लछारपछार पार्दै थिइन् । झण्डै सय मिटर नजिकै पसलमा बसिरहेकी चाँदनी बस्नेतको मन थामिएन । कुदेर घट्नास्थल पुगिन् । एउटी महिला त्यो पनि शिशुकै आमा कौशिला भुजेलले शिशुलाई निर्दयपूर्वक बजारेको देखेर जवरजस्ती खोसेर प्रहरीलाई खबर गरिन् ।

त्यतिबेरमा शिशुको अवस्था नाजुक भइसकेको थियो । चिच्याहट र शिशुको रुवाइले वरपरका मानिसहरु भेला भए । इलाका प्रहरी कार्यालय दमकका डिएसपी राजन लिम्बुले घट्नाबारे चासो दिए बस्नेतको एक फोनमै । तुरुन्तै शिशुको उद्धार गरेर लाइफलाइन अस्पताल पुर्याइयो । शुरुमा अस्पताल र डाक्टरहरुले पनि शिशुको अवस्था र घट्ना विवरण थाहा पाएपछि शिशुको उपचार गर्न आनाकानी गरे । बस्नेतले जवरजस्ती इमर्जेन्सी कक्षमा शिशुको उपचार गरिदिन आग्रह गरिन् । प्रहरीले पनि साथ दिए । अस्पतालले ४ महिने त्यो शिशुको उपचार गर्यो ।

सुन्दा र सम्झिदाँ कुनै चलचित्र वा नाटकको कथा जस्तो लाग्ने यो घट्नाका पछाडी विद्यमान गरिबी, अशिक्षा र चेतनाको अभाव कारणका रुपमा छ । त्यो शिशुकी आमा कौशिला भएपनि बाबु को हो भन्ने सम्म अझै थाहा नपाएको कौशिलाकी आमा चन्द्र धिमाल बताउँछिन् । बाबुको पहचिान नखुलेको शिशुलाई बारम्बार आमा कौशिलाले सडक किनारमा ल्याएर कुट्छिन् । खाने कुराको खासै टुंगो छैन – आमा चन्द्राले भनिन् । यस्तो घट्ना दोहोरिरहँदा शिशुको न खानाको टुंगो छ । न बास बस्नको । स्वास्थ्य स्याहार टाढाको कुरा भएको छ ।

अस्पतालबाट शिशुलाई झण्डै १५ घण्टा पछि हजुरआमा चन्द्राको खोजी गरि जिम्मा लगाएकी छिन् सिराहाको लाहानमा सगरमाथा अर्पण हाउसका नाममा अनाथालय समेत सञ्चालन गरिरहेकी शिशुकी उद्धारकर्ता बस्नेतले । विरामीलाई अस्पताल र आफ्ना वरपरका सहयोगी हातहरुसंग सहयोग जुटाएर अस्पतालबाट परिवार सम्म ल्याएकी हुन् । बस्नेतले भनिन् – अस्पतालदेखी प्रहरी र सहयोगी दाताहरुको पनि हात रह्यो । उनी भन्छिन – चेतना र शिक्षाको अभावमा धेरै बालबालिका सडक किनारमा छन् । उनीहरुको बाँच्न पाउने नैसर्गिक अधिकारको संरक्षण राज्यले गर्नुपर्ने बताउँछिन् ।

अस्पतालबाट परिवारको जिम्मा लगाइएको शिशुको खानपानका लागि दमक ११ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश घिमिरेले नगद एक हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । यो समाचार हाम्रो दमकबाट साभार गरिएको हो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |