शरणार्थीको पुनर्वास र बैदेशिक रोजगारले कृषि क्षेत्रमा जनशक्ति अभाव

झापा | धान पाकेर पहेंलपुर भए पनि किसानलाई थन्क्याउन समस्या भएको छ । रोपाईं गर्दासमेत मजदुर नभएर ट्र्याक्टर लगाएका किसानलाई थन्क्याउने बेलामा पनि मजदुरकै समस्या परेको छ ।

केही वर्षयता बढ्दै गएको कृषि मजदुरको अभावका कारण किसान समस्यामा पर्दै आएका छन् । गाउँका अधिकांश युवा विदेश तथा सहरतिर लागेका कारण कृषि क्षेत्रमा जनशक्ति अभाव भएको छ ।

दमक, गौरादह, लखनपुर, तोपगाछीलगायतका क्षेत्रमा ४/५ वर्ष अघिसम्म भुटानी शरणार्थीसमेत रोजगारीमा जाने गरेका थिए । तर, शरणार्थीहरूलाई तेस्रो देशमा पुनःस्थापना गरिएसँगै मजदुर अभाव भएको हो ।

लखनपुर–४ का अमृत आचार्य गाउँमा काम गर्ने मान्छे नभएको र शरणार्थीसमेत आउन छाडेपछि कृषि पेसानै छोड्नु न समाउनु भएको गुनासो गर्छन् । “अहिले त शरणार्थीका शिविर पनि रित्तिए भन्ने सुनिन्छ,” उनले भने, “भएकालाई पनि विदेशका आफन्तले पैसा पठाउँदा रहेछन्, मजदुरी गर्न गाउँतिर आउनै छोडे ।”

केही वर्ष अघिसम्म कृषि मजदुरी गर्दै आएकाहरूले पनि अन्य विकल्प खोजेपछि खेतीकिसानी गर्नेहरूलाई समस्या भएको गौरादह–१ का किसान भीमलाल दंगाल बताउँछन् । नजिकै रहेका सहरी क्षेत्रमा निर्माणलगायतका अन्य क्षेत्रमा रोजगारीका अवसर बढेसँगै कृषि मजदुरी गर्नेको रोजाई पनि त्यसतर्फ बढेको उनको भनाइ छ ।

झापा र मोरङका विभिन्न ७ वटा शिविरमा १ लाखभन्दा बढीको संख्यामा रहेका भुटानी शरणार्थी अमेरिका, अष्ट्रेलिया, क्यानाडा, नेदरल्याण्ड, नर्वे, बेलायतलगायतका मुलुकमा पुनःस्थापित भइसकेका छन् ।

शरणार्थीको संख्या घटेर करिब १३ हजार मात्र भएका कारण हाल शिविरसमेत झापाको दमक र मोरङको पथरी शनिश्चरेमा सीमित भएको छ । मजदुर अभाव भएपछि झापाका धेरै किसानले धान भित्र्याउन सकेका छैनन् ।

जिल्ला कृषि विकास कार्यालय झापाले पनि मजदुर अभावका कारण धेरै किसानले धान भित्र्याउन नपाएको जनाएको छ । -कारोबार

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |