के तपाईलाई थाहा छ ? विदेशमा काम गर्न जादा ज्ञान हुनु पर्ने कुराहरु
जान्नै पर्ने कुराहरु :
- केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने काम, पाउने तलवको बारेमा राम्ररी जानी बुझी मात्र जाने ।
- लाग्ने खर्च, प्राप्त हुने आम्दानीका बारेमा तुलनागरि लाभ हुने काममा मात्र जाने ।
- घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जाने ।
- बैदेशिक रोजगार विभागवाट श्रम स्वीकृती लिएर मात्र बैदेशिक रोजगारमा जाने ।
- बैदेशिक रोजगारमा जाँदा बीमा गर्ने जसले गर्दा कामदारलाई र उसको परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ ।
- बैदेशिक रोजगारमा जाँदा विश्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फत जाने । व्यवसायिक वा भिजिट भिसामा जानु हुदैन । जानी–जानी गलत कागजात बनाई जानु हुँदैन ।
- घर परिवारसँग सल्लाह गरि मानसिक रुपमा तयार हुने ।
- बैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिने । कति खर्च लाग्छ राम्ररी बुझने । कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नुपर्छ ।
- स्वदेशी विमानस्थलवाट मात्र जाने, छिमेकी देशको बाटो गरेर जाँदा बेचिन वा ठगीमा पर्न सकिन्छ ।
- आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनुपर्छ । यसको लागि पूर्व प्रस्थान अभिमूखीकरण तालीम अनिवार्य रुपमा लिनुपर्छ ।
- बैदेशिक रोजगारमा जाँदा आवश्यक सबै कागजातहरुको एक–एक प्रति आफू र परिवारको साथमा राख्नुपर्छ ।
- बैदेशिक रोजगारको क्रममा ठगिमा परे बैदेशिक रोजगार विभागमा उजुरी दिनुपर्छ ।
- बैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका बारेमा बुझ्नु परेमा बैदेशिक रोजगार बिभाग र बैदेशिक रोजगार प्रवद्र्धधन वोर्डको सचिवालयको ठेगानामा सम्पर्क गरी बुझ्ने ।
- आम संचार माध्यमले प्रकाशन गरेको बैदेशिक रोजगारको सूचना र विज्ञापन सहि भए नभएको बुझ्ने । गलत विज्ञापन गरी पैसा उठाएर ठगी गर्ने नियत पनि हुन्छ त्यसमा विचार पुर्याउने ।
- सरकारले निषेध गरेको देशमा र काममा नजाने ।
ध्यान दिनुपर्ने कुराहरु :
- काम गर्न जाने मूलुकको नेपाली राजदूतावास, श्रम सहकारी, संघ गैर आवासीय नेपाली एवं नेपाली संघ संस्था आदिको सम्पर्क ठेगाना फोन आफ्नो साथमा राख्ने । अफ्ट्योर स्थितीमा सम्पर्क गर्ने ।
- बिदेशमा रहँदा नेपाली राजदूतावास, नेपाली संघसंस्था र आफ्नो घर परिवारको नियमित सम्पर्कमा रहने, यसो गर्दा अफ्ट्योरो स्थितीमा उद्धार गर्न सहज हुन्छ ।
- काम गरिरहेको वा काम गर्न गएको कम्पनी छोडी अन्यत्र काम गर्न जानु हुँदैन । कतिपय देशमा यस्तो गरेमा गैर कानूनी भइन्छ । जेल सजाय पनि हुन सक्छ ।
- करार अवधि सकिएपछि स्वदेश फर्किएर पुनर्बीमा गराई श्रम स्वीकृति लिएर जानुपर्छ, अन्यथा दुर्घटना पर्दा बीमा र अन्य आर्थिक सहायताको सुविधा पाइदैन ।
- सम्झौता गरेको भन्दा फरक कम्पनीमा, फरक काममा, कम पारिश्रमिकमा काम लगाएको छ भने तुरुन्त नेपाली दूतावास, बैदेशिक रोजगार बिभागमा उजुरी गर्नुपर्छ । आफू खुसी अन्यत्र काम गर्न जानु हुँदैन ।
- कोठामा बस्दा वा सुत्दा ए.सी.को सही किसिमवाट प्रयोग गर्नु पर्दछ । थाहा नभएको काम कुरा सिकेर जानेर मात्र गर्नुपर्छ ।
- कमाएको पैसाको फजुल खर्च गर्नु हुँदैन, बचाएको पैसा बैंकिङ्ग च्यानलवाट पठाउनु पर्छ, व्यक्तिगत तवरवाट र हुण्डीवाट पठाउदा जोखिम हुन्छ ।
- आफ्नो स्वास्थ्य र क्षमताको ख्याल गरेर काम गर्नुपर्छ, क्षमता भन्दा बढी ओभरटाइम काम गर्नु हुँदैन ।
- खास गरी खाडि मुलुकमा जाँदा पान मसाला, पराग, मर्चा तथा अन्य सुर्तिजन्य पदार्थ, मदिरा लैजान र सार्वजनिक स्थानमा प्रयोग गर्न प्रतिवन्ध छ । यस्ता सामान लुकाई लगेमा, विक्रि गरेमा वा प्रयोग गरेमा कडा सजाय हुन्छ । जाँड रक्सी र लागू पदार्थ जस्ता कुलतमा लाग्नु हुँदैन ।
- सम्वन्धित मुलुकको, कम्पनीको नियमको पालना गर्नुपर्छ, अरुको धर्म संस्कृतिको सम्मान गर्नुपर्छ । अनावश्यक झै–झगडा र अरुको उक्साहटमा हडतालमा उत्रनु हुँदैन ।
- सम्वन्धित देशको ट्राफिक नियम बुझ्ने र पालना गर्नुपर्छ ।
श्रम तथा रोजगार मन्त्रालय,
वैदेशिक रोजगार विभागको सहयोगमा



