हिउँदमा बाँसको पुल, बर्खा लागे पछी आकाश हेर्नुपर्छ
ईश्वर भट्टराई, उर्लाबारी | गोविन्दपुर–१ का देवुकुमार राजवंशी झण्डै डेढ महिना विद्यालय जानबाट बञ्चित भए । गोविन्दपुर–४ उलुघुट्टुस्थित श्रीसुनवर्षि उच्च माविमा राजवंशीसँगै पढ्ने लुखिराम हेमरम पनि विद्यालय जान पाएनन् । कारण थियो, बक्राहा खोलामा आएको बाढी ।
बर्सेनि बर्खाको समयमा राजवंशी र हेमरमजस्तै झण्डै २० जना विद्यार्थीहरू आकाश हेरेर स्कूल जाने गर्दछन् । बर्खायाममा जस्तै उनीहरूलाई हिँउद्मा पनि स्कूल जान उत्तिकै सकस पथ्र्याे । कहिले लगाएको लुगा कम्मर उँधो पूरै भिज्ने गरेको राजवंशी सुनाउँछन् । तर, यतिबेला भने बक्राहा बनेको बाँसको पुलले उनीहरूलाई आवतजावत गर्न सजिलो भएको छ ।
गोविन्दपुर–१ स्थित बक्राहा खोलामा करिब डेढ महिनायता बाँसको पुल सञ्चालनमा आएको हो ।
उक्त बासको पुल स्थानीय महोमद इनुसले आफ्नै लगानीमा निर्माण गरेका हुन् । करिब ६० हजार रूपैयाँको लागतमा एक सय मिटर बासको पुल निर्माण गरेको उनले बताए । उनका अनुसार गत असोजमा पनि झण्डै एक सय १५ मिटर बाँसको पुल निर्माण गरेपनि असोज २५ गते विजया दशमीको दिन मध्यरातमा आएको बाढीले बगाएको थियो । त्यतिबेला उनले ७० हजार रूपैयाँको लागतमा निर्माण गरेका थिए । उनले भने, ‘करिब ४ सय घना बाँस प्रयोग गरेर पुल सञ्चालनमा ल्याएपनि असोज २५ गते ११ बजे बाढीले बगायो ।’
बाढीले पुल बगाएपनि स्थानीयको दुःखकष्ट देखेर उनले हिम्मत हारेनन् । र, फेरि ३ सय घना बाँस प्रयोग गरेर पुल बनाए । हाल उक्त पुलबाट दैनिक सरदर ४० देखि ५० जना मानिस ओहोरदोहोर गर्ने गरेको उनी बताउँछन् । उनका अनुसार दिनमा ४० देखि ५० वटा साइकल र ६० देखि ७० वटा मोटरसाइकल पनि वारपार हुने गरेका छन् । यसरी वारपार गरेबापत मान्छेको ५, साइकलको १० र मोटरसाइकलको ३० रूपैयाँ लिने गरेको इनुसले बताए । उनका अनुसार दैनिक रूपमा १५ सयदेखि १६ सय रूपैयाँ उठ्ने गरेको छ ।
बासको पुललाई उनले दैनिक मर्मतसम्भार पनि गर्दै आएको छन् ।
दैनिक रूपमा भत्किने हुँदा दैनिक १ घना बास मर्मत लाग्ने गरेको उनले बताए । यसअघि पनि सोही स्थानमा १२ वर्ष बासको पुल सञ्चालन गर्दैआएको उनको भनाइ छ । ‘मैले २०५९ सालदेखि १२ वर्ष यही ठाउँमा यसरी नै बासको पुल सञ्चालनमा ल्याए’, उनले भने, ‘मलाई अवरोध गरेर स्थानीयले हरि राजवंशीलाई पुल सञ्चालनमा जिम्मा दिए ।’ तीन वर्ष पुल सञ्चालनमा ल्याएका राजवंशीले आफूले जतिको काम गर्न नसकेपछि स्थानीयले उनलाई नै पुल सञ्चालन गर्न आग्रह गरेको इनुस बताउँछन् । उनी भन्छन्, ‘म खेतिपातीमा थिए, सबैले अनुरोध गर्नुभयो र सञ्चालनमा ल्याए ।’ उनले यसपटकको बर्खामा ढुंगा सञ्चालनमा ल्याउने आफ्नो योजना रहेको पनि बताए । ‘पुल बन्दैन, यहाँका मान्छेलाई हिउँद बर्खा हिड्नुपर्छ’, उनले भने, ‘त्यसैले यसपटक म ढुंगा पनि सञ्चालनमा ल्याउँछु ।’
‘बासको पुलले वारपार गर्न धेरै सजिलो भएको छ’, पुल तर्दै गरेका गोविन्दपुर–१ का दीलिप राजवंशीले भने, ‘यो पनि नहुने हो भने खोला तर्नकै लागि उर्लाबारी वा डाइनिया पुग्नुपथ्र्याे ।’ हिउँद्मा बासको पुलले बक्राहा तर्न सजिलो भएपनि बर्खामा भने इटहरा, राजघाट, गोविन्दपुर, हसन्दह, अमरदहका बासिन्दालाई उर्लाबारी वा डाइनिया पुग्नुपर्ने बाध्यता छ । आफूहरूले पटक–पटक पुल निर्माणका लागि जिल्ला विकास समितिमा अनुरोध गरेपनि सम्बन्धित निकायले चासो नदेखाए को स्थानीयको गुनासो छ । यस लेखलाई हामीले कोशी खबरबाट साभार गरेका छौ ।



