नेपाल एयरलाइन्सको टिकट, आजदेखि अनलाइनमा बुकिङ्ग

काठमाडौँ- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सेवालाई प्रभावकारी बनाउन http://nepalairlines.com.np वेब-पोर्टल मार्फत आजदेखि अनलाइन बुकिङ्ग शुरु गरेको छ।

अनलाइन बुकिङ्ग प्रणालीमा प्रवेश गरेसँगै अब निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ्ग गर्न सक्ने निगमले विज्ञप्तिमार्फत जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवम् निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीले आज यहाँ एक कार्यक्रमबीच अनलाइन बुकिङ्ग उद्घाटन गर्दै सूचना प्रविधिको प्रयोगले निगमको सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम नयाँ प्रविधिलाई सेवामा समावेश गरी पूर्ण प्रतिस्पर्धामा जाने योजनासहित अघि बढेको बताए।

सूचना प्रविधि विभागका उपनिर्देशक अमृतमान श्रेष्ठले निगम अत्याधुनिक प्रविधिलाई सेवामा लगाई उच्चस्तरीय सेवा दिन सक्षम हुँदै गएको बताए।

भारतको वर्ड इन्फर्मेसन सिस्टम तथा थाइल्याण्डको टुसिपिसी कम्पनीको प्राविधिक सहभागितामा इन्टरनेट बुकिङ्गको थालनी गरिएको छ।

हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ्ग हुनेछ भने नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ्ग प्रणालीमा आबद्ध गरिनेछ। यसका लागि केही समय लाग्ने निगमले जनाएको छ। रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |