समयको बर्बादी हुनसक्छ - अन्जना इछमफुल

बाह्र बर्षअगाडी मैले तिमीलाई मन पराउनु

बाह्र बर्षपछि तिमी मेरै आँगन हुदै मुग्लानबाट फर्किनु

दुखले, पिडाले,कर्तव्यले थिचिएर,

एउटी ख्याउटि स्वास्नी मान्छे म

आँगनी डिलमा काँगुनी बतास लाउदै गर्दा

तिमीले झट्ट चिन्न नसक्नु,

छेवैमा मेरो अढाइ बर्षको छोरा

कुखुराको सुलिसङ्ग भाडाकुटी खेल्दै गर्नु

तिमीले बितृष्णाले मतीर हेर्दै, पानी माग्नु

मैले पानीको साटो डबकाभरी जाँड ल्याइदिनु

तिमीले एकै घुट्कोमा डबका रित्याउनु

बर्षौदेखिको तिम्रो प्यास,

चेमेखोलाले पनि मेट्न नसक्नु

तिमीले झोलाबाट मुग्लाने चकलेट निकालेर

मेरो छोरालाई दिनु

स्कुसको गुदिभन्दा मसिनो, मीठो

कहिल्यै नचाखेको मेरो छोराले

तिम्रो पल्टने चकलेट बोक्रैसंग निल्नु

र घाँटीमा अड्किनु

तिमीले जुरुक्क उचालेर घुच्चुकमा थप्थापाउनु

तिम्रो सुकिलो जिउमा छोराको सिंगान पोतिनु

मैले मजेत्रो फुकालेर सिंगान पुछिदिन खोज्नु

हतार हतार बगलिबाट रुमाल निकालेर

तिमि आफैले पुछ्नु

तिमीले सिगरेट निकालेर मतिर लम्काउनु

मैले 'खादिन' को भावमा टाउको हल्लाउनु

सिगरेट नखाएरै पनि म अट्ठाइस बर्ष मा नै

असि बर्षको देखिनु................

मेरो

बिवसता हुनसक्छ !

अस्तिमात्र भुइँचालो आउँदा

चट्याङ - आकाशमा नहुनु,

भुइचालोले मेरो घर भत्काएको चट्याङ्ले नदेख्नु,

अर्को हप्ता लगत्तै माउ बाख्रासंगै चट्याङले

मेरो लोग्ने मारिदिनु

मेरो भाग्य हुनसक्छ ।

त्रिपालमुनिको बाँस हुदाहुदै निर्दयी झरीले पनि

मेरो सिन्दुर पखाल्न मद्दत गरि टोपल्नु

झरिसित मेरो केहि गुनासो नहुनु,

भुइचालोसित मैले कुनै आक्रोश नपोख्नु,

मेरो लाचारिपन हुनसक्छ !

मनको डोकोभरिको तुनौरी कसेर

त्रासको भारी अडेस लाउने चौतारा नपाउँदा पनि -

घरको धुरी थाम्ने खाँबो भइरहनु

घ्याम्पाभित्र किरा परेको जाँड झैँ -

फतक्क गलेर पनि,

निंगार बनेर

पिडाहरुलाई उत्तानो पारिरहनु ....

मेरो साहस हुनसक्छ !

यसरी एक जुग एकलकाँटे जिन्दगी बाँचिरहेको बेला

बाह्रबर्षपछि अचानक तिमीलाइ देख्नु,

अनि,

बाह्र वर्ष अगाडीको यादमा बहकीनु

र कविता लेख्न मन लाग्नु

शायद;

समयको बर्बादीमात्र हुनसक्छ !

- एउटा अलगधारमा कोरिएको मर्म स्पर्शी कबिता पढ्दै कबिता भित्र प्रवेस गरेको पात्र झैँ आभास हुने आफ्नो प्रतिक्रिया लेख्न नभुल्नु होला । (साभार: अन्जना इछमफुल फेसबुक)

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |