काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियासँगको खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले नामिबियालाई पाँच विकेटले हराएको हो ।
नामिबियाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ४७. १ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । राम्रो सुरुवात गरेपनि मिडिल अर्डरमा केही धर्मराएको नेपाली ब्याटिङ लाइनलाई शरद भेषवाकर र विनोद भण्डारीले सम्हाले ।
उनीहरुले १४.३ ओभरमा ८४ रनको अभिजित पार्टनरसीप गरे । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलको पहिलो इनिङमा नामिबियाले नेपालविरुद्ध १९५ रन बनाएको थियो ।
शरद र विनोदले ८४ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जित दिलाएका छन् । शरदले अर्धशतक पूरा गरेर नटआउट रहे भने विनोद पनि ४० रनमा नटआउट रहे ।
नेपाली टोलीका फिनिसरका रुपमा रहेका शरदले अन्तिम बलमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् । ९९ बलमा उनले ३ चौका हानेका थिए ।
त्यस्तै ४९ बलमा ४० रन पूरा गर्ने क्रममा विनोदले ३ छक्का र एक चौका हानेका छन् । नामिबियाले ३४ रन एक्स्ट्रा दिएपछि नेपाललाई ५ विकेटको जित हात पार्न सहज बनेको हो ।
नेपालका बसन्त रेग्मीले र सोमपाल कामीले समान तीन तीन तथा कप्तान पारस खड्का र सन्दिप लामिछानेले एक एक विकेट लिए ।
यो जितसँगै नेपालको विश्वकप छनौट खेल्ने सम्भावना कायम भएको छ । ८ टोली सहभागी प्रतियोगितामा शीर्ष चारमा रहने टोलीले विश्वकपको छनौट खेल्न पाउँनेछन् । नेपाल यसअघि खेलका चार खेलमा भने पराजित भएको थियो ।



