Articles
»
विदेशिनुको पीडा स्वदेशमा बस्नेले पनि मनन गरे पो
लेखक: पुष्पा के.सी.
विदेशिनुको पीडा स्वदेशमा बस्नेले पनि मनन गरे पो
लेखक: पुष्पा के.सी.
नेपाल, वैदेशिक रोजगारीबाट धानिएको मुलुक । मुलुकको बजेटकै हाराहारीमा व्यापार घाटा खेपिरहेको देशको आयात धान्ने एउटै मात्र आधार वैदेशिक रोजगारी हो । यही वैदेशिक रोजगारी अनेक फन्दामा पर्दैआएको छ । कहिले व्यवसायीको लफडा, कहिले रोजगारदाता कम्पनीको लफडा त कहिले विदेश जानेका परिवारको लफडा ।
यो समस्याको प्रमुख जड बढ्दो बेरोजगार हो । विदेशिनुको विकल्प सरकारले दिन नसक्नु हो । यस्तो स्थितिमा एउटा युवाले घरजम गरेपछि परिवार पाल्ने चिन्ता गर्नु स्वाभाविक हो । विवाहसंगै परिवारसँग व्यवहारिक जिम्मेवारी पनि बढ्दै जान्छ । समस्यामा परेंपछि विकल्प पनि त खोज्नु पर्यो । त्यसका लागि विकल्प बन्छ स्वदेश कि विदेश ।
प्राथमिकता त स्वदेशकै हो अनि रहर पनि स्वदेश बसेरै केही गर्ने हो तर, त्यसका लागि उसँग न त पैसा हुन्छ, न त रोजगारी न त त्यसको उचित वातावरण । अनि विदेशिनुको विकल्प छैन ।
आमनेपालीको अहिलेको विडम्बना यही हो । हुन त त्यही विदेशीका नेपालीले मुलुकको अर्थतन्त्र धानेका छन् । यसमा देश चलाउनेहरु दंगदास छन् । उता कठिन परिश्रम गरेर घरमा पैसा पठाउनेहरुको जिन्दगीका धेरै दिन, महिना र वर्ष त्यसरी नै बिताउँछन् । यता घरमा उसकी श्रीमती के सोच्दी हो ।
त्यहाँ अर्को समस्या सिर्जना हुन्छ । कुन्नि के कारणले हो, श्रीमानले विदेशबाट पठाएको सम्पत्ति बोकेर उनी अर्कैसँग बिहे गरिसकेकी हुन्छे । यस्ता धेरै यथार्थ घट्नाहरु छन् जुन हाम्रो नेपाली समाजमा देखिने गरेको छ । यस्ता समस्याको बिचबाट समाधान खोज्नु पनि अहिले चुनौतीको विषय बनेको छ ।
केही आशा र सपना बोकेर विदेशिने युवा पुस्ताको जमात नेपाली समाजमा ठूलै छ । देशमा रोजगारीको सृजना हुन नसक्दा आफ्नो दैनिकी धान्नका लागि पनि यो जमात विदेशिएको हो । उसो त शिक्षाका लागि भन्दै विदेशिने युवा पुस्ता पनि छन् । उनीहरु पनि नेपालमा आफ्नो भविष्य उज्जवल नदेखेकै कारण विदेशीन बाध्य भएका हुन् भन्दा फरक नपर्ला ।
विगत लामो कालखण्डदेखि नेपाली युवा विदेशिने गरेको तितो यथार्थ हाम्रा सामु छ । चाँहे त्यो गरिबीलाई चिर्न भन्दै होस् चाँहे त्यो आफ्ना सन्ततीको उज्यालो भविष्यका लागि ।
यस सन्दर्भलाई हेर्ने हो भने कमाउन विदेश जाने धेरै युवा पुस्तासँग भविष्यका लागि कुनै योजना भएको देखिदैन । उनीहरुलाई आफ्नो दैनिकी टार्न मात्र चिन्ता हुने गरेको देखिन्छ । विदेशबाट फर्केर केही समय नेपाल बस्ने गरें पनि यो क्रम लामो समयका लागि भने हुदैँन । स्वदेशमा लगानी गर्ने कुनै वातावरण नदेखेंपछि परिवारको सुरक्षाका लागि पनि फेरी विदेशीनुको विकल्प हुँदैन । सामाजिक र आर्थिक सुरक्षा विना नै अन्ततः उमेर रहुन्जेल विदेशमा बस्ने र उमेर ढल्केपछि स्वदेश फर्कने गरेका दृष्टान्तहरु पनि हाम्रा माझ छन् । जसका कारण बुढेसकालमा विभिन्न समस्या र दुःख भोग्नु पर्ने पनि हुनसक्छ ।
विदेशमा खर्चिएको श्रमले कमाएको पैंसालाई नेपालमा ल्याएर कहाँ र कसरी लगानी गर्ने भन्ने विषयमा धेरै युवा पुस्ताहरु अनभिज्ञ नै भएको पाइन्छ । विदेशमा आफूले कमाएको पैसालाई कसरी दिर्घकालीन रुपमा स्वदेशमा लगानी गर्न सकिन्छ भन्ने विषयमा विदेशिएका युवाहरुले सोच्न जरुरी छ । जसले गर्दा जिन्दगीको धेरै समय विदेशमा खर्चनु भन्दा पनि आफ्नो र आफ्ना सन्ततीका लागि उज्जवल भविष्यको निर्माण गर्न सकियोस् ।
अहिलेसम्म बहसको विषय नै बन्न नसकेको क्षेत्र कहिले व्यवस्थित बन्ला यो चिन्ता र चासोको विषय हो ।
यसका लागि कमाउन विदेशिने युवाका लागि स्वदेश फर्केपछिको विकल्प के हो त भन्ने विषयमा पनि सरोकारवाला निकायले ठोस कार्ययोजना तयार पार्न आवश्यक छ ।
विदेशिने नेपालीहरुको र उनीहरुको नेपालमा बस्ने परिवारको समस्या मनोसामाजिक पनि हो । घरमा एकोहोरोपनको शिकार, विदेशमा एक्लिनुको कुण्ठा अहिलेको ठूलो समस्या हो । श्रीमान विदेशिए श्रीमती र श्रीमती विदेशिए श्रीमानले धोका दिएर अलपत्र पार्ने प्रवृत्ति बढिरहेको छ । यो नेपाली समाजको गम्भीर प्रश्न हो ।
यो प्रश्नको उत्तर मनोपरामर्शबाट मात्र सम्भव छ । विदेश जानेहरु र उनीहरुको परिवारका सदस्यलाई आवश्यक परामर्श यो समस्या समाधानको पहिलो कडी हो । युवाहरुलाई विदेश पठाउने मात्र हैन, उनीहरुको परिवारलाई विखण्डन हुनबाट बचाउने जिम्मेवारी पनि सरकार र सम्बन्धित निकायको हो । यसमा हामी सबैको ध्यान जानु आवश्यक छ ।