कथा : सम्बन्ध



टेकु ओली | फ्रेण्ड रिक्वेस्ट बटनमा पिलिक्क रातो बल्यो ।
स्क्रोल घुमाउँदै फेसबुकमा न्यूज फिड हेरिरहेको मेरा आँखा त्यहाँ पुग्ने वित्तिकै हातको औंलाले एकाएक माउस प्वाइन्टर त्यहि लिएर क्लिक गरे ।
रहरले भनौ या बाध्यताले कम्प्युटरलाई छोड्न नसक्ने भईसकेकी मलाई फेसबुक त झन् नयाँ संसार लाग्न थालेको छ । जहाँ दैनिक नयाँनयाँ अनुहारसँग भेट हुन्छ । साँझ विहान ल्यापटप, दिनभर कम्प्युटरमा अफिसको काम, फुर्सदमा फेसबुक र ट्वीटर यसरी नै चल्छ मेरो दैनिकी ।
प्रोफाईल हेरेर मात्र एक्सेप्ट गर्ने बानी परेकी म सिधै उनको प्रोफाइलमा गएँ । सेतो सर्ट माथी निलो कोट सहितको प्रोफाईल पिक्चर मुनी लेखिएको थियो ।
सुमन अर्याल । कम्प्युटर अपरेटर एट गोभरमेन्ट अफ नेपाल । लिभ्स इन काठमाण्डु । फर्म विराटनगर ।
सुन्दर मुहार त्यसमाथी सरकारी जागिरे रैछ तुरुन्तै कन्फर्म गरिहाँले ।
तत्काल म्यासेज आयो, ‘साथी स्वीकार्नु भएकोमा धन्यवाद् । सधैंै असल साथित्वको अपेक्षा ।’
वेलकम मात्र लेखेँ । उसले अपेक्षा गरेको असल साथित्व को अर्थ के ? यस अघि कसैले पनि धन्यवाद भन्दा बढी भनेका थिएनन्, उ शुरुमै विशेष लाग्यो ।
००००
उमेरले पच्चीस काटिसकेकी मलाई फेसबुकमा पोष्ट हुने नवदम्पती र म्यारिज एनिभर्सरीका फोटोहरुले मनमा विहेको रहर अलि बढि नै जगाउँछ । स्कुलका साथीहरुले बच्चा खेलाउँदै गरेको फोटोहरु पोष्ट गर्दा बच्चालाई अंगालो मारेर चुम्ने रहर वर्षा यामको खहरे जस्तै उर्लेर आउँछ ।
घरमा विहेको कुरा नचलेको पनि होईन तर कति केटा मलाई मन परेनन् त कति म सँग विहे गर्न हिचकिचाए । जागिरे भईसकेकी म हतारमा विहे गर्नु पनि त उचित ठानेकि थिएन तर समयले विस्तारै नेटो काट्दै थियो । यस्तै सोच्दा सोच्दै दिक्क लागेर एकदिन फेसबुकमा स्टाटस लेखेँ ।
म लड्दा उठाउने, हातको खाँचो छ
सँधैसँधै सँगै वस्ने, साथको खाँचो छ

वन्डरफुल क्रिएशन ! ‘पोष्ट गर्ने वित्तिकै सुमन अर्यालले कमेन्ट ग¥यो ।
थ्याङ्क यु ! लेखेर कमेन्ट को रिप्लाई दिएँ ।
उसलाई त्यतिले पुगेनछ क्यारे म्यासेज गरिहाल्यो, साँच्ची हो ?
के साँच्ची हो ? झर्केर सोधेँ ।
सँधैसँधै सँगै वस्ने, साथको खाँचो भनेको के ? लेखर स्माईलीको इमो पठायो ।
हा..हा…हा । लेखेर टारिदिएँ ।
तपाई त गजल पनि लेख्नु हुँदो रैछ मलाई गाउँने ठूलो शोख छ तपाईका गजल गाउन दिनुहुन्छ ? फेरी म्यासेज ग¥यो । मैले रिप्लाई गरिन, धेरै कुरा गर्ने मुड थिएन र रिप्लाई दिन जरुर पनि ठानीन् । त्यसपछि पनि मेरा फोटो र पोष्टहरुमा पहिलो कमेन्ट उसकै हुन्थ्यो । शुरुमै असल साथित्वको अपेक्षा गरेको उसले आखिर म बाट के चाहन्छ मैले बुझ्न सकिन ।
००००
मास्टर्सको रिजल्ट आयो, फस्र्ट डिभिजनमा पास भएछु । फेसबुकमा ‘आइ ह्याभ पास्ड विथ फस्र्ट डिभिजन’ लेखेर फोटो सहित पोष्ट गरेँ । सबैको खुशी व्यक्त गर्ने पहिलो ठाउँ जो बनेको छ फोसबुक मैले पनि त्यसैँ गरे ।
पछि फेसबुक खोल्दा धेरैले कमेन्ट गरेछन् । शुरुदेखि हेर्दै गएँ सबैले बधाई लेखेका थिए धन्यवाद लेख्दै रिप्लाई दिँदै गएँ । सँधै पहिलो कमेन्ट गर्ने सुमनको कमेन्टमा गएर मेरो आँखा टक्क अडिए लेखिएको थियो, ‘सफलताको लागि बधाई, प्रगति र खुशीका लागि शुभकामना ।’ उसका अर्थपूर्ण शब्दहरुले मलाई फेरी सोच्न बाध्य बनाए, ‘म सफल त भएँ तर के म खुशी भएँ ?’ उसका ओजिला शब्दहरु पहिलेदेखि नै मन पर्थे अझ भनौ पछिपछि त उ नै मन पर्न थालेको थियो ।
मैले शेयर गरेको गित मन परेन ? बेलुका म्यासेज ग¥यो । मैले हेरेकै थिएन तुरुन्तै उसको टाइमलाईन हेरेँ । ‘किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ’ भन्ने गीत शेयर गरेछ । उसले भन्न त भनेन् तर मैले बुझिहाले त्यो स्टाटस मैरै लागि थियो, उसले त्यहि बुझाउन चाहान्थ्यो ।
त्यसका शब्दहरु राम्रा छन् तपाई गाउने शोख भएकाहरुलाई ।
शब्दहरु त तपाईका पनि राम्रा हुन्छन्, मलाई गाउँगाउँ लाग्छ । उसले अलि बढि नै प्रशंसा ग¥यो ।
धन्यवाद !
‘आई लाईक योर स्टाटस’ उसले कुरा लम्व्याउन खोज्यो ।
स्टाटस मात्रै ? म पनि जिस्केर सोधेँ ।
मान्छे पनि ।
उसले फ्याट्ट भनिहाल्यो । मलाई थाहा थियो, उसलाई मेरा सबै कुरा मन पर्थे उसो त मलाई पनि उसका धेरै कुरा मन पर्न थालेका थिए ।
००००
बेलाबेला उ मलाई माया गर्छु भन्थ्यो । म हा….हा…हा….लेखेर टारिदिन्थे । धेरथोर त मैले पनि नगरेको होईन तर भनिन् । मोबाईल नम्बर माग्थ्यो, मैले छैन भन्थे । बारम्बार माया गर्छु र भेटौं भनेर मरिहत्ते गरेपछि उसले गर्ने मायामा स्पष्ट हुन मन लाग्यो अनि सोधिहाले, ‘माया के हो ?’
दुई मनहरुको एउटै लक्ष्यमा सामेल हुनु, एकले अर्कोलाई बुझ्नु र स्विकार्नु माया हो ।
मन मिलेर मात्रै माया हुन्छ ?
माया बिना स्वार्थ मनले हुन्छ, मानसिक रुपमा तयार भईन्छ भने त्यहाँ शारीरिक रुपले कुनै अर्थ राख्दैन । घुमाउरो पाराले भन्यो । घुमाएरै भनेपनि उसको बिचार मैले सहजै बुझेँ । साँच्चीकै मलाई उ झनै मन प¥यो ।
म के रिप्लाई दिने अक्क न वक्क भएँ ।
भेटौ न ! उसले घरिघरि भन्थ्यो । मैले किन हतार भनेर टारिदिन्थे । उसको म प्रतिको लगाव र अभिव्यक्त प्रेमले मलाई पनि भेट्न मन लागेकै थियो तर भेट्नु अघि उसलाई आफ्नो बारे प्रष्ट पार्न चाहन्थे । म्यासेज गरेँ, ‘भेट हुनुभन्दा पहिले हामी सबै कुरामा प्रष्ट हुनुपर्छ सबै कुरा न तपाईले सोध्नु भो न मैले भने ।’
म मेरो कुरामा स्पष्ट छु जानीनजानी तपाईलाई प्रेम गर्छु र तपाईका हरेक कुरा स्विकार्न तयार छु । अरु कुरा त भेटमै गरौंला त्यसैले म तपाईसँग भेट्न चाहन्छु । उसले यति लेख्यो ।
उसको बारम्बारको अनुरोध बेवास्ता गर्न मेरो मनले मानेन । शनिबार यु.एन.पार्कमा भेटौं न भनिदिएँ ।
००००
११ वजे म पुग्दा उ मलाई कुरिरहेको थियो । कालो जिन्स पाईन्ट माथि सेतो टिसर्ट लगाएको उ मलाई चिनेर टाढैबाट मुस्कुराउँदा फोटोमा भन्दा पनि सुन्दर लाग्यो ।
नजिक आएर मेरो लागि ल्याएको उपहार मेरो हातमा थमाउँदै गर्दा मेरा सबै खुशीहरु उसैमा पाएँ र उसको मुस्कानमा मुस्कान थपिदिएँ । उपहार ग्रहण गर्दा जोडले धन्यवाद भन्न मन थियो तर सकिन । मनमनै धन्यवाद भनेँ ।
मैले बेन्चमा वस्ने ईशारा गरेपछि वेन्चमा वसेको उसले ‘सिना, तपाईको नामै कति राम्रो मान्छे त झन् कतिकति’ आँखा जुधाएर भन्यो । मलाई पनि त्यसै भन्न मन थियो तर कसरी भनु ? म बोल्न सक्दिन सुन्न मात्र सक्छु भनी हातले ईशारा गरेपछि भने उ मलिन भएर मुन्टो निहुरायो । त्यसपछि केही नबोलेको उ म जान्छु सम्म पनि नभनेर हिँड्यो । बोल्न नसक्ने भएपनि सुन्न त सक्थे कम्तीमा म जान्छु भनेको भएपनि मन शान्त हुन्थ्यो होला । वेचैन भएर कोठा फर्किएँ ।
यो मन कसैलाई सुम्पिएकोे पहिला चोटी हो । त्यहि मन पनि टुक्रिएर दिनभर मनभित्र आगोको ज्वाला दनदनी बलिरह्यो । साँझ फेसबुक खोल्दा म्यासेज वक्समा रातो बल्यो उसकै म्यासेज रहेछ ‘सरी’ मात्र लेखेको उसले मलाई फेसबुकमा ब्लक गरेछ । उसले भनेको कुरा बारबार दिमागमा घुमिरह्यो, “माया मनले नै हुने हो मानसिक रुपमा तयार भईन्छ भने त्यहाँ शारीरिक रुपले कुनै अर्थ राख्दैन ।”
बोल्न नसक्ने मलाई चिच्याएर सोध्न मन थियो – के शरीरिक रुपले मायामा कुनै अर्थ राख्दैन ? त्यो कस्तो प्रेम हो तिमीले गरेको ? प्रेममा स्वार्थ हुँदैन भन्ने तिम्रो आफ्नो स्वार्थ चाँही के थियो ? आरक्षण नसोच्नु खुलाबाट अफिसर पास गरेकी मलाई कसरी अक्षम देख्यौ ? तिमीलाई हिरोईन भन्दा सुन्दर लाग्ने म एकाएक कसरी कुरुप भएँ ? म स्वीकार्छु हरेक सम्बन्धहरुमा स्वार्थ हुन्छ तर तिम्रो त प्रेममा पनि स्वार्थ देखेँ । स्वार्थ सहितको तिम्रो त्यो प्रेम हैन, तिमी सच्चा प्रेम गर्न जान्दैनौ । तर ब्लक गरिसकेकोले म्यासेज सम्म पनि गर्न पाएन ।
नर्स बन्ने सपनाको कुटिरो बोकेरे एप्रोनलाई साथी बनाउने उत्कृष्ट चाहनाले काठमाण्डौका लागि गाडी चढेकी म दुर्घटनामा परि बोल्न नसक्ने भएको थाहा पाउँदा पनि यति धेरै मन दुखेको थिएन । दुर्घटना पछि नर्स बन्ने सपनाले अर्को मोड लियो बीए पढेँ र सरकारी जागिरे भएँ, जीन्दगीका यी सबै दिनहरुलाई एकएक सम्झिँदा आज जति दुखी कहिल्यै भएन सायद ।
आँशुहरु तप्पतप्प खसिरहे !

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |