कोरिया भाषा परीक्षा आवेदक ४१ हजार



काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत भाषा परीक्षाका लागि दोस्रो दिनसम्ममा ४१ हजार ९३ ले आवेदन फर्म भरेका छन् । रोजगारीका लागि कोरिया जान अनिवार्य पास गर्नुपर्ने यो परीक्षाका लागि विभिन्न १० केन्द्रमा हजारौं युवाको भीड दोस्रो दिन पनि उस्तैछ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाले वैशाख १५ देखि १८ गतेसम्म कोरियन भाषा आवेदन फर्म बुझाउन आह्वान गरेपछि दोस्रो दिन बिहीबार पनि फर्म भर्नेको भीड उस्तै लागेको हो । आवेदन खुला गरिएको दास्रो दिन देशभरका १० संकलन केन्द्रमा ४१ हजार ९४ आवेदन परेको ईपीएस कोरिया शाखाका शाखा अधिकृत शोभाकर भण्डारीले जनाएका छन् ।

परीक्षा आवेदन फर्म संकलनका लागि काठमाडौं उपत्यकामा तोकिएका ५ क्षेत्रबाट दोस्रो दिनसम्म २२ हजार ८५० र उपत्यका बाहिरका ५ संकलन केन्द्रबाट १८ हजार २४३ जनाले फर्म भरेको जानकारी उनले दिए । शाखाले पहिलो दिन अत्यधिक भीड हुने भएकाले तेस्रो र चौथो दिन आवेदन फर्म भर्न अनुरोध गरे पनि बुधबार र बिहीबार पनि आवेदक आवेदन संकलन केन्द्रमा लाइन उस्तै थियो । पहिलो जस्तै दोस्रो दिन पनि फर्म भर्नेको अत्यधिक भीडका कारण काठमाडौंको सवारी आवागमनसमेत प्रभावित भएको थियो । काठमाडौं उपत्यकामा च्यासल फुटबल खेल मैदान, बालकुमारी, काठमाडौं भ्याली उच्च माध्यमिक विद्यालय महाराजगन्ज, ल्याबरोटरी उच्च माध्यमिक विद्यालय कीर्तिपुर (बल्खु), महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो र नेपाल वेद विद्याश्रम संस्कृत मावि वनकालीबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी उपत्यकाबाहिर धरान नगरपालिका–८ स्थित धरान सभागृह, बुटवल प्रदर्शनीमण्डप बुटवल, पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी उच्च मावि र डडेलधुरा अमरगढी नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयको कर्मचारी मिलन केन्द्रबाट परीक्षा आवेदन फर्म दर्ता गर्न सकिन्छ । ईपीएस कोरिया शाखाका अनुसार भाषा परीक्षा असार ४ र ५ गते हुनेछ । परीक्षा शुल्क २४ अमेरिकी डलर लाग्नेछ ।रासस

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |