ओडारमा बसेकीलाई नयाँ जीवन दिन पाउँदा



राजेन्द्र कार्की |म घरमै बसिरहेको थिएँ । पुस १ गते बिहानै मेरो मोबाइलमा घन्टी बज्यो ।

मैंले हेल्लो पनि भन्न नपाउँदै उताबाट एक अपरचिति महिलाको आवाज आयो ‘पत्रकार राजेन्द्र जी हो ?’

फोन गर्ने काठमाडौंकी अञ्जना शाह हुनुहुँदो रहेछ । मैंले उज्यालो अनलाइनमा लेखेको एउटी महिला ओडारमा बसिरहेको सम्बन्धी खबर उहाँले पढ्नु भएको रहेछ र ती महिलालाई सहयोग गर्ने सोच राखेर मलाई सम्पर्क गर्नुभएको रहेछ ।

उहाँको फोन आउनु चार–पाँच दिनअघि मैंले सुत्केरी हुँदा पाठेघरमा समस्या परेर मानसिक सन्तुलन गुमाएकी र अहिले बेसहारा भएर ओडारमा बसिरहेकी लहँ गाविसकी कालिका खड्काको बारेमा समाचार लेखेको थिएँ । त्यो समाचार पढेपछि उहाँमा ती महिलालाई सहयोग गर्ने इच्छा जागेर मलाई फोन गर्नुभएको रहेछ । उहाँले फोन गरेको दिनसम्म मैंले लेखेको समाचार झण्डै ६० हजार जनाले पढ्नु भएको थियो । ६० हजार जनामा सहयोगको इच्छा देखाउने उहाँ पहिलो हुनुभयो ।

‘एक जना महिलाको दर्दनाक पीडामा मल्हम लगाउने विचार गरेर उपचारमा सहयोग गर्ने विचार गरेकी छु’ अञ्जनाले फोनमै मलाई आग्रह गर्नुभयो ‘ती महिलालाई तपाईंले सकेसम्म छिटो काठमाडौं पठाईदिनु पर्‍यो ।’

उहाँले फोनमा गरेको आग्रह अनुसार मैंले भेरीमालिका ३ थाप्लेमा होटल गर्दै आएका लहँकै वीरबहादुर खड्कामार्फत खवर गरें । वीरबहादुरले तत्कालै लहँमा यो खबर पठाउनुभयो । तर महिलाले उपचार गन नमानेको खबर आयो गाउँबाट । घरपरिवारकोसमेत बहिस्कारमा परेकी कालिकालाई कसरी उपचारका लागि तयार पार्ने भन्ने बडो समस्या भयो ।

त्यसपछि जाजरकोटका तत्कालीन सहायक प्रजिअ शिवराज सेढाई र डिएसपी दानबहादुर मल्लमार्फत इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी साथीहरुको सहयोगमा कालिकाका भतिजले कालिकालाई पुस १० गते सदरमुकामस्थित वीरबहादुर खड्काको होटलसम्म ल्याइदिनुभयो ।

भोलीपल्ट आफ्नो महत्वपुर्ण कामसमेत छोडेर कालिकालाई साथमा लिएर काठमाडौं जान तयार हुनुभयो वीरबहादुर खड्का जी । उहाँ नेत्र विक्रम चन्द निकट माओवादीका जिल्ला स्तरीय नेता पनि हुनुहुन्छ ।

मलाई फोन गर्ने अञ्जना शाहले कालिकालाई सहयोग गर्ने कुरा आफ्नो फेसबुक स्टाटसमा पनि राख्नुभएको थियो र सहयोगका लागि अपिल पनि गर्नुभएको थियो ।

उहाँका साथीहरुले पनि उपचारमा सहयोग गर्ने भएपछि कालिका उपचारका लागि हिँड्ने बेलासम्म उपचारमा सहयोग गर्न चाहने धेरै सहयोगी हातहरु जुटिसकेका थिए । लण्डनबाट कृष्णप्रसाद शर्मा, नर्बेबाट ज्ञानेश राई, भियनाबाट प्रदिप भण्डारी, धरानबाट डा.मोहन रेग्मी र डा. रमेशले उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाएपछि कालिकाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुने भयो ।

अञ्जना जीले काठमाडौं बोलाएकी कालिका जाजरकोटबाट सिधै धरान जानु हुने भयो र उहाँलाई धरानसम्म जान भनेर १० हजार रुपैयाँ पैसा पनि पठाई दिनुभयो । जाजरकोटको महिला तथा बालबालिका कार्यालयले ५ हजार रुपैयाँ सहयोग गर्‍यो ।

पुस ११ गते जाजरकोटबाट हिड्ने तयारी गर्दागदै गाडी छुटिहालेछ । त्यसपछि डिएसपी दानबहादुर मल्ललाई सहयोग गरिदिन आग्रह गरे र उहाँले पनि तत्काल जिल्ला प्रहरी कार्यालयको गाडी उपलब्ध गराएर कालिकालाई सुर्खेतको राकमसम्म लगिदिन पहल गर्नुभयो ।

कालिकालाई लिएर धरान गएका वीरबहादुरले पुस १३ गते धरान पुगेको र कालिकाको उपचार सुरु पनि भएको जानकारी दिँदा मलाई खुसी लाग्यो । झण्डै १५ वर्षको पत्रकारितामा मैंले लेखेका समाचार मध्ये सबैभन्दा धेरै आत्मसन्तुष्टि मिलेको समाचार यहि कालिका खड्काको बारेमा लेखिएको समाचार बन्यो ।

o o o o o

समाचार संकलनको क्रममा पत्रकार दीपबहादुर घर्ती र म सदरमुकाम खलंगाबाट एक दिनभर पैदल हिँडेर मंसिर २४ गते पूर्वी जाजरकोटको लहँ ३ खारामा पुगेका थियौं ।

हामी त्यहाँ पुग्दा कालिका खड्का ओडारमा आगो तापेर बसिरहनु भएको थियो । झिंगाले उहाँको पुरै शरीर ढाकेको थियो । पिशाव चुहिरहने समस्याका कारण उहाँले लगाएको कपडा एकदमै फोहर थियो, टाढैसम्म पनि पिशाव गन्हाएको थियो ।

मानसिक सन्तुलन समेत गुमाएका कारण उहाँको वास्तविक पीडा बुझ्ने प्रयास कसैले पनि गरेनन् ५ बर्षसम्म । हामीले कुरा गर्न खोज्दा कालिका वेसुरमा बर्बराउनुभयो । अरु गाँउलेबाट उहाँको वास्तविक कथा हामीले पायौं ।

२०५२ सालमा गाउँकै मक्करबहादुर खड्कासँग कालिकाको विवाह भयो । २०५५ सालमा गर्भवति भएपछि बच्चा जन्माउन नसक्दा गाउँकैसुडेनीहरुले हात हालेर बच्चा झिक्न खोज्दा बच्चा पनि जीवित रहेन र कालिकाको मुत्रथैलीमा पनि गम्भीर असर पर्यो । त्यसपछि उहाँलाई लगातार पिसाव चुहिने समस्याले सताउन थाल्यो । जसका कारण पति र घरपरिवारले छि छि दुरदुर गर्न थालेपछि उहाँमा मानसिक समस्या पनि देखिन थाल्यो ।

विरामी अवस्थाकी कालिकालाईउपचार गर्नुको साटो उहाँका पति मक्करबहादुर खड्काले अर्को विवाह गर्नुभयो । कालिका माइत जानुभयो । माइतमा पनि उस्तै व्यवहार खेपेपछि उहाँ बाध्य भएर गाउँ नजिकै जंगलको वीचमा रहेको ओडारमा बस्न थाल्नुभयो । माइती र गाउँलेले दिए खाने नत्र जंगलका गिठा भ्याकुर खोजेर छाक टार्न थाल्नु भयो उहाँले ।

o o o o o

उपचारका लागि जाजरकोट छाडेको ५ महिनापछि कालिका जाजरकोटमा देखा पर्नुभयो । उपचारका लागि पुसमा धरान लगिदिने उहाँका काका वीरवहादुर खड्काले नै उहाँलाई लिएर आउनुभएको थियो । आफ्नो रुपरंग फेरेर ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उहाँको पिशाव चुहिने समस्या र मानसिक समस्याको निशुल्क उपचार भयो । र उपचार पछि उहाँ निको हुनुभयो । लहँ जाने क्रममा जाजरकोटको सदरमुकाममा भेटिएकी उहाँले आफूले नयाँ जीवन पाएको बताउनुभयो र उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँ काममा सहयोग गर्ने र माइतमै दाजुभाइसँग मिलेर बस्ने योजना सुनाउँदै उहाँ लहँतर्फ अघि बढ्नुभयो ।

अहिले निको भए पनि कालिकाको आगामी यात्रा भने त्यति सहज छैन । उहाँको बाँकी जीवन चुनौतिपुर्ण छ । उहाँसँग न त हातमा सीप छ न त सहारा नै । उहाँका पतिले छोडिसकेका छन् । तर कानुनी रुपमा छोडपत्र भएको छैन । हाम्रो कस्तो समाज है । विरामी भएकी स्वास्नीलाई उपचार गर्नु भन्दा अर्की ल्यायो टन्टै खतम । उपचारमा लाखौं खर्च गर्नुभन्दा एक पैसा पनि खर्च नगरेर अर्की स्वास्नी पाई हाल्ने । समाजले पनि सहजै स्वीकार गरिदिने कस्तो विडम्वना ।

उपचारपछि निको भएकी कालिकाले श्रीमानबाट अंशवण्डा र पालपोषणको हक पाउनुहोला ? माइतीले पनि आश्रय दिएनन् भने कालिकाले के गर्नुहोाल ? यही प्रश्न मेरो मनमा खेलिरहेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |