गौरादहमा अत्याधुनिक पोखरी निर्माणहुदै

गौरीगंज । गौरादह नगरपालिका-२ मा १२ विघा १० कठ्ठा क्षेत्रफलमा फैलिएका सानाठूला ६ वटा पोखरी छन् । यी पोखरीको संरक्षण र व्यवस्थापन गरी पर्यटकीय क्षेत्र निर्माण गर्न एक वर्षअघि गुरुयोजना सहित परियोजना निर्माणका लागि ३ करोड रुपैयाँको प्रस्ताव तयार पारिएको छ । उक्त प्रस्ताव राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालयमा पेश गरेको र पच्चीस लाख रुपैयाँ बजेट स्वीकृत भएको पोखरी व्यवस्थापन समितिका अध्यक्ष यादव सेढाईले बताए ।

परियोजनामा ती पोखरीहरुमा पानीको स्थायी व्यवस्था गर्ने, पार्क निर्माण गर्ने, पोखरी ठूला बनाइने र स्विमिङ पुल बनाउने, इलेक्ट्रोनिक र काठका डुंगा सञ्चालन गरेर पर्यटक आकर्षित गर्ने उल्लेख छ ।

त्यस्तै जलेश्वर शिवालय मन्दिर बनाउने, झापामा रहेका सम्पूर्ण जातजातिको पहिचान झल्किने सांस्कृतिक भेषभूषा सहितको संग्रहालय निर्माण गर्ने, ११ वटा हरित कटेज र १५ वटा आरामदायी फलैचा पोखरीको डिलमा निर्माण गर्ने पनि परियोजना प्रस्तावमा छ। हाल पोखरीका डिल वरपरको क्षेत्रमा सुकुम्बासी बस्ती छ ।

अहिलेकाे पाेखरी

पोखरी वरपर फोहोरमैला फालिएको छ । राँगा, भैसी, खसी, कुखुरा काट्ने ठाउँको रुपमा पनि यी पोखरी वरपरको क्षेत्र प्रयोग भएको छ । प्रस्तावमा पोखरीलाई पर्यटकीय रुपमा विकास गर्न सक्दा गौरादह नगरपालिकाले वार्षिक ४० लाखसम्म आम्दानी थप गर्न सक्ने सम्भावना देखाइएको छ । बहुउद्देश्यीय यो परियोजना निर्माण गर्न सकेमा आम्दानीको स्थायी श्रोत गौरादह नगरपालिकामा थप हुने स्थानीय राजनीतिकर्मी पूर्णबहादुर कार्कीले बताए ।

अत्याधुनिक पोखरी निर्माणका लागि नगरपालिकाले १० करोड बजेट विनियोजन गरी गुरुयोजना तयार गर्ने काम भई रहेको नगरपालिकाका कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार १० वर्षसम्ममा यो पोखरी निर्माण भइसक्नेछ । अहिलेसम्म पोखरी निर्माणका लागि त्यस आसपासमा अतिक्रमण गरी बसेका करिब ५० घर तथा मासु पसलहरु हटाइएको उनले बताए । अहिले स्थानीयवासिन्दासँग गुरु योजनाका बारेमा छलफल र सम्भाव्यता अध्ययन भइसकेको छ ।

साभार : खबरमंच

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |